ताजा अपडेट »

सैनामैनाकी सरुको अर्घाखाँचीमा हत्या : पहिलोले धोका दिए, दोस्रोले ज्यानै लिए

आइतबार, १२ असार २०७९, १४ : २८
2 Shares

गुल्मी । केहिदिन अघि अर्घाखाँचीमा श्रीमानद्वारा हत्या गरिएकी २३ वर्षीया सरु भट्टराईको दाम्पत्य जीवन यात्राको पहिलो पाइलामै ठेस लागेको थियो । अर्थात् रुपन्देहीको सैनामैना नगरपालिका–१ को नमूना बस्तीमा रहेको सोझो र सामान्य परिवारमा जन्मिएकी सरु भट्टराईको विवाह अर्घाखाँचीमा हुनु अघि बुटवलतिर भइसकेको थियो ।

माइतीजनकाअनुसार पहिलो विवाह गरेका श्रीमानले अन्य केटीहरु लिएर हिड्ने गरेर पीडित बनाएपछि कलिलै उमेरमा दाम्पत्य जजीवनबाट वितृष्णा भएर आफ्नै खुट्टामा उभिएर बाँच्ने अठोट गरेकी सरु सम्बन्ध विच्छेद गरी माइतीमा बसिरहेकी थिइन्। त्यही क्रममा अर्घाखाँचीको मालारानी गाउँपालिका–२ डाँडाकटेरीका कमल भुसाल रुपन्देही सैनामैनातिर आफ्ना काका लगायतका आफन्तजनको माध्यमबाट केटी माग्न भन्दै साढे दुई बर्ष अघि पुगेका थिए ।

त्यहाँको विभिन्न घर परिवारमा केटी माग्दा माग्दै हण्डर खाएका उनलाई सैनामैनामै बस्ने उनका काका नाता पर्नेले सरुको परिवार समक्ष पुराएका थिए । सरुको परिवारले कमललाई राम्ररी चिनेको थिएन तर, उनका काकाले गाउँको उदाहरणीय युवा भन्दै विवाहका लागि प्रस्ताव राखेका थिए । सरुका काका धु्रवप्रसाद भट्टराई भन्छन्–‘मेरो आमाको त अहिले स्वर्गरोहण भइसक्यो । उहाँले त्यति बेला भन्दै हुनुहुन्थ्यो, एक चोटी घर बिग्रेकी छोरीलाई राम्ररी नबुझी दिन हुन्न । उहाँले सबै कुरा त्यो केटा र उनको आफन्तलाई बताउनु भएको थियो ।’

हामीले पनि सरुको विवाह यस अघि भई सकेको कुरा केटालाई बताएका थियौं । उनले भन्दै थिए– ‘मैले त्यो कुरा स्वीकार गर्छु, उनलाई मन पराउँछु र विवाह गरेर लैजान्छु तर, मेरा आमा लगायत घर छिमेकीहरुलाई यो कुरा नबताई दिनु होला ।’ उक्त दिन दिउँसो मालारानी गाउँपालिका–२ डाँडाकटेरीस्थित जंगलमा श्रीमती सरु भ्ट्टराई खनालको निर्मम हत्या गरेका २७ वर्षिय कमल भुसालले प्रहरीसंग दिएको बयान पछि हामीले जिज्ञासा राख्दा माइततीजनले सरुको पहिलो विवाह बुटवलतर्फ भएको बताएका हुन् ।

कुन नियतका साथ उनले छोरी सरुसंग विवाह गरेरु भन्ने बारे माइतीजनले क्रमशः अनुभुत गर्दै आएका थिए। विवाहपश्चात कमलले पटक–पटक माइतीसँग पैसाकै दबाब दिँदै आएको बताइएको छ । काका भट्टराई भन्छन् ‘अघि पछिको कुरै छोडौं, यहाँ सम्मकी छोरी सरुलाई सुत्केरी ब्याथा लागेर मेडिकल कलेज भैरहवामा भर्ना गरियो। सरुले छोरा जन्माइन् । डिस्चार्ज हुने बेलामा श्रीमान कमलले आफूसँग बिल तिर्ने पैसा छैन भनेपछि हामीले बुझाएका हौं ।’

श्रीमती सरुलाई घाँस दाउरा गर्ने वाबहानामा फकाई–फकाई जंगलमा लगेर निर्मम हत्या गरि प्रहरी समक्ष आत्मासमर्पण गर्न पुगेका भुसालले प्रहरी समक्षको बयानमा भने माइतीजनलाई आक्षेप लगाउने र उनिहरुको पवित्र आत्मामा ठेस पुराउने बयान दिएकोप्रति माइतीजनले आक्रोश ब्यक्त गरेका छन् । अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी अम्मरबहादु थापा क्षेत्रीले माइती पक्षले हत्या अभियोगीले पटक–पटक पैसाकै दबाब दिइरहने गरेको बताउँदै आएपनि निजले अर्कै बयान दिएको बताए ।

डिएसपी थापाका अनुसार हत्या अभियोगी कमलले यस्तो बयान दिएका छन् –‘केटी माग्ने मान्छेहरुले मलाई झुक्काएर उसंग विवाह गराइएका रहेछन् । उसको यसअघि अर्कै तिर विवाह भएको थाह पाएपछि मलाई मन परेन। छोडपत्र गर्न खोजेको थिएँ । त्यो हुन नसकेपछि मलाई फँसाएर विवाह गरेको रिसइवी मेरो मनमा विस्फोट भयो र हत्या गरेको हुँ ।’

छिमेकी पनि भन्छन्, कारण पैसाकै

खनदहस्थित मृतकका छिमेकी बुद्धिबहादुर खत्रीका हत्या अभियोगी कमलले श्रीमती बैंक खातामा दुई लाख रुपैयाँ छ भन्ने भ्रम पाल्दै त्यही पैसा माग्नका लागि पटक–पटक श्रीमतीलाई दबाब दिँदै झगडा गर्ने गरेको सुनिएको छिमेकी बताउँछन् । स्थानीयकाअनुसार घरको आर्थिक अवस्था कमजोर रहेको तर, उनी आफू पहिला भारततिरको नोकरी गर्न गएपनि विवाह गरेदेखि कतै नगएकोले आर्थिक अभाव र लफङ्गो प्रवृत्तिले श्रीमती सरु पीडित हुँदै आएकी थिइन्।

घटनाको अघिल्लो दिन कमलले श्रीमतीलाई हँसियाले टाउकोमा क्वाँकेका थिए । तर, हत्या गर्नको दिन विहान उनले श्रीमतीलाई निकै खुशी र हंशमुख राख्ने प्रयास गरेका थिए । वबहान चिया पिउने बेलामा उनीहरु हाँसी खुशी थिए । दिउँसोसंगै खान खाएका थिए । दिउँसो करिब २ बजेको समयमा उनले जंगलतिर घाँस–दाउरा लिन जाउँ भनि लगेर गएका थिए ।

वर्षायामका कारण जंगलभित्रको केहि दृश्य देख्न सकिने अवस्था थिएन । हत्या गरिएको स्थान थप एकान्त र सुनसान थियो । शव रहेको स्थान भन्दामाथि मृतकको चप्पल फेला परेको छ’ भुइँमा झारहरु माडिएको देखिदा सरुले बाँच्नका लागि निकै बेर संघर्ष गरेको बुझ्न सकिन्छ’ –छिमेकी खत्रीले भने –श्रीमतीलाई फकाई–फकाई लगेर तड्पाई तड्पाई मारेको पाइयो ।’ उनकाअनुसार मृतकका दुई भाई मध्ये श्रीमती हत्या गर्ने कमल जेठा हुन् । घरमा ६० वर्ष उमेर पुग्नै लागेकी आमा र डेढ वर्षिय उनका छोरा छन् । उनका भाई गाडी लाइमा काम गर्ने हुँदा घरमा थिएनन् ।

‘पुस– माघ महिनातिर पनि छोरी घर छाडेर आएको बेला ज्वाँई पैसा माग्न आएका थिए’– सरुका काका भट्टराईले भने–‘मैले उनलाई निकै सम्झाएको थिएँ । सधै हामीले पैसा दिने, छोरीलाई हामीले नै पाल्न पर्छ भने तपाईलाई छोरी दिएको के मतलब भयो त भनेर भनेको पनि थिएँ । त्यत बेला भाउजुलाई ९उनकी सासु आमा० उनले अपशब्द बोलेका पनि थिए । त्यसको एक डेढ महिना पछि छोरीले घर चाहिन्छ म जान्छु भनेर हिंडेकी थिइन् । घटनाको तीन–चार दिन अघि उनले आमासंग फोन गरेर सञ्चो–बिसन्चो आदान–प्रदान गरेकी थिइन्। अस्ती त्यस्तो कुरा सुनेपशचा हामी अर्घाखाँचीस्थित प्रहरीकहाँ पुगेर फर्किएका छौं।उनले मृतक छोरीको खातामा दुई लाख रुपैयाँ हुनै नसक्ने बताए । माइतमा सुरुका पिता प्यारालाइसिसको बिमारले थला परेको भट्टराईले बताए?

काका धुर्वप्रसादले छोरीको ज्यान लिने कमलको परिवारबाट क्षतिपूर्तिसहित कडा भन्दाकडा कार्बाही हुनु पर्ने माग गरेका छन् । उनले क्षतिपूर्तिबापतको रकमबाट छोरीको स्मृतिम शालिक निर्माण गरिन पर्ने र उनका डेढ वर्षिय छोराको संरक्षणका लागि कोष स्थापना गरिनुपर्ने आफूहरुको माग रहेको बताउँदै स्थानीय समाजसेवीहरुले त्यसमा जोड गरि दिन आग्राह समेत गरेका छन् । बालकको संरक्षण र सुरक्षाप्रति स्थानीयले ख्याल राखीदिन समेत भट्टराई परिवारको आग्रह छ ।

स्थानीयकाअनुसार मृतकका भाई घरमा आएपनि मृृतक सरुको काज किरिया क्रम सुरु आइतबार बिहानसम्म सुरु भएको छैन । मृतकका डेढ वर्षिय छोरा आमा पुकार्दै अरु महिलाको मुहारमा हेर्दै रोइरहने गरेको स्थानीय बुद्धिबहादुर खत्री बताउँछन् । आमाको मृत्युपछि डेढ वर्षिय दुधे बालकको बिचल्ली देखेर स्थानीयवासी भावविह्ल बनेका छन्।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार