ताजा अपडेट »

बुटवलमा बढ्यो खानेपानी समस्या, नियमितभन्दा ५० लाख लिटर कम आपूर्ति

शुक्रबार, १० असार २०७९, १० : १९
12 Shares

बुटवल । बुटवल उपमहानगरमा खानेपानीको प्रयाप्त आपूर्ति नहुँदा उपभोक्ता आजित बनेका छन् । वर्षासँगै धारामा आउने धमिलो पानी समेत हप्तादिनदेखि नआउँदा यहाँका जनताले गुनासो गर्न थालेका छन् ।

पछिल्लो केही हप्तादेखि खानेपानी आपूर्तिमा एक्कासी गिरावट आएपछि बुटवल बासीको जनजीवननै प्रभावित भएको छ । बुटवल खानेपानी संस्थान अन्तरगतका सेवाग्राहीले प्रयाप्त पानी पाउन सकेका छैनन् । संस्थानले नियमित वितरण गर्नेभन्दा करिब ५० लाख लिटरले कमी आएको छ । ‘दैनिक करिब २ करोड ५० लाख लिटर पानी वितरण हुँदै आएकोमा अहिले दैनिक २ करोड लिटर मात्रै पानी उपलब्ध गराउन सकेका छौं ।’–ग्लोबल आवाजसँग कुरा गर्दै संस्थान प्रमुख मोहनदत्त भट्टले बताए । हाल संस्थानले ६० प्रतिशत पानी तिनाउ खोलाबाट पम्पले तानेर वितरण गर्छ । बारम्बारको विद्युत ट्रिपिङका कारण नियमित अनुसार पानी वितरण गर्न नसकिएको उनले बताए ।

दैनिक दर्जनौ पटक विद्युत आउने जाने, भोल्टेज काम आउने लगायतका कारणले मोटर पम्प सञ्चालन गर्न नपाउँदा नियमित अनुसार पानी वितरण गर्न नपाइएको प्रमुख भट्टले बताए । यस विषयमा नेपाल विद्युत प्राधिकरणसँग छलफ गरे पनि उनीहरुले समेत माग अनुसार आपूर्ति नहुँदा समस्या हुने कुरालाई स्वीकार गरेको बताए । डेडिकेटेड फिडरहरुमार्फत दैनिक २०÷२५ वटा मोटर लगाएर पानी तान्ने काम भएपनि विद्युत अवरुद्ध हुँदा पूरा समय चल्न गरेका छैनन् । विगत वर्षजस्तो वर्षायाम सुरु नभएका कारण वैकल्पिक मुहानहरुको समेत प्रयोग गर्न नपाइएको संस्थान प्रमुख भट्टले बताए ।

खानेपानी संस्थान बुटवलका अनुसार यहाँ दैनिक तीन करोड ३२ लाख लिटर पानीको माग छ । वितरण भने पुगनपुग दुई करोड ५० लाख लिटर मात्रै छ । यसरी दैनिक करिब ८२ लाख लिटर खानेपानी अपुग छ । अहिले १ हजार धारामा सो पानी आउँछ । हरेक वर्ष करिब एक हजारको हाराहारीमा नयाँ धारा जडानको निवेदन पर्छ । त्यसबाहेक १९ वटा बोरिङमार्फत पनि पानी वितरण गरिएको छ तर तिनाउ र चुरेको अनियन्त्रित दोहनले जमिनमुनि पानीको सतह घट्दै जाँदा बोरिङबाट पानी कम आउँछ । यसका कारण बुटवलमा पानीको अभाव बर्सेनि बढ्दो छ ।

कहिले सफल होला झुम्सा खानेपानी आयोजना ?

बुटवलको खानेपानी समस्या समाधान गर्ने उद्देश्यले २६ वर्षअघि सिस्ने खानेपानी आयोजना सुरु भएको थियो । पाल्पाको झुम्सास्थित सिस्ने खोलाबाट दैनिक सात लाख लिटर पानी बुटवल ल्याउने योजनासहित २०५२/५३ मा आयोजना सुरु भएको थियो । सिस्नेको पानीले बुटवलको माग धान्न नसक्ने ठहर गर्दै एक दशकपछि मुहान फेरियो । सिस्नेको सट्टा हालको तिनाउ गाउँपालिका–३ र ४ मा पर्ने झुम्सा खोलाको फिरफिरे घाटबाट दैनिक तीन करोड २० लाख लिटर पानी बुटवल ल्याउने योजनासहित २०६४/६५ मा झुम्सा खानेपानी आयोजनामा परिवर्तन गरियो ।

त्यसयता आयोजनाको काम ४.१६ प्रतिशत मात्रै सकिएको छ । यसमा प्राविधिक कमजोरीका साथै प्राकृतिक प्रकोप पनि कारक रह्यो । मुहानमा बनाइएको बाँध छ वर्षअघि बाढीले बगाइदियो । बाँध निर्माणको डिजाइन र प्राविधिक पक्ष कमजोर हुँदा घोरबन्दीघाट नजिकैको बाँध छ वर्षअघि बाढीले भत्काइदिएको हो । करिब १५ करोड रुपियाँभन्दा बढीको संरचना त्यसै खेर गएको आयोजनामा काम गरेका अधिकारीहरू बताउँछन् । बाँध निर्माणमा लापरबाहीसँगै पाइप खरिदमा समेत २५ करोड रुपियाँ भ्रष्टाचार भएको भन्दै २०७५ वैशाखमा अख्तियारमा उजुरीसमेत परेको थियो । २० इन्च र १० इन्चका पाइप शिवनगर जङ्गलमा अलपत्र छन् ।

पछिल्लो पटक २०७७ जेठमा बाँध निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । आयोजनाका उपप्रमुख मन्दिप श्रेष्ठले ११ करोड रुपियाँको लागतमा बाँध निर्माण भएको बताए । बाँधदेखि बुटवलको रामफेदीसम्म पाइपलाइनका लागि २०७७ जेठ १ गते अर्को ठेक्का लागेको थियो । १४ करोडमा लागेको ठेक्काको करिब ६० प्रतिशत मात्रै काम भएको छ । जसअन्तर्गत ६ किलोमटिर पाइप बिच्छ्याइको छ । बाँकी पाँच किलोमिटर पाइपलाइनको काम रोकिएको छ । झुम्सा–दोभान खण्डमा मुख्य सडक पर्ने भएकाले सडकले पाइप बिच्छ्याउन अनुमति नपाउँदा काम रोकिएको आयोजना प्रमुख मोहनदत्त भट्टले बताए ।

उनका अनुसार बिच्छ्याइएका पाइप २० र १० इन्चका छन् । पाइप वारपार गर्नुपर्ने स्थानमा बनाउनु पर्ने तीन वटा ‘ट्रस ब्रिज’मध्ये अहिलेसम्म एउटाको मात्रै काम सुरु भएको छ । झुम्साको पानी बुटवलको रामफेदीमा ल्याएर ओभरहेड ट्याङ्कीमा खन्याइने छ। तिनाउवारिको बुटवलमा ३ वटा तिनाउपारिको बुटवलमा ३ वटा गरेर ६ वटा ओभरहेड ट्याङ्की बनाइने छ । बुटवलमा जग्गा पाउन नसकेकाले प्रशोधन केन्द्र झुम्सा क्षेत्रमै निर्माण गरिने आयोजनाले जनाएको छ ।

ओभरहेड ट्याङ्की, शुद्धिकरण प्लान्ट, पानी वितरण प्लान्ट, रिर्जबवायर, पानी वितरण पाइपलाइन जस्ता कामका लागि जग्गा सुनिश्चित गरेपछि बल्ल ठेक्का लगाइने छ । यी सबै काम निर्वाध रुपमा अगाडि बढे पनि आयोजना सम्पन्न हुन कम्तीमा ५/६ वर्ष लाग्ने आयोजनामा काम गरेका अधिकारीहरु बताउँछन् । यसरी यसपाली पनि तोकिएको समयमा आयोजना सम्पन्न नहुने पक्का भएपछि अहिले ठेक्काको म्याद थपको तयारी भइरहेको छ । आयोजना सम्पन्न गर्न कुल छ अर्ब ३५ करोड रुपियाँ बजेट लाग्ने भनिए पनि हालसम्म २५/२६ करोडको काम भएको आयोजनाका उपप्रमुख श्रेष्ठले बताए ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।