ताजा अपडेट »

नेपाली भै गर्व गर्ने कहाँ ठाउँ छ भन !

आइतबार, १५ जेठ २०७९, १४ : २९
100 Shares

गणतन्त्र संसारकै उत्कृष्ट मध्येको शासन
नमुना हाम्रा नेता, अनी मिठा उनकै भाषण
खै कसरी आजसम्म, बाँचेको छ देश मेरो
धमिलियो दिन दिनै हाम्रो शेरो फेरो ।
उत्तम छ रे संविधान, मेरो देशमा भाको
महंगी र भ्रष्टाचारले, प्रथम स्थान पाको ।
श्री ५ फालेर खुसी र समृद्धी खोजेका हामी
रुप फेरेका उनैको दल–दलमा फस्न नपरोस् ।
महंगीले खुराक नपाई मृत्यु शैयामा कस्न नपरोस् ।

चार जात छत्तीस वर्णको फुलवारी मेरो देश
अझै छुवाछुतमा अल्झिएको देख्छु ।
भृकुटी र सीता जन्मीएको मेरो पवित्र देशमा
दिनहुँ बालिका बलात्कृत भई घांटी रेटिएको देख्छु ।
भमरा डुल्ने फुलबारीमा फुल जोगाउन मुश्किल भयो
उत्कृष्ट कानुन, उत्कृष्ट शासन, अब छोड तिम्रा भाषण
बांच्ने र बचाउने माहोल बनाइदेउ ।
गिद्धे नजर छेक्न, मेरी कलिली छोरीलाई
बरु एउटा मखमली, चोली सिलाइदेउ ।।

तरकारीको भाउ सोध्छु, गोजी ले नै दिन्न
नसकेर किन्न, बरु छोडें सब्जी चिन्न ।
न त भुटन किन्न सक्छु, न त किन्न भोजन
बोकि हिंड्न गार्हो भयो, आज आफ्नै वजन ।
गरिवीको गास बन्ने, तिमी सबका नारा
गरिवीकै बुई चढेर तिमले जित्ने सारा ।,
कसले जित्दा कसले हार्दा, हामीले पायौं के त ?
देउ न बरु हामी खन्छौ, जमिन्दारका खेत
अकालमै मरिन्न कि, भर्न पाए पेट ।।

प्रकृतिको निकै धनी, मेरो प्यारो देश
चिरा चिरा बनाएर, बदँलिँदै छ भेष ।
उर्लिन्छ कि खोलो कतै, पहिरो आउने त्रास
अनि भिड रमिते को लाग्दा उठी बास ।।
गड्गडाउँछ आकाश अनि, नाप्छु आफ्नै बारी
चैन हुने ऐनको आशमा, फुलि सके दाह्री ।।
पिडीतका नाउं बेचेर व्यापार भाको देख्छु
नदेउ अब राहत भन्दै, चामल एकै बोरी
भो चाहियन तिम्रा आहात, लैजान देउ सोरी ।।

ऋण लिने ऋणमा डुबे, व्यापारी घाटामा
यस्तै रहे अर्थतन्त्र, आउने छन् बाटामा ।
उंधो गतीमा देश सधै, योजना नै कस्तो
उपयोग कि चर्चीत हुने, तिम्रो बजेट सस्तो
यता हेर्यो उता हेर्यो, सन्तोषी भेटिन
ज्यान पाल्नलाई कोही कतै, नपरोस् रेटिन ।
आफ्नो आंगन फोहोर बनाई पराइकोमा बस्ने
गरीव र निमुखालाई, अझै कति डस्ने
बनाइदेउ न वातावरण शान्ति संग बस्ने ।।

काम गरेर देखाउ अब, सुनिदैन बोली
विचार गर श्रीलंका झै, हामी हुन्छौं भोली ।।
सुन्दैनौं की देख्दैनौ, तिम्रो के हो पारा
सिंह दरबार मात्रै ठान्छौ, नेपाल भूमि सारा ।
खस्किंदै छ आर्थिक सूचक, भासिंदै छन् मन
नेपाली भै गर्व गर्ने कहां ठाउं छ भन ?
भगवानको भरमा मात्रै, नराख न अब
शुद्धीकरण गर तिमलाई, विकास हुन्छ तब ।
शुद्धीकरण गर तिमलाई, विकास हुन्छ तब ।।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।