ताजा अपडेट »

'३० वर्ष पहिलेका अधूरा योजना पूरा गर्न र विकासका लागि सिद्धार्थनगरमा मेरो आवश्यकता'

शनिबार, २४ बैशाख २०७९, ०९ : ०८
10 Shares


सागरप्रताप राणा रुपन्देहीका पुराना नेता मध्येका एक हुन् । राप्रपाका रुपन्देही अध्यक्ष समेत रहेका राणा अहिले सिद्धार्थनगर नगरपालिकाको प्रमुखका लागि चुनावी मैदानमा रहेका छन् । राणा तिनै व्यक्ति हुन् जो पञ्चायति व्यवस्थामा दुई पटक सिद्धार्थनगर नगरपालिकाको नगर पञ्चायतमा निर्वाचित भएका थिए ।

उनी वि.सं. २०३९ र २०४३ सालमा भएको निर्वाचनमा सिद्धार्थनगरको नगर पञ्चायतको रुपमा निर्वाचित भएका थिए । यस्तै बहुदलीय व्यवस्थाको पुर्नस्थापना पछि २०५४ सालको निर्वाचनमा सिद्धार्थनगर नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । तर, गत निर्वाचनमा राणा सिद्धार्थनगरको प्रमुखमा पराजित भएका थिए । निर्वाचन केन्द्रित रहेर सागरप्रताप राणासँग ग्लोबल आवाजका लागि बसन्त आचार्यले गरेको कुराकानीः

तपाई ३ पटकसम्म सिद्धार्थनगरको नेतृत्व गरिसक्नु भएको छ । यो पटक तपाइँका एजेण्डा तथा प्राथमिकता के कस्ता छन्?
–मेरो मुख्य एजेण्डा सम्रगमा भन्दा नगरको विकास नै हो । सिद्धार्थनगर नगरपालिकाको योजनाबद्ध तरिकाले विकास गर्नका लागि बृहत मास्टर प्लान बनाउनु पर्छ । यो तयार गरिसकेपछि विकासहरु कदमहरु अघि बढ्छन् । म यो तरिका अनुसार विकास प्रक्रिया अघि बढाउँछु ।

प्राथमिकताको क्रममा भन्नुपर्दा सबै भन्दा पहिला नगरको फोहोरमैला व्यवस्थापन ठूलो समस्याको रुपमा देखा परेको छ । यसको दिगो व्यवस्था गर्न आवश्यक छ । म त्यो काम गर्छु । स्वास्थ्य र शिक्षाको लागि गुणस्तीय बनाउने गरी अघि बढ्ने मेरो उद्देश्य रहेको छ।

तपाइँको जितका आधारहरु के के हुन्?
–अहिले यो ५ वर्षसम्म भएका अव्यवस्थित काम, भष्ट्राचारका कुराहरु र जुन किसिमबाट स्थानीय निकायमा बेथिती भयो । यी सबै कुरालाई सुधार गर्नुपर्ने छ । भष्ट्राचारलाई शून्य अवस्थामा र्झानु पर्ने छ। यो सबै जनताले महशुुस पनि गर्नु भएको छ । जुन किसिमका करका कुराहरु र कर बृद्धिका कुराहरु छन् । यो कर बृद्धिमा नियन्त्रण गर्नु पर्ने छ । म यो गर्न सक्छु । यो नै मेरो पहिलो जितको आधार हो ।

अर्को विगतमा मैले गरेका कामहरु छन् । सभागृह, बर्सपाक, स्वर्गद्वारी घाट, आँखा अस्पताल, भैरहवा मेडिकल कजेलको निर्माणका लागि पहल लगायतका कामहरु मेरो कार्यकालमा भएका थिए । विगतमा मेरो कार्यकालमा सुरु भएका कतिपय कामहरु अहिले ३० वर्ष वित्तदा समेत पुरा हुन सकेका छैन् । त्यसकारणले पनि यो नगरले विकासको लागि मलाई नै कुरिरहेको अवस्था छ । विगतमा मैले यो नगरमा जे जति काम गरेको थिए । सबै सिद्धार्थनगरवासीलाई अवगत छ ।

तपाइँले विगतका कामलाई जितको आधार भन्नु भयो । तर, २०७४ सालको निर्वाचनमा पराजित हुनु भयो नि?
–म यो सिद्धार्थनगरमा ३ पटक मेयर बनिसकेको छु । विगतमा हामीले जित्दै नजितेको भन्ने होइन । २०७४ सालमा मात्रै म पराजित भएको हुँ । विभिन्न कारणले गर्दा म पराजित भएको थिएँ । तर, मैले २०७४ मैले नजितेको कारणले नै जुन किसिमको अव्यस्थित शहर भएको छ । जुन किसिमबाट विकासको अबरोध भयो । यहाँ भष्ट्राचार मैलायो । यसकारणले पनि अहिले सिद्धार्थनगरवासीले मेरो आवश्यकताको महशुस गर्नुभएको छ ।

अहिले पार्टी विभाजन भएको छ । सिद्धार्थनगरमा पार्टी विभाजनको प्रभाव होला नि?
राप्रपा विभाजन नै भएको छैन। राप्रपाको एक जना मान्छेले छाडेर जाँदैमा विभाजन भन्न मिल्छ र? त्यसो हो भने त धेरै छन् विभाजन भएका। त्यस्ता नेता छाडेर जाने त अरु पार्टीमा राप्रपा भन्दा धेरै छ ।

जनताको घरदैलोमा जाँदा उहाँहरुबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
–हामीलाई एकदमै राम्रो रेसपोन्स गर्नु भएको छ । साथै सिद्धार्थनगरवासी म माथि धेरै हार्दिकता देखाउनु भएको छ । उहाँहरुले तपाई नभएर यस्तो अवस्था भयो । अब तपाई आउनु पर्छ । म जति ठाउँमा गएको छु त्यहाँका सबै जनताले यहि नै भनु भएको छ ।

सिद्धार्थनगरमा धेरै प्रतिष्पर्धामा हुनु हुन्छ । तपाइले उहाँहरुले भन्दा के फरक दिन सक्नु हुन्छ ?
–मैले अरुले भन्दा फरक दिन सक्ने भनेको सुनौलो नगरको रुपमा विकास गर्ने र नगरका जनताको हातमा राखिदिने मेरो विचार हो । शिक्षामा राम्रो गुणस्तरीय विकास गर्ने, त्यही किसिमले स्वास्थ्यमा विकास गर्ने मेरो योजना रहेको छ । यस्तै सिद्धार्थनगरमा पर्यटनको धेरै सम्भावना रहेको हुनाले त्यसलाई पर्यटनमा जोडेर कसरी अघि बढाउन सकिन्छ भनेर त्यो जोडेर देखाउने पर्छ । त्यो पूरा मैले गर्न सक्छु ।

निर्वाचन नजिकिँदै छ, सिद्धार्थनगरवासीलाई के भन्न चाहानु हुन्छ?
यो नगरलाई राम्रो गराउने र यो नगरलाई मेरो हो भन्ने भावना जागृत गराउने र स्थानीय निकायमा जाँदा सबै नागरिकको समान हुने किसिमको व्यवहार गर्ने गरी काम गर्छु । शून्य भष्ट्राचारको परिस्थिति सृजना गर्ने र नगरवासीहरुलाई सरल र राम्रो किसिमले सेवा प्रदान गर्नु पर्ने छ । त्यो सबै पूरा म र मेरो नेतृत्वको टिमले गर्न सक्छ । यसकारणले सबै नगरबासीहरुलाई हामीलाई जिताउन अपिल गर्छु ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।