ताजा अपडेट »

‘धेरैले मबाट विकासको अपेक्षा गर्नु भएको छ, वडालाई समृद्ध बनाउने गरी काम गर्छु’

शुक्रबार, २३ बैशाख २०७९, २० : ५२
10 Shares

शुद्धोधन गाउँपालिकामा परिचित नाम हो, केशब प्रसाद अधिकारी । अधिकारी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट शुद्धोधन गाउँपालिका वडा नम्बर ४ को वडाध्यक्षका लागि चुनाबी मैदानमा होमिएका छन् । उनले २०५३ सालमा बुटवल बहुमुखी क्याम्पसबाट नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा गरेको थिए ।

त्यस यता अधिकारी नेपाली कांग्रेसका विभिन्न पदमा रहेर काम गर्दै आएका छन । अधिकारी अहिले नेपाली कांग्रेसको क्षेत्र नम्बर ३ (ख)को क्षेत्रिय सचीव समेत हुन । उनले राजनीतिसँगै आफ्नो व्यवसाय पेशा सञ्चालन गरि रहेका छन् । प्रस्तुत छ, निर्वाचन केन्द्रित रहेर शुद्धोधन गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्षका उम्मेद्वार केशब प्रसाद अधिकारीसँग ग्लोबल आवाजका लागि बसन्त आचार्यले गरेको कुराकानीः

वडाध्यक्षको लागि उम्मेद्वारी दिनु भएको छ । तपाईका एजेण्डा तथा प्राथमिकताहरु के कस्ता छन्?
–शुद्धोधन गाउँपालिका वडा नम्बर ४ कृषि क्षेत्र हो । पर्साटिकर बजार बाहेक अरु सबै कृषि क्षेत्र भएकाले मेरो प्राथमिकता कृषिमा रहेको छ । खासगरी कृषिका लागि आवश्यक पर्ने सिचाई, विउ मल र बजारीकरण गर्ने कुरा मेरो मुख्य प्राथमिकतामा हो । यस्तै वडामा रहेका सरकारी विद्यालयहरुको स्तरन्नोति गर्ने, गुणस्तरीय शिक्षा प्रदान गर्ने गरी काम गर्छु ।

वडामा रहेको खेलमैदानलाई स्पोर्ट एकेडेमिमा परिणत गर्ने योजना रहेको छ । यस भन्दा अघि वडा र गाउँपालिकामा अन्य दलको सरकार भए पनि मेरो पहलमै त्यसका लागि संघीय सरकारसँग बजेटको माग पनि गरेका छौँ । यसलाई मेरो कार्यकाल भित्रमा नै सम्पन्न गर्ने गरी अघि बढ्ने छु । पर्साटिकट पुरानो बजार भए पनि मानिसको चाप कम हुँदा व्यापार कम भएको छ । यसकारणले वडाका सरकारी कार्यालयहरु बजार क्षेत्रमा राखेर बजारलाई चलायमान गराउने गरी अघि बढ्ने योजना छ ।

यस्तै बजार क्षेत्रमा सिसिटिभि क्यामेरा, बत्ति, ढलनिकासको उचित व्यवस्थापन गर्ने काम गर्छु । वडामा रहेको मोतिपुर स्वास्थ्य केन्द्रलाई विशिषज्ञ सेवासहितको १५ शैयाको अस्पताल बनाउने छु । वडामा धेरै थारु, मुस्लिम, मधेशी, आदिवासी, जनजाति,बाहुन, क्षेत्रि सबै भएको ठाउँ भएकाले हुनाले सबै धर्मलाई समान रुपमा हेर्ने र धार्मिक संघ संस्थाहरुलाई संरक्षण गर्छु । भौतिक विकासमा तर्फ वडा भित्रका सडक कालोपत्रे र स्त्तोरोन्ति गर्ने सोच छ । यसका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारसँग आवश्यक समन्वय गर्ने छु । वाडमा रहेको सुकुमबासी समस्या समाधानका लागि विशेष पहल गर्छु ।
तपाईको जितको आधारहरु के के हुन्?

–मेरो जितका आधारहरु धेरै छन् । म यहि वडामा जन्मेको हुर्केको भएकाले सबै समुदायसँग नजिक रहेको छु । धेरै साथिहरुले मलाई रुचाउनु भएको छ । मलाई मेरो पार्टीका साथिहरुले त स्वाभिक रुपमा सहयोग गर्नु हुने नै भयो अन्य पार्टीका साथिहरु, स्थानीयवासीले हामी सहयोग गछौँ भन्नु भएको छ । अब तपाईले वडाको नेतृत्व लिएर विकास गर्नु पर्छ भनेर धेरै जनाले आग्रह गरे पछि मैले वडाध्यक्षमा उम्मेद्वारी दिएको हुँ । मलाई सबै पेशा व्यवसायका व्यक्तिहरुले सहयोग गर्ने वचन दिनु भएको छ । म आँफै पनि युवा भएकाले युवाहरुको साथ सहयोग रहेको छ । हाम्रो टिम पनि त्यसै अनुसारको रहेको छ ।

वडाध्यक्षका नेतृत्व लिन धेरै जना प्रतिस्पर्धामा हुनु हुन्छ । तपाईहरुले अरुले भन्दा के फरक गर्न सक्नु हुन्छ?
–हामीले धेरै कुरा घोषणापत्रमा उल्लेख गरेका छौँ । हामी किसानहरुलाई विशेष अनुदानको व्यवस्था गर्ने छौँ । भैरहवा–रुपन्देही परियोजना छ त्यसमा हामीहरुले विद्युतको पैसा तिर्दै आएका छौँ । त्यसमा ५० प्रतिशत छुट दिने छौँ । किसानका लागि कृषि तालिमको व्यवस्था गर्ने छौँ । यो अरु कुनै साथिहरुको एजेण्डा छैन् हाम्रो मात्रै छ ।

मेरो ५ वर्षे कार्यकालमा धुवामुक्त भान्सा र विपन्न र गरिब समुदायका सिमान्तकृत वर्गका नागरिकहरु लागि अनुदानमा इन्डकशन चुलो दिने छौँ । यस्तै गरिब र सिमान्तकृत समुदायका सबैलाई वडाबाट शतप्रतिशत अनुदान दिएर स्वास्थ्य बिमा गरिदिने योजना रहेको छ । साथै वडाबाट यज्ञदय क्याम्पसमा स्नातक तहमा अध्ययन गर्न जाने विद्यार्थीहरुका लागि २० देखि ५० प्रतिशत छुट दिने व्यवस्था छौँ । यी बाहेक अन्य धेरै कामहरु हामीले अरुले भन्दा फरक गर्न सक्छौँ ।

जनताको घरदैलोमा जाँदा उहाँहरुबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ नि?
– हामी जनताको घरदैलोमा जाँदा उहाँहरु धेरै खुसि हुनु भएको छ । हामी भोट माग्न जाँदा तपाईहरुले जित्नु पर्छ हामी सहयोग गछौँ भन्नु भएको छ । हामी घरदैलोमा जाँदा सबै वडावासी खुसि हुनुहुन्छ र हामीलाई राम्रो नै प्रतिक्रिया दिएर हौसला पनि बढाउनु भएको छ । हामी सामाजिक सञ्जालमा आज यो ठाउँमा हाम्रो घरदैलो कार्यक्रम छ भनेर राख्दा धेरै मान्छे स्वस्र्पूत रुपमा हाम्रो घरदैलो कार्यक्रमा सहभागि हुन आउनु भएको छ ।

शुद्धोधन गाउँपालिका–४ को मुख्य समस्या के हो? तपाई निर्वाचित भएपछि कसरी समाधान गर्नु हुन्छ?
–हाम्रो वडाको मुख्य समस्या सिचाई नै हो । वडामा धेरै किसान हुनु हुन्छ । यो समस्या समाधान गर्न लागि सबै निकायसँग पहल गरेर समाधान गर्छु ।

तपाई निर्वाचित हुनु भयो भने अहिलको शुद्धोधन गाउँपालिका–४ र ५ वर्ष पछिको शुद्धोधन गाउँपालिका–४ कस्तो होला? कस्तो परिकल्पना गर्नु भएको छ नि?
–मैले धेरै किसिमको परिकल्पना गरिसकेको छु । अबको ५ वर्षमा सुद्धोधन गाउँपालिका–४ का कुनै पनि बाटाहरु हिलाम्ए र धुलाम्य हुने छैन् । वाटोसँगै ढल निकास, कल्भर्ड, पुल सबै बनि सकेको हुने छ । अधिकांश सडकहरु कालोपत्रे भएका हुने छन् । यस्तै यहाँको बजार व्यवसाय पनि धेरै चलायमान हुने छ । वडाको शैक्षिक गुणस्तर पनि माथि पुराएर अध्ययन गर्न र स्वास्थ्य सेवा लिन फर्साटिकट नै जानु पर्छ भन्ने गरी वडालाई समृद्ध बनाउने परिकल्पना गरेका छौँ ।

निर्वाचन नजिकिदैँ छ, समस्त वडावासीहरुलाई के भन्न चाहानु हुन्छ?
–म वडावासीलाई निर्वाचनमा भोट दिदाँ योग्य, सबैको मनको भावना बुझ्ने, सबै समुदायलाई मिलाएर अघि बढ्न सक्नेलाई मतदान गर्नु होला । मलाई विश्वास छ म सबैको भावना बुझ्न सक्छु र वडाका सबै समस्यालाई समाधान गर्न सक्षम छु । यसकारणले मलाई र मेरो टिमलाई मतदान गर्न आग्रह गर्छु ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।