ताजा अपडेट »

पश्चिम नवलपरासीमा टिकट पाउने होडमा मेयरदेखि उपमेयरसम्मले गरे पार्टी परिवर्तन

मंगलबार, १३ बैशाख २०७९, १९ : ०६
6 Shares

परासी । मनोनयन दर्ताको अन्तिम दिन दिउँसो ३ बजेसम्म पार्टीको टिकट कुरेर बसेकी पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष अञ्जु कुमारी चौधरीले दल परिवर्तन गरेर पुनः सोही पदमा उमेदवारी दिइन्। उनी कांग्रेसबाट गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।

तर पार्टीले चौधरी थरकी अर्कै महिलालाई उपाध्यक्षको टिकट दिएपछि तत्कालै निर्णय गरेर अर्कै पार्टीबाट उम्मेदवारी दिइन्। गाउँपालिकाको अध्यक्षको निधनपछि २ वर्षअघिबाट कार्यवहाक अध्यक्षको जिम्मेवारी सम्हालेकी चौधरीले पूर्वमन्त्री हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीबाट उमेदवारी दिएकी हुन्। जनताको चाहानाअनुसार बाध्य भएर पुन: सोही पदमा उठ्न दल परिवर्तन गरेको उनको भनाई छ।                                                          

सुनवल नगरपालिकाको उपमेयरको टिकट नपाउने भएपछि एमालेका लेखनाथ खरेलले पनि उम्मेदवारीको अन्तिम समयमा माओवादी केन्द्रबाट उम्मेदवारी दिए। माओवादीबाट टिकट पाउने भएपछि खरेलले एमाले छाडेर कांग्रेससंगको गठबन्धनबाट उपमेयरमा उम्मेदवारी दिएका हुन्।

नेपाली कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित भएकी पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष पवित्रा कोहाँरले पनि पार्टीले टिकट नदिएपछि अन्तिम समयतिर दल फेरिन। माओवादी केन्द्रले उपाध्यक्षको उम्मेदवार बनाउने भएपछि उनले कांग्रेस छाडेर उपाध्यक्षमा उम्मेदवारी दिएकी हुन्।  सरावल गाउँपालिकाको अध्यक्षमा निर्वाचित राधेश्याम चौधरीले पार्टीले टिकट नदिएपछि बागी भएर उम्मेदवारी दिएका छन्। चौधरी बिजय कुमार गच्छदार नेतृत्वको तत्कालीन लोकतान्त्रिक फोरमबाट निर्वाचित भएका थिए। लोकतान्त्रिक फोरम कांग्रेसमा समाहित भएसँगै उनीपनि कांग्रेसमा आएका थिए। कांग्रेसले उनलाई टिकट नदिएपछि स्वतन्त्रको नाउँबाट बागी उमेदवारी दिएका हुन्।

सरावल गाउँपालिकामा पार्टीले टिकट नदिएपछि एमालेका पञ्चराम चौधरीले पनि असन्तुष्ट जनाउँदै स्वतन्त्रबाट बागी उम्मेदवार भएका छन्। जिल्लामा ७ स्थानीय तह छन्। प्रमुख र उपप्रमुखबाहेक पनि कांग्रेस र एमालेबाट निर्वाचित भएका धेरै स्थानीय तहका वडाअध्यक्ष र सदस्यहरुले समेत टिकट नपाएपछि केहीले दल फेरेर उमेदवारी दिएका छन्। भने केही स्वतन्त्रका नाउँमा बागी भएर उठेका छन्। जनप्रतिनिधिबाहेक पार्टीबाट टिकट पाउने आशमा रहेका धेरै कार्यकर्ताहरुले पनि दल फेर्ने र बागीबाट उमेदवार दिएका छन्। 

बागी उमेदवार र अरु पार्टीबाट उम्मेदवार बनेकाहरुका बारे नेपाली कांग्रेसका जिल्ला सभापति अर्जुन कुमार पोखरेलले असन्तुष्ट जनाएर उम्मेदवारी दिएका र अर्कै पार्टीबाट उमेदवारी दिएकालाई एक पटक अनुरोध गरेर फिर्ता बोलाउने प्रयास गरिने बताए।‘साथीहरु तातो रिस गरेका होलान्। पार्टीभित्र ठूलो लगानी गरेका साथीहरुले असन्तुष्ट जनाएर दल फेर्ने र बागी उठ्ने गर्नुभएको छ। उनीहरु फर्कनेमा विश्वस्त छौं।’ उनले भने। अनुरोधलाई नमाने पार्टी छाडेकाहरु स्वतः निष्कासन हुने र अन्यलाई कारबाही गरिने पोखरेले बताए।

एमाले जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारीले एक पटक उम्मेदवारी फिर्ता गर्न लगाउने र नमाने कारबाही गरेर निष्कासन गर्ने बताए।

बेनी माधव बस्याल
लेखकको बारेमा
बेनी माधव बस्याल