ताजा अपडेट »

द रन वे-३ को क्लोज क्याम्प सुरु, २० जना प्रतिष्पर्धा गर्दै

आइतबार, ११ बैशाख २०७९, १३ : १४
2 Shares

बुटवल । ब्यूटी प्याजेण्ट ( सौन्दर्य प्रतियोगिता) द रन वे सिजन–३ को क्लोज क्याम्प सुरु भएको छ । आर.एन.स्टायलको आयोजनामा सञ्चालित प्रतियोगिताको शनिबारदेखि क्लोज क्याम्प सुरु भएको हो । कम्पनीले शनिबार साँझ तिलोत्तमास्थित हिडन प्यालेसमा पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी गराएको हो ।

यस अगाडि नै २ वटा संस्करण सम्पन्न गरेको इभेण्ट अर्गनाइजर तथा म्यानेजमेण्ट कम्पनी आर एन स्टायलले कोरोना महामारी पछि गर्न लागेको यो पहिलो प्रतियोगिता रहेको कम्पनीका प्रमुख रेशम न्यौपानेले बताए ।

गत चैत १२ गतेदेखि अडिशन सुरु भएको प्रतियोगिताको छनौट तथा प्रशीक्षण सकिएको र हाल २० जना उत्कृष्ट प्रतियोगीहरुलाई क्लोज क्याम्पमा राखेर प्रशीक्षण सुरु गरिएको प्रतियोगिताका मुख्य कोरियोग्राफर तथा नेपालकै चर्चित युवा कोरियोग्राफर सुजित बस्यालले बताए ।

प्रतियोगितामा युवा र युवतीहरुको सहभागिता रहेको छ । दुबैतर्फका विजेताले उपाधिसँगै नगद २०–२० हजार,प्रमाण पत्र, मायाको चिनो, एकवर्षका लागि फेशनेवल ड्रेस उपलब्ध गराउने आर एन स्टाइलका निर्देशक समेत रहेका बस्यालले बताए । प्रतियोगितामा नवलपरासी,रुपन्देही,कपिलबस्तु,दाङ लगाएतका जिल्लाहरुबाट सहभागी रहेको आयोजक कम्पनीका निर्देशक बस्यालले बताए।

पत्रकार सम्मेलनमा बोल्दै आयोजक आर एन स्टायलका प्रमुख न्यौपानेले आफूहरुद्वारा आयोजित प्रतियोगिता विवादरहित सफल तथा प्रभावकारी भएको दावी गरे । उनले भने ‘यस्ता प्रतियोगिताहरुप्रति प्रश्न उठ्दै आएका छन्। तर, हामीले यसै पेशा,कर्मलाई व्यवसायिक मर्यादित र व्यवस्थित बनाउनकै लागि आर एन स्टायलको स्थापना गरेका हौं । हामीले गर्ने इभेण्टलाई हामी व्यवस्थित तथा पारदर्शी बनाउँदै आएका छौं ।’

पत्रकारको जिज्ञासामा जवाफ दिँदै कम्पनीका निर्देशक तथा प्रतियोगिताका मुख्य कोरियोग्राफर बस्यालले ब्यूटी प्याजेण्टलाई मोडलिङ र गल्यामरसँग मात्रै नजोड्न सबैमा आग्रह गरे । उनले भने ‘ अहिलेपनि ब्यूटी प्याजेण्टलाई केवल मोडलिङ र गल्यामरसँग मात्रै जोड्ने गरिन्छ । तर, यस्ता प्रतियोगिताले व्यक्तित्व विकास, आत्मबल बढाउने,सामाजिक उत्तरदायित्व बढाउने जस्ता कुरामा पनि महत्व राख्दछ । प्रतियोगितामा विजेता भएका मात्रै नभई सहभागीले पनि धेरै सिक्छन् र सिकेको कुरालाई जीवनमा लागू पनि गर्छन् । जुन हामीले देख्दै ,महसुस र अनुभव गर्दै आएका छौं।'

प्रतियोगिताको आगामी २५ गते ग्राण्ड फिनाले हुने कार्यक्रमका म्यानेजर विवेक केसीले बताए । शनिबार पत्रकार सम्मेलनकै अवसरमा प्रतियोगितामा सहभागीहरुले ‘फेशन सो’ गरेका थिए । उक्त फेशन सो मा आर एन स्टायलकी देवदह र नेपालगञ्ज कार्यक्रमकी संयोजक अनु अनमोल क्षेत्री, मोडल तथा कोरियो ग्राफर साहिर केसी,प्रशान्त शाह लगाएतको सहभागिता रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।