ताजा अपडेट »

मंगलबार चन्द्रागिरी केवलकार आधा घन्टाभन्दा बढी समय रोकिँदा के के भयो ?

बुधबार, १६ चैत्र २०७८, १६ : ३५
4 Shares

काठमाडौं। चन्द्रागिरी केवलकार मंगलबार दिउँसो आधा घन्टाभन्दा बढी समय रोकिएको छ । केवलकार रोकिँदा ३६ जना यात्रारत थिए । लामो समयसम्म केवलकार भित्र थुनिँदा कोलाहल मच्चिएको थियो । 

घटना मंगलबार दिउँसो २ बजेको हो । चलिरहेको केवलकार अचानक रोकिएपछि यात्रुहरू केही समय पुनः सुचारु हुने आशामा बसेका थिए । पाँच, दश, पन्ध्र मिनेट हुँदै आधा घन्टासम्म सुचारु नभएपछि यात्रुहरू केवलकारबाटै चिच्चाएका थिए । 

केवलकारको तारमा झुन्डिएको डब्बामा लामो समयसम्म थुनिएर बस्दा यात्रुहरूबीच कोलाहल मच्चिएको थियो । त्यसपछि उद्धारका लागि थानकोटस्थित महानगरीय प्रहरी वृत्तका प्रहरीलाई बोलाइएको थियो । 

‘साढे दुई बजेतिरको घटना हो । केवलकार रोकियो भनेर खबर आयो । अनि हाम्रो टोली परिचालित भयो,’  प्रहरी निरीक्षक मनोज श्रेष्ठले न्युज कारखानासँग भने, ‘३६ जना केवलकारको डब्बामा अड्किएका थिए । आधा घन्टा लगाएर उनीहरूको उद्धार गरियो ।’ 

उद्धार गरेर डब्बाबाट बाहिर निस्किँदा यात्रुहरू निकै अत्तालिएका थिए । कुनै अप्रिय घटना नहोस् भनेर पहिले नै त्यहाँ नेपाल प्रहरीको विपद् उद्धार टोलीसमेत खटाइएको थियो । ‘विपद् उद्धार टोलीलाई पनि तयारी अवस्थामा राखेका थियौं । डोरीमा गएर निकाल्नुपर्ला भनेर विपद् उद्धार टोली राखिएको थियो । तर त्यसो गर्नुपरेन,’ प्रहरी निरीक्षक श्रेष्ठले भने ।

विस्तारै डोरी तानेर केवलकारका डब्बालाई स्टेसनसम्म ल्याइएको थियो । केवलकार आधा घन्टाभन्दा बढी समय रोकिँदा चन्द्रागिरीको चुचुराेमा रहेकाे भालेश्वर महादेव मन्दिर वरपर चार सयको हाराहारीमा यात्रुहरू थिए । उनीहरू फर्कन पालो कुरेर बसेका थिए । 

यस विषयमा के भएको हो ? भनी चन्द्रागिरी हिल्सका प्रबन्ध निर्देशक अभिषेकविक्रम शाहसँग बुझ्दा उनले विद्युतमा समस्या आएका कारण केवलकार छोटो समयको लागि रोकिएको दाबी गरे । ‘केवलकारमा त्यस्ताे ठूलाे समस्या आएको होइन । विद्युतमा समस्या आएका कारण ५-६ मिनेट केवलकार रोएिको थियो । त्यतिबेला म पनि माथि नै अड्किएको थिएँ,’ शाहले न्युज कारखानासँग भने । उनले हाइभोल्टेजका कारण ट्रान्समिटर पड्किदा केवलकार रोकिएको बताए । 

शाहले भनेजस्तो मंगलबार चन्द्रागिरी क्षेत्रमा विद्युतमा कुनै समस्या नआएको नेपाल विद्युत प्राधिकरणको वलम्बुस्थित नो लाइट प्रमुख आशुतोष कर्णले जानकारी दिए । ‘उनीहरू (चन्द्रागिरी)को आन्तरिक ट्रान्समिटर बिग्रेको होला, त्यो हामीलाई थाहा भएन । तर हाम्रो लाइनमा खराबी भएको छैन,’ कर्णले भने । मंगलबारकै घटना भए पनि यसबारे बुधबार मात्र खबर बाहिरिएकाे थियाे । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।