ताजा अपडेट »

सामर्थ्य नभएकाहरु गठबन्धन गर्छन्, एमालेलाई फरक पर्दैन: पौडेल

बुधबार, १६ चैत्र २०७८, १२ : ०७
8 Shares

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सामर्थ्य नभएका दलहरुले चुनावी गठबन्धन गरेको बताएका छन् । एमाले विरुद्ध गठबन्धन गरेका दलहरुले एक्लै चुनावमा जान सक्ने सामर्थ्य नभएको उल्लेख गरे । एमालेलाई हराउन जतिसकै गठबन्धन गरे पनि त्यसको असर भने नपर्ने उनले दाबी गरे ।

बुटवल उपमहानगरपालिका–९ मा बुधबार एमालेको स्थानीय निर्वाचन प्रचार–प्रसार तथा जनसम्पर्क कार्यालयको उद्घाटन गर्दै उनले आफ्नो सरकारको पालामा लिइएका बिकास निर्माणका काम देखेर नै जनताले मतदान गर्ने उल्लेख गरे । पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले आफू सरकारमा हुँदा ल्याइएका बिकास निर्माण ठूला–ठूला योजनाहरुलाई हालको सरकारले चासो नदिएको आरोप लगाए ।

एमालेले आफ्नो पालामा गरेका बिकास र एमालेप्रतिको जनलहरबाट गठबन्धन दल अत्तालिएको उनले बताए । आगामी बैशाख ३० गते हुने निर्वाचनमा जतिसुकै दलहरुले गठबन्धन गरेर एमाले विरुद्ध लागे पनि फरक नपर्ने उल्लेख गरे । निर्वाचनमा एमालेको बहुमत आउने पक्का भएको पौडेलले बताए । कार्यक्रममा बोल्दै एमाले पोलिटब्युरो सदस्य लिला गिरीले आगामी निर्वाचनमा एमालेको जित सुनिश्चित भएका कारण ढुक्क भएर प्रचार–प्रशारमा लाग्न नेता कार्यकर्ताहरुलाई आग्रह गरे ।

एमाले सरकारमा हुँदा गरेका राम्रा र बिकास निर्माणका कामहरुलाई जनतामाझ बुझाउन सके मात्रै पनि एमालेको जित ढुक्क भएका कारण सोही अनुसार अघि बढ्नु पर्ने उनले बताए । कार्यक्रममा बुटवल–९ का अध्यक्ष विष्णु थापा, एमाले वडा अध्यक्ष भोजबहादुर बुढाथोकी लगायतले बोलेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।