ताजा अपडेट »

सेज भैरहवामा दर्ता भएका उद्योगी असन्तुष्ट

विहीबार, २८ कार्तिक २०७६, ०८ : ४६
4 Shares

कार्तिक २८,

भैरहवा । वस्तु निर्यात गर्दा आवश्यक पर्ने सेवा–सुविधा नपाएको भन्दै विशेष आर्थिक क्षेत्र (सेज) भैरहवामा दर्ता भएका उद्योगीले असन्तुष्टि जनाएका छन् । सेजमा उद्योग स्थापनाको सुरुवात भए पनि खानेपानी, ढल, धर्मकाँटाजस्ता पूर्वाधारसँगै भन्सार, बैङ्क, बीमाजस्ता सुविधा विस्तार हुन नसकेको उनीहरूको गुनासो छ । पञ्चकन्या ग्रुप प्रालिका प्रशासन–प्रबन्धक दिनेश ढकालले उद्योग निर्माणको काम भइरहेकाले तत्काल पूर्वाधार अभाव नखड्किए पनि अहिलेकै स्थितिमा औद्योगिक उत्पादन निर्यात गर्नुपरे समस्या आउने बताउनुभयो ।

ब्रिलियन्ट लाइटिनिङका सञ्चालक लक्ष्मण अग्रवालले उद्योग सञ्चालनका लागि पूर्वाधारको पर्खाइमा रहेको बताउनुभयो । “उद्योग खोलेपछि उत्पादन थाल्नुपर्छ । त्यसका लागि बिजुली चाहिन्छ । वस्तु निर्यात गर्दा आवश्यक पर्ने सेवा–सुविधा सेजमा आएकै छैन । ती सेवा कहिलेसम्म उपलब्ध हुन्छ भन्ने अन्योल छ”–अग्रवालले भन्नुभयो ।

५२ बिघामा फैलिएको सेजमा १६ सयदेखि ३७ सय वर्गमिटरका ६९ वटा प्लट छन् । अहिलेसम्म जम्मा १९ वटा उद्योगले भू–बहाल सम्झौता गरी ४९ वटा प्लट लिएका छन् । सम्झौताअनुरूप लगानीकर्ताले छ महिनाभित्रै उद्योग स्थापनाको प्रक्रिया थाल्नुपर्छ । एक वर्षपछि उत्पादन सुरु गर्नुपर्ने प्रावधान छ तर सम्झौताको डेढ वर्ष बितिसक्दा पनि आवश्यक पूर्वाधार नबनेको भन्दै अधिकांश लगानीकर्ताले उद्योग स्थापनामा रुचि देखाएका छैनन् । अहिलेसम्म छवटा उद्योगले मात्रै सम्झौताअनुरूप उद्योग स्थापनाको काम थालेका छन् ।

तीमध्ये सेजकै पहिलो उद्योग शक्ति मिनरल्सले गत साउनदेखि आफ्ना उत्पादन निर्यात गर्न थालेको छ । भारतीय लगानीको भिस्टार ग्लोबल प्रालिले एक साताअघि मात्र उत्पादन सुरु गरेको छ । पञ्चकन्या एसएस एक्सपोर्ट प्रालि र पञ्चकन्या प्लास्टिक प्रालि, ब्रिलियन्ट लाइटिनिङ इन्डस्ट्रिज, बुद्ध नेपकिन इन्डस्ट्रिज, आईडीएफ इलेक्ट्रिक प्रालि, अरिबा एग्रिकल्चर प्रालिले उद्योग स्थापना गर्दैछन् । अन्य तीनवटा निर्माण थाल्ने तयारीमा छन् । बाँकी १० उद्योगले स्थापनाको सुरसारै गरेका छैनन् । पूर्वाधार निर्माणमा भएको ढिलाइकै कारण सिद्धार्थ गु्रप र नानो हर्बल प्रालिले यसअघि नै सम्झौता तोडेका छन् । सेजको पछिल्लो अवस्था र पूर्वाधार तथा सेवा–सुविधा विस्तारमा भएको ढिलाइबाट अन्य केही लगानीकर्ताले पनि सम्झौता तोड्ने मनसाय देखाएको सेजकै एकजना कर्मचारीले बताउनुभयो ।

सिद्धार्थनगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलप्रसाद न्यौपानेले सेज ऐनले तोकेअनुरुपका सेवा–सुविधा विस्तार नहुँदा उद्योग स्थापनामा उत्साह जाग्न नसकेको बताउनुभयो । तर, सेज प्राधिकरणका प्रवक्ता सुन्दर थापाले उद्योग स्थापना भएर सञ्चालन हुँदासम्म सबै सेवा–सुविधा उपलब्ध गराइने बताउनुभयो । “उद्योग स्थापना हुन समय लाग्छ । सबै उद्योग निर्माण भएर सञ्चालनमा आए हामीले पनि त्यहीअनुरुप सेवा–सुविधाको व्यवस्था गर्नेछौँ”– थापाले भन्नुभयो ।
सेजमा स्थापना भएको पहिलो उद्योगले भोग्दै आएको कानुनी र सेवा–सुविधासम्बन्धी जटिलताले पनि अन्य लगानीकर्तालाई झस्काएको हो ।

सेज ऐनमै भन्सार, बैङ्क, बीमा, उत्पत्तिको प्रमाणपत्र सेज परिसरबाटै दिने प्रावधान छ तर ती सेवाका लागि सम्बन्धित निकायमै पुग्नुपर्ने बाध्यता रहेको उद्योगका सञ्चालक दीपक झाले बताउनुभयो । सेजको धर्मकाँटा प्रयोगमा नआउँदै बिग्रेकाले शक्तिले आफ्नो उत्पादन तौलिन बाहिर जानुपर्छ ।
सेज ऐनमै डेडिकेटेड फिडरमार्फत २४सै घण्टा बिजुली उपलब्ध हुने भनिएको छ । त्यसका लागि चाहिने विद्युत् सबस्टेसनको अहिलेसम्म टेण्डर नै भएकै छैन । सेजका प्रवक्ता थापाले दुई वर्षदेखि टेण्डर प्रक्रियामा जाने तयारी भइरहेको बताउँदै आउनुभएको छ । यसपटक पनि उहाँले टेन्डर प्रक्रियामा जाने तयारी भइरहेको दाबी गर्नुभयो । -गोरखापत्र अनलाइन

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।