ताजा अपडेट »

बडी बिल्डिङ्गमा रमाएका सन्तबहादुर

आइतबार, १३ चैत्र २०७८, ११ : १७
10 Shares

झट्ट हेर्दा ठुला पाखुराहरु कसिलो शरिर कुनै एक्सन चलचित्रका नायक भन्दा कम छैनन् सन्त बहादुर गुरुङ्ग । भैरहवा देवकोटा चोकका स्थायी बासिन्दा सन्तबहादुर गुरुङ्गको जन्म २०३५ सालमा भएको थियो। पिता स्व.प्रताप सिंह गुरुङ्ग र माता नर कुमारी गुरुङ्गको माइलो सन्तानका रुपमा उनी गुरुङ्ग परिवारमा हुर्किए ।

पिता प्रताप सिंह बिर्टिस आर्मीमा जागिरे भएकाले छोरोले समेत त्यही गोरेटो पछ्याओस् भन्ने चाहाना राख्थे । तर सन्तलाई भने हलिवुडका नायक अर्नोडको लोभलाग्दो शरिरले मोहित परिसकेको थियो । वि.सं. २०५० साल देखि शारीरिक सुगठन तर्फ आकर्षित भएका गुरुङ्गले नेपाल जिम एण्ड फिटनेसमा व्यायाम गर्न थाले ।

त्यसपछि भने पछाडी फर्केर हेर्नु परेन् । लगातार २ वर्षको कठिन प्रशिक्षणपछि २०५२ सालमा भएको मिष्टर लुम्बिनीमा उनले पहिलो प्रतियोगितामा नै ६० केजी बजन समुहमा दोश्रो स्थान लिन सफल भए । वि.सं. २०५४ सालमा भएको मिस्टर सिद्धार्थनगर शारीरिक सुगठन प्रतियोगितामा सबै प्रतिस्पर्धामा सबै खेलाडीलाइ पाखा लगाउँदै उनले उपाधि जित्न सफल भएका थिए । उनले २०५५ मा मिस्टर लुम्बिनी तथा २०६२ मा मिष्टर पश्चिमाञ्चल उपाधी जितेका थिए ।

नेपाल जिम एण्ड फिटनेस भैरहवामा प्रशिक्षकका रूपमा ४ वर्ष जति काम गरेपछि स्वदेशमा काम गरेको अनुभवले उनलाई वैदेशिक रोजगारमा समेत यही पेशाले तान्यो। ७ वर्ष साउदी अरबको अलक्यासर जिम र हाल दुवईको फिटनेस फेस्ट विश्वकै उत्कृष्ट फिटनेस सेन्टरमा दश वर्षदेखि प्रशिक्षक तथा पर्सनल ट्रेनरका रूपमा कार्यरत छन् । लामो समयको अन्तरालपछि २०७३ सालमा पोखरामा सम्पन्न पश्चिमाञ्चल स्तरीय शारीरिक सुगठन प्रतियोगितामा मिष्टर पोखरामा उनले पुन सफलता प्राप्त गर्दै आफ्नो खेल यात्रालाइ निरन्तरता दिए ।

नेपाल जिम एण्ड फिटनेसका प्रशिक्षक तथा राष्ट्रिय प्रशिक्षक शिवध्वज राइलाइ आफ्नो गुरु तथा प्रेरणाको स्रोत मान्ने गुरुङ्ग आफुले हालसम्म प्राप्त गरेको सफलताको श्रेय उनलाई नै दिन्छन् । सन्तबहादुर निक्कै मेहनती खेलाडी भएको र आफुले लिएको लक्ष्यमा निरन्तर लागि पर्ने गरेको शारीरिक सुगठन खेलका रुपन्देही प्रशिक्षक केशब बहादुर शाक्य बताउँछन् । सन्त हाल पोखराका स्थायी बसिन्दा हुन् । उनी हाल दुबइमा प्रशिक्षकका रुपमा नै कार्यरत छन् । भविष्यमा भैरहवामै आएर शारीरिक सुगठनको क्षेत्रमा काम गर्ने उनको योजना छ।

सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार