ताजा अपडेट »

दिनहुँ घट्दै फेसबुक प्रयोगकर्ता

विहीबार, २० माघ २०७८, १५ : ११
4 Shares

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताको संख्या घटेको छ। बुधबार सार्वजनिक एक तथ्यांकअनुसार दैनिक फेसबुक प्रयोगकर्ताको अनुपात लगभग २० प्रतिशतले घटेको हो। अमेरिकी दैनिक पत्रिका द वासिङटन पोस्टका अनुसार फेसबुकले आफ्नो १८ वर्षको इतिहासमा पहिलो पटक दैनिक प्रयोगकर्ता गुमाएको हो।

तथ्यांकअनुसार सन् २०२१ को चौथो त्रैमासिकसम्ममा मात्रै करिब आधा मिलियन फेसबुक प्रयोगकर्ता घटेको थियो। विशेष अफ्रिका र ल्याटिन अमेरिकामा फेसबुकको प्रयोग घटेको हो। अमेरिकी र युरोपियन राष्ट्रमा भने फेसबुकले हालसम्म राम्रो प्रतिक्रिया र प्रयोगकर्ता पाइरहेको छ।

फेसबुक प्रयोगमा कमि देखिनुको मुख्य कारण यसलाई युवा पुस्ताले बढी प्रयोग नगर्नु मानिएको छ। कम्पनीले केही समय अघि मात्रै फेसबुकको रिब्रान्डिङ गर्दै यसलाई मेटाु बनायो। तर यतिले मात्रै प्रयोगकर्ताहरू फेसबुक प्रयोगमा आकर्षित नभएको निश्कर्ष निस्किएको छ।

उस्तै फेसबुकको इन्स्टाग्रामको भने प्रयोगकर्ता दिनहुँ बढ्दो छ। द वासिङटन पोस्टका अनुसार सन् २०२१ को तेस्रो त्रैमासिकदेखि हालसम्म झन्डै १० मिलियन इन्स्टाग्राम प्रयोगकर्ता बढेको छ। त्यस्तै, ह्वाट्सएप र मेसेन्जरको प्रयोगकर्ता पनि बढ्दो छ।

फेसबुकले यतिबेला विभिन्न विज्ञापन र नयाँ उपकरण निर्माणमा आफ्नो पुँजी खर्चदैछ। यसले आफ्नो रियालिटी ल्याब विकासमा मात्रै अर्बौं खर्चेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले बुधबार मात्रै पत्रिकालाई कम्पनीको नयाँ भिआर हेडसेट सन‍् २०२२ भित्र सार्वजनिक गर्ने बताएका छन्।

यतिबेला सामाजिक सञ्जालमध्ये टिकटकले फेसबुकलाई ठूलो चुनौति दिएको छ। सिइओ मार्क जुकरबर्गले समेत मानिसहरूको आकर्षण टिकटकमा बढेको स्वीकारेका छन्।-एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।