ताजा अपडेट »

ल्होसार मनाउने तामाङ्ग समुदाय दुई परिवार मात्रै !

बुधबार, १९ माघ २०७८, २० : ३६
14 Shares

गुल्मी । ब्राम्हण क्षेत्री , जनजाती र विभिन्न जात जातिका आर्य समुदायको बाहुल्य रहेको गुल्मी जिल्लामा तामाङ्ग समुदायको बसोबास दुर्लभ प्राय: भएको पाईएको छ ।

तामाङ्ग समुदायले नयाँ वर्षका रुपमा मनाउँदै आई रहेको सोनाम ल्होसार पर्वको अवसरमा विभिन्न पालिकाहरु संग बुझ्दा स्थाई रुपमा गुल्मीको मुसिकोट नगरपालिकामा मात्रै जम्मा दुई घर परिवार तामाङ्ग समुदाय बसोबास गरेको पाईएको छ ।

‘कुनै पेशा ब्यवसाय वा मजदुरी र वैवाहिक सम्वन्धका क्रममा अस्थाई रुपमा बसोबास गरेका गरेका धेरै हुन सक्छन् , हाम्रोमा पनि त्यस्तै एक परिवार यतै काम गर्दै अस्थाई रुपमा बसोबास गरेको सुनिएको छ , सत्यवती गाउँपालिका प्रमुख पारिश्वर ढकालले भने–‘ गुल्मीमा तामाङ्ग समुदाय स्थाई रुपमा बसोबास गरेको विरलै होलान्। ’

मुसिकोट नगरपालिका–६ कुर्घाका वडाध्यक्ष खड्कबहादुर खड्का भन्छन्–‘ हाम्रो वडामा एक जना भिमबहादुर तामाङ्गको परिवार मात्रै स्थाई रुपमा बसोबास गरेका छन् । पछि उनका छोरी ज्वाई पनि वडा नम्वर ४ मा आएर बसोबास गरेका छन् । यी बाहेक गुल्मीमा स्थाई रुपमा तामाङ्ग समुदाय बसोबास गरेको मैले थाह पाएको छैन् । ’

गुल्मीका १२ वटा स्थानीय सरकारका जनप्रतिनिधीहरु संग बुझ्दा पनि कुनै पेशा , ब्यवसाय र वैवाहिक सम्वन्धका कारण अस्थाई रुपमा बसोबास गरेका केहि तामाङ्ग समुदाय भए पनि मुसिकोट नगरपालिकाका दुई परिवार बाहेक अस्थाई रुपमा बसोबास गरेको आफुहरुलाई जानकारी नभएको बताएका छन् ।

हाल सम्म हामीलाई प्राप्त जानकारी अनुसार गुल्मीको मुसिकोट नगरपालिका–६ कुर्घाको मौरीपोखरा भन्ने टोलमा भिमबहादुर तामाङ्ग र सोही नगरपालिका–४ बडागाउँको डाँडाचौरमा उनकी जेठी छोरी – ज्वाँई गीता तामाङ्ग र बाघविर तामाङ्गको परिवार सहित जम्मा दुई घर परिवार तामाङ्ग समुदाय स्थाई रुपमा बसोबास गर्दै आएको पाईएको छ ।

भिमबहादुर तामाङ्ग भन्छन्–‘ तम्घासको पुतली बजारमा पनि एक जना तामाङ्ग बसोबास गर्छन भन्ने सुनेको छु तर चिनजान भएको छैन् । पुतलीबजारका बासिन्दा खड्क श्रेष्ठ संग बुझ्दा त्यहाँ कुनै तामाङ्ग समुदाय स्थाई रुपमा बसोबास नगरेको बताउँछन् ।

भिमबहादुर तामाङ्गको पुर्खेयौलीहरु सिन्धुपाल्चोक , कोही गोरखा लगायत पुर्वतर्फ भए पनि उनिहरुको जिज्यु बाजे बिक्रम सम्वत १९८५/१९९० सालको सोरोफेरोमा बाग्लुङ्गको हाल निसीखोला गाउँपालिका, साविक राजकुद गाविस वडा नम्वर– ८ मा आएर बसोबास गरेको उनै भिमबहादुर तामाङ्ग बताउँछन् ।

भारतिय सेनाका अवकास प्राप्त उनि २०५६ सालमा कुर्घमा आएर जग्गा जमिन किनेको र २०५७ साल देखि राजकुदबाट त्यहाँ स्थाई रुपले बसोबास गर्दै आएको उनि सुनाउँछन् ।

भिमबहादुर अहिले ८० बर्ष उमेर पुगेका छन् । उनकी श्रीमति सुकली तामाङ्गको उमेर ६३ बर्षको भयो । कसरी मनाउँदै हुनुहुन्छ त आज ल्होसार पर्व रु भन्ने प्रश्नमा उनिहरु भन्छन्–‘ यता हाम्रो तामाङ्ग समुदाय बडागाउँमा मेरा छोरी ज्वाँई सहित जम्मा दुई घर परिवार मात्रै बस्छौं । हामी एक्लै भए पनि ल्होसार पर्व मनाउँदै आएका छौं । झण्डा गाड्छौं , तरुल , सखरखण्ड, अन्य फलफुल , रोटा रोटी पकाउँछौं ।

यहाँ गुरुङ्गहरु पनि छन् । अरु समुदायका मानिसहरुलाई पनि निम्ता गर्छौ , आज रमाईलै छ , छोरी ज्वाँई पनि आएका छन् । ’ ससुरालीमा ल्होसार मनाउन आएका ज्वाँई व्राम्हण समुदायका हुन् । वामीटक्सार स्थित सामुदायिक रेडियो पुष्पाञ्जलीका समाचार प्रमुख पत्रकार सागर भण्डारी त्यो तामाङ्ग परिवारका छोरी ज्वाँई हुन् । उनि आज त्यसै ससुराली परिवारको ल्होसार पर्वमा रमाएका छन ।

ती तामाङ्ग दम्पत्तीका दुई छोरा तीन छोरीहरु रहेका छन् । एउटी छोरी उहि राजकुद मै छाँदा त्यहीका तामाङ्ग संग विवाह गरे पछि बाबु आमा गुल्मी नै भएकोले गुल्मी कै बडागाउँमा पछि बसाई सराई गरेका थिए ।

माईली छोरीको कपिलवस्तुको चन्द्रौटामा ठकुरी संग विवाह भएको छ । कान्छी छोरीको गुल्मी का उनै सागर भण्डारी संग हुन पुगेको छ । दुई छोराहरु मध्ये जेठा छोराको मगरकी छोरी संग विवाह भएको छ । यसरी अन्तरजातिय विवाह सम्वन्धले एक अर्काको परम्परागत सांस्कृति संग पनि एक देखि अर्को समुदाय घुलमिल हुँदै आएका छन् ।

गुल्मीमा लिम्वु समुदायको दुर्लभ प्रायः पाईएको छ । मुसिकोट नगरपालिका कै वडा नम्वर ४ मा त्यहाँकी एक कुमाल समुदायकी महिला संग विवाह गरेर पुर्वी नेपालका रुद्रबहादुर लिम्वु स्थाई रुपमा बसोबास गर्दै आएको त्यस नगरपालिकाका समाजिक विकास समिति संयोजक हरि प्रसाद छन्त्याल बताउँछन् । छन्त्याल स्वयम पनि अति सिमान्तकृत समुदायका हुन् । गुल्मीमा गुरुङ्ग , वोटेमाझीहरुको बसोबास न्युन संख्यामा रहेको छ ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार