ताजा अपडेट »

चुलो-चौकोबाट माथि उठ्दै महिला

बुधबार, १९ माघ २०७८, १८ : ३१
2 Shares

गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–४ दोहलीकी कमला सुनार पाँच बर्ष अघिसम्म घरको घाँस दाउरा, मेलापात र चुलो चौकस मै सिमित थिईन् । जति बेला उनका श्रीमान बिष्णु सुनार भने समाज सेवामा ब्यस्त थिए ।

तर अहिले ठिक उल्टो भएको छ । श्रीमति अहिले समाज सेवामा अभ्यस्त छन भने श्रीमतिले गर्ने घरयासी काममा श्रीमान ब्यस्त हुँदै आई रहेका छन् । गत स्थानीय तहको निर्वाचनमा अनिवार्य दलित महिला वडा सदस्यको उमेदवार बनाउनु पर्ने प्रवधान रहेकोले नेकपा एमालेले उनै कमला सुनारलाई त्यस वडाबाट वडा सदस्यमा उठायो । उनले जितिन र उनी कार्यपालिका सदस्य समेत भईन् ।

त्यस यता कहिले बैठक, कहिले अनुगमन, कहिले विभिन्न कार्यक्रममा पुग्दा कार्य समिति सदस्य कमला सुनारले घरयासरी काममा समय दिन सकेकी छैनन् । यस अवधीमा उनले समाजलाई नजिकबाट चिन्न सकेको र समाज सेवाको अभ्यासले आगमी दिनमा आफु अहिलेको भन्दा माथिल्लो नेतृत्व लिन सक्ने क्षमता अभिवृद्धि भएको बताउँछिन् । केहि दिन अघि नेकपा एमालेको जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सदस्यमा निर्वाचित उनी स्थानिय तहको आगमी निर्वाचनमा गाउँपालिका उपाध्यक्ष सम्मको दावा गर्ने हैसियतमा पुगेकी छन् ।

पुर्वी गुल्मीको दुर्गम थलो कालिगण्डकी गाउँपालिका–६ खड्ककोटकी एकल महिला नन्दकली सुनारले कल्पना नै नगरेकी जिम्मेवारी यति बेला पाएकी छन् । १२ बर्ष अघि श्रीमानको मृत्यु हुँदा स–साना दुई छोरा छोरी मध्ये एउटी छोरी अपाङ्ग थिईन् । ‘घरको आर्थिक अवस्था एकदमै कम्जोर थियो’ सुनार भन्छिन्–‘श्रीमानको मृत्यु पछि ससुरा बिरामी पर्नु भयो र बित्नु पनि भयो । मैले थप दुख पाएँ, ऋण सापटी माग्न जाँदा एकल महिलाहरु अर्को विवाह गरेर जान्छन ऋण तिर्दैनन् भन्थे । साह्रै गाह्रो भयो । निकै तनावमा परे पछि एक दिन मर्छु भनेर बिष किनेर ल्याएँ । त्यही विष खाएर मर्छु भन्न लागेको बेला छोरा छोरीको मुख हेरें । म मरे भने यिनीहरु कसरी बाँच्लान भन्ने ठानेर बिष फालेर बाँचेकी हुँ ।’

उनी थप्छिन्–‘छोरा छोरी कसरी हुर्काउने पढाउने भन्ने चिन्ता मै थिएँ र निमेक मजदुरी गर्दै थिएँ । त्यही क्रममा गएको चुनावमा मलाई नेकपा एमालले वडा सदस्य उठ्नु प¥यो भनेर कर ग¥यो । मलाई राजनिति केहि थाह थिएन् । मैले सक्दिँन होला भन्दै थिए तर उठ्नै पर्छ भने पछि उठे र जितियो पनि ।’ अहिले कार्यपालिका सदस्य रहेकी उनलाई नखोज्ने वडाको मान्छे छैन् । ‘पहिला आफुले नमस्कार गर्दा पनि फर्काउँन गाह्रो मान्थे’–कार्यपालिका सदस्य सुनार भन्छिन्–‘अहिले मैले भन्दा पहिल्लै उनैहरुले नमस्कार गर्छन् ।

हिजो मलाई उपनामले बोलाउँथे भने अहिले नन्दकलीजि भन्छन् ।’ उनले पनि पछिल्लो साढे चार बर्षे कार्यकालमा थुप्रै सामाजिक कार्यको अनुभव बटुलेको बताउँछिन् । बाल्य अवस्था देखि नै माओवादी जनयुद्धमा लागेकी धुर्कोट गाउँपालिका–१ नयाँगाउँकी कविता बिक अहिले धुर्कोट गाउँपालिकाकी प्रबक्ता छन् । त्यस वडाबाट वडा सदस्यमा निर्वाचित उनी कार्य समिति सदस्यको हैसियतले बैठक र गाउँ सभामा आफ्नो कुरा स्पष्ट ढंगले राख्ने गर्छिन र आफ्नो अडान बाट सितिमिती पछि हड्दिनन् ।

नेकपा माओवादी केन्द्रकी जिल्ला सदस्य रहेकी उनी आगमी निर्वाचनमा गाउँपालिका अध्यक्ष वा उपाध्यक्षको हैसियत राख्ने क्षमता बृद्धि गरेकी छन् । गत स्थानिय तहको निर्वाचनले यी जस्ता सयौ–हजारौं दलित महिलाहरुलाई चुलोचौकसबाट बाहिर निकालेको छ । घरेलु हिंसा पीडित महिला हुन् गुल्मी कै रेसुङ्गा नगरपालिका–८ की वडा सदस्य बिष्णु माया बिश्वकर्मा । नेपाली कांग्रेसको राजनीतिमा लागे पछि उनी बिस्तारै पिडा मुक्त हुँदै सामाजिक कार्यमा लाग्न थालिन् । त्यस पार्टीबाट वडा सदस्यमा विजयी भए यता उनको जिवनमा पनि परिवर्तन आएको छ । उनि त्यस वडाका अगुवा समाज सेवीहरु मध्ये एउटा हिस्सा बनेकी छन् ।

त्यस वडाका वडाध्यक्ष भरत भलामी भन्छन् बिष्णु माया कुनै समय घरेलु हिंसा पीडित महिला थिईन् । निकै चुनौती पुर्ण संघर्ष गरेकी उनी अहिले एउटा सशक्त समाज सेवी र उद्यमशिल महिला समेत भएर गुप्रै महिलाहरुलाई विभिन्न उद्यमशिल तालिम समेत दिदै हिडेकी छन् । कुनै समयको विचल्लीबाट उनी धेरै माथी उठेकी छन् ।’

उता मुसिटकोट नगरपालिका–३ की वडा सदस्य ईन्द्रमाया सुनार एकल महिला हुने । एक दशक अघि घर निजिकै पर्ने थुमा सामुदायिक बनमा लागेको आगो निभाउने क्रममा उनका श्रीमानको जलेर मृत्यु भएको थियो । ३० बर्ष उमेर नपुग्दै एकल महिला बनेकी ईन्द्रमाया स–साना बालबालिकाहरु हुर्काउने पढाउनमा निकै मुस्कीलमा पर्दै आएकी थिईन् । एक समयको विक्षिप्त जिन्दगीले तनाव ग्रस्त उनी नेकपा एमाललेबाट वडा सदस्यमा निर्वाचित भए पछि अहिले मुस्कान लिएर समाज सेवामा तल्लिन् छन् ।

त्यस मध्ये कैयौं दलित महिलाहरु घरेलु हिंसा पीडितहरु पनि रहेका छन् । दलित महिला मात्रै होईन वडा सदस्य वा गाउँपालिका उपाध्यक्ष समेत रहेका अन्य समुदायका महिलाहरु समेतलाई गणतन्न्त्र, संघियता र समावेशीताले ह्वात्तै अगाडी ल्याई दिएको छ । जुन कुरा पुरुषप्रधानवादी सोच भएकाहरुलाई भने खासै मन परेको पाईदैन् ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार