ताजा अपडेट »

लासमा पनि दलालको नङ्ग्राः एउटै मृतकको १० लाख झ्याम्

विहीबार, १३ माघ २०७८, १५ : ५८
6 Shares

गुल्मी । बैदेशिक रोजगारमा जाँदा पनि दलालहरुको ठगी धन्दा उति कै छ । दुःखको कुरा विदेशमा मृत्यु हुँदा होस् वा फर्केर घरमा आई मृत्यु हुँदा मृतकले विदेशमा काम गरेको कम्पनी र बिमा बाफत पाउने रकममा समेत दलालहरुले लाखौं ठगी गर्ने गरेको गुल्मीको एक घटनाले देखाएको छ ।

२०७७ साल चैत्र २० गते कतारको रोजगारीबाट घर आएका गुल्मीको मालिका गाउँपािलका–७ घमिरका ३५ बर्षीय ढालबहादुर सुनारको मृत्यु भएको थियो । झण्डै १२ बर्षसम्म कतारमा मजदुरी गरेका सुनार घर आएको दुई महिना पछि मृत्यु भए पछि अनपढ उनकी श्रीमति लक्ष्मी सुनारलाई श्रीमानको मृत्यु पछि विदेशमा काम गरेको कम्पनीले के कति रकम दिन्छ भन्ने थाहै थिएन् ।

मृत्युको झण्डै एक बर्ष पछि गत बर्षको फागुन महिनामा घमिरकै छमेकी तेजेन्द्र परियार भनेर चिनिने बलबहादुर परियारले काठमाण्डौबाट फोन गरेर लक्ष्मी सुनारलाई बोलाए । उनी त्यहाँ गईन र तेजेन्द्रलाई भेटिन । तेजेन्द्रले लक्ष्मीको रकम झिकि दिने प्रकृया सुरु गरे । त्यस क्रममा बैदेशिक रोजगार बोर्ड र विमा कम्पनीमा लिङक भएका मानिसहरु मार्फत प्रकृया अन्तिम चरण तिर पुग्ने समय तिर लक्ष्मीलाई पाउने कुल रकम मध्ये झण्डै आधा रकम ति काम गर्ने मानिसहरुले माग्छन् भनेर तेजेन्द्रले भनि दिए ।

लक्ष्मी भन्छिन्–‘ मैले मेरो श्रीमान त गुमाए भने हुन्छ २० लाख मध्ये १० लाख भए पनि मेरा लागि ठुलो कुरा हो भनेर हुन्छ भनि दिएँ । ’ अन्ततः उनले पाउने २० लाख रकम मध्ये झण्डै आधा रकमबाट उनि ठगिन् पुगिन् । प्रभु बैंक तम्घास शाखाले दिएको विवरण अनुसार लक्ष्मीले पाउनु पर्ने पुरै २० लाख रकम उनको खातामा राखि दिईएको थियो । त्यस बैंकमा लक्ष्मी सुनारका नाममा जम्मा हुन आएको सिटीजन्स बैंकबाट १३ लाख रुपैयाँ मध्येबाट उसै दिन लक्ष्मीले ८२२ नम्वरको चेकबाट ९ लाख रुपैयाँ झिकेकी छन् ।

त्यस्तै फोरेन कम्पनीले फोरेन एम्पलाईमेण्ट प्रमोशन वोर्डबट लक्ष्मीका खातामा ७ लाख रुपैयाँ राखि दिएको थियो । त्यस खाताबाट फेरि लक्ष्मी सुनारले प्रभु बैंक गंगुवा शाखाबाट चेक नम्वर ८२५ बाट १ लाख रुपैयाँ झिकेकी छन् । घर फर्केकी लक्ष्मीले सोही बैंकको तम्घास शाखाबाट चेक नम्वर ८२६ बाट ८ लाख रुपैँया झिकेकी छन् ।

उनले थप २ लाख १ हजार रुपैयाँबाट पनि आमाको नाममा ८२८ नम्वर चेकबाट निकालेकी छन् । उनले सुरुमा निकालेको ९ लाख रुपैयाँ तेजेन्द्रं परियारलाई दिएर आएको बताएकी छन् । तम्घासबाट निकालेको २ लाख एक हजार रुपैयाँ कुनै एक ब्यक्तिको नाममा चेक काटिए पनि क्लिरिङ्गमा राखिएकोले कसलाई दिईएको हो भनेर खुल्न नसकेको यस ठगि काण्डलाई नजिकबाट पछ्याई रहेको नेकपा एमाले जिल्ला कमिटी उपसचिव धर्म बिश्वकर्मा बताउँछन् ।

बिश्वकर्मा भन्छन्–‘महिला मान्छे यति धेरै रकम बोकेर नजाने, भोली खातामा राखी दिनु होला भन्दै तेजेन्द्र परियारलाई सुरुमा ९ लाख रुपैयाँ नगद राखी दिएको बताउँछिन् । तर परियारले त्यो रकम उनको खातामा राखेको देखिदैन् । उनले तम्घास शाखाबाट ८ लाख झिकेर ५ लाख रुपैयाँ राष्ट्रिय बाणिज्य बैंकमा छोराको नाममा राखि दिएकी छन् । ३ लाख रुपैयाँ घर खर्च गरेको बताएकी छन् ।

काठमाण्डौमा झिकेको थप एक लाख त्यहाँ बसाईको खर्च लगायतमा खर्चेको उनि बताउँछिन् । यसरी लक्ष्मीको खातामा आएको २० लाख मध्ये ९ लाख मात्र लक्ष्मीले पाएको र ११ लाख रुपैयाँ हिनामिना भएको पाईएको छ ।’

दिन दाहडै एउटी गरिब निमुखा र एकल महिलालाई ११ लाख रुपैयाँ ठगि गरिएको प्रति आफुहरुले गम्भीर ढंगले खोजी गर्ने बिश्वकर्माको भनाई छ । तेजेन्द्र परियार भन्छन्–‘ काम गर्ने मान्छेहरुले पाउने कुल रकम मध्ये झण्डै आधा रकम माग्छन् के गर्ने बहिनी ? भनेर मैले लक्ष्मीलाई सोधेकै हो । उनले श्रीमान त गुमाएँ भने ९/१० लाख रुकम पाएँ भने पनि मेरो लागि ठुलो कुरा हो भनिन् त्यस पछि उक्त ९ लाख रकम उनै काम गर्ने मानिसहरुलाई दिएको हुँ । ’

को को मानिसलाई कति रकम दिईयो ? भनेर बुझ्दा त्यो भने उनले बताउँन सक्दैनन् । लक्ष्मीले उति बेला आफुलाई थाहा नभएका कारण काम गर्ने मान्छेले जति रकम लिन्छन दिन तयार भई काम गराएको बताउँछिन् ।

रकम निकालेको झण्डै एक बर्षसम्म उनी र उनको परिवार ९/१० लाख रुपैयाँ पाउँदा पनि ठुलै रकम पाएको भन्दै सन्तुष्ट नै थिए । जब घमिर सालबोटका छिमेकी खड्कबहादुर क्षेत्रीको विदेशबाट घर आई मृत्यु भयो र उनीहरुको परिवारलाई काठमाण्डौंमै रहेका घमिर कै सुर्य लम्सालले बैदेशिक रोजगार वोर्डमा काम गरि दिएर एक थर १३ लाख र अर्को ७ लाख सहित पुरै २० लाख रुपैयाँ परिवारलाई दिलाई दिए तब मात्र सुनार परिवार आफु ठगिएको थाहा पाए ।

उनकी सासु भुमी सुनार लगायका आफन्तजनले ठुलो रकम ठगी भएको र उजुरी बाजुरी गरे ठगेका मान्छेहरुले फिर्ता गर्थेकी भन्ने तर्फ सोचे र केहि दिन अघि जिल्ला प्रशासनमा आई उजुरी पनि दिए । सञ्चारकर्मीहरुले घर मै आई उक्त रकम बारे खोज तलास गर्दै छन् भन्ने थाह पाए पछि तेजेन्द्र परियार काठमाण्डौंबाट घर आई पुगे । उनी आए लगत्तै लक्ष्मीको बोली फेरियो ।

सुरुमा एउटा १३ लाख र अर्को ७ लाखको चेकमा हस्ताक्षर गराए मलाई १० लाख दिए बाँकी रकम काम गरेकाहरुले लगेका हुन भनेकी लक्ष्मीले जब प्रभु बैंक तम्घास शाखामा धर्म बिश्वकर्माहरुले स्टेटमेण्ट हेरे, तब त्यो दुबै रकम सहित पुरै २० लाख लक्ष्मीको खाता मै आएको पत्तो लगाए त्यस पछि काठमाण्डौं झिकेको ९ लाख रुपैयाँ तेजेन्द्र परियारलाई दिएर आएको बताईन् ।

लक्ष्मीले जिल्ला प्रशान कार्यालयमा दिएको उजुरी गत आईतबार फिर्ता गरेर लगेकी छन् । उजुरी फिर्ता गराउनका लागि उनै तेजेन्द्र परियार, लक्ष्मी सुनारलाई लिएर नेपाली कांग्रेस मालिका गाउँ पालिका–७ घमिरका वडा कमिटी सभापति हिराबहादुर कार्की आएका थिए ।

‘लक्ष्मीले आफुलाई उजुरी हालेकै थाहा नभएको बताए पछि उनले उजुरी फिर्ता गराई दिन जानुस भनेर आफुले मोटरसाईकलमा छोड्न मात्रै आएको सभापति कार्कीको दावी छ । लक्ष्मीकी सासु भुमी सुनार भन्छिन्–‘झिक्दा पनि मलाई सोधेका होईनन्, जे गर्ने भए पनि गर भनेकी हुँ । हिराबहादुर कार्की आएर तेजेन्द्र साह्रै रोयो लक्ष्मीलाई लगेर उजुरी थुत्न जाने भन्छिन भन्नु भयो र फोनमा बोलाएर लगेका हुन् । ’

उनले नाबालक नाबालिका नातिहरुको भविष्य बन्न सक्ने त्यति ठुलो रकम ठगिएको प्रति साह्रै मन दुखेको भुमी सुनारको भनाई छ । त्यहाँका वडाध्यक्ष वेदप्रसाद पन्थीले दुबै पक्ष र समाजका मानिसहरु सहित बसेर छलफल गरि कुनै सहमति गरेर उजुरी थुतेको भए राम्रो हुने बताउँछन् ।

प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद पौड्याल उजुरी थुतिए पनि छानविनको पाटो बन्द नभएको बताए । सहजकर्ताको भुमिकामा रहेका तेजेन्द्र परियारलाई उक्त रकम बारे खोज तलासको प्रकृयामा गएको खण्डमा उपस्थित गराईने र उनि जिम्मेवार भई दिनु पर्ने प्रजिअ पौड्यालको भनाई छ । मृतक ढालबहादुरका भाई वोमबहादुर सुनारले त्यति ठुलो रकम हिनामिना गरिएकोले आफुहरु एकाघरका भाईहरुलाई शैय नहुने भन्दै कानुनीबाटो बारे कतारबाट सोधनी गरेका छन् ।

लक्ष्मीका परिवारको न्यायका लागि सहजिकरण गरेका दलित अगुवा धर्म बिश्वकर्माले लक्ष्मी सुनार एउटी प्रतिनिधिमुलक पात्र मात्रै भएको र यस्ता घटनामा थुप्रै सोझा साझीहरु ठगिदै आएको पाईएको बताउँछन् ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार