ताजा अपडेट »

प्रहरीको मोटरसाइकल लिएर फरार कैदी नाइके पक्राउ

सोमबार, १० माघ २०७८, १९ : ०९
2 Shares

दाङ । दाङको घोराही कारागारबाट भागेका कैदी नाइके यमराज परियारलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । राजपुर गाउँपालिका ३ का ३० वर्षीय यमराज परियारलाई सोमबार पक्राउ गरि प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालको नेतृत्वमा खटिएको प्रहरी टोली, प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखा र भारतीय सुरक्षाकर्मीको समन्वयमा उनलाई नेपाल भारतको सिमाक्षेत्र बाँके नेपालगन्ज १५ जमुनाह नाका क्षेत्रबाट पक्राउ गरी दाङ ल्याएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए ।

फरार रहेका परियार लुकेर भारततर्फ जाने प्रयास गरेको भएता पनि सूचनाका आधारमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको उनले बताए । प्रहरीका अनुसार गत पुस ८ गते बिहान ११ बजे छालाको उपचार गर्न गएका उनी घोराही बजारको बीपी चोकमा रहेको थकाली भान्सा घर एण्ड लजमा गई खाजा खाने क्रममा उनलाई उपचार गर्न लैजान खटिएका प्रहरी जवान धन बहादुर चौधरीको लु ३१ प १५० नम्बरको मोटरसाइकल लिई फरार भएका थिए ।

कर्तव्य ज्यान मुद्दामा २० कैद सजाए पाएका परियारले २०७२ साल असोज १६ गते देखि घोराही कारागारमा कैद भुक्तान गरिरहेका छन् । हाल सम्म उनले ७ वर्ष कैद भुक्तान गरी सकेका छन् । कारागारमा पहिला चौकीदार हुँदै नाइके समेत भएका परियारले त्यसैको फाइदा उठाएर केही व्यक्तिहरूलाई प्रलोभनमा पारेर कारागारबाट भाग्न सफल भएको अनुसन्धानमा खुल्न आएको थप अनुसन्धान जारी रहेको समेत एसपी काफ्लेले बताए ।

उनका अनुसार कारागार ऐन २०१९ को दफा २४ को ३ अनुसार उनलाई थप कारवाही हुने भएको छ । उनले कानुनी प्रावधानमा बाँकी कैदको डेढी बढाएर कैद सजाय हुने ब्यवस्था रहेको समेत बताए । उनले भने,‘ यो फरार प्रकरणमा को को व्यक्तिको संलग्नता छ । क–कसको के भूमिका छ । त्यो विषयमा हामी थप अनुसन्धान गर्दैछौँ । यो घटनाको अनुसन्धान कारणबाट हुने भएकाले त्यहाँबाट भइरहेको छ । ’

त्यस्तै कैदी भागेपछि अनुसन्धानका लागि कारागारका जेलर युवराज परियारसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो । तर, प्रत्यक्ष घटनामा संलग्न प्रहरी जवान धन बहादुर चौधरी पूर्वपक्षको लागि कारागार चलान भएको र केही व्यक्तिहरू धरौटीमा छुटेको अवस्था रहेको भन्दै उनले थप अनुसन्धान हुने समेत बताए ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी