April 12, 2021, Monday
२०७७ चैत्र ३०, सोमबार

छठपर्वमा सूर्य र छठी माताको एकैसाथ पूजा

255

कार्तिक १४,
बुटवल । लोक आस्थाका पर्व छठ आजबाट विधिवत रूपमा शुरु भएको छ । कात्तिक शुक्ल चतुर्थी तिथि अर्थात् आजबाट विधिवतरूपमा शुरु भई सप्तमी तिथि अर्थात् आइतवार उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेपछि यो पर्व विधिवतरूपमा सम्पन्न हुन्छ । यस पर्वका व्रतालुले शुद्ध भोजन ग्रहण गर्छन् । यसलाई ‘नहायखाय’ भनिन्छ । पञ्चमी तिथिमा दिनभर व्रतालु उपवासमा बसेर साँझपख नयाँ माटोको चुल्होमा खीर पकाएर देवीदेउतालाई अर्पण गरी प्रसादको रुपमा परिवारका सदस्यलाई वितरण गरेर आफू पनि प्रसादको रुपमा ग्रहण गरिन्छ । यस विधिलाई ‘खरना’ भनिन्छ । खरनाको प्रसाद ग्रहणलगत्तै व्रतालुले पुनः उपवासको निरन्तरता दिँदै करीब ४० घण्टा निरन्तररूपमा उपवास बसेर कात्तिक शुक्ल षष्ठीमा अस्ताउँदो र सप्तमी तिथिमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेपछि पर्व समापन हुन्छ । सन्तान प्राप्ति, दीर्घायु, आरोग्य र मनोकामना पूर्ण गर्ने उद्देश्यका साथ यो पर्व मनाइने गरिन्छ । यस पर्वमा षष्ठी माता र सूर्यको पूजा गरिन्छ ।

छठ माता को हुन् ?

षष्ठी शब्द अपभ्रंश हुँदै ‘छठी’ र छठीबाट छठपर्वको रुपमा नामाकरण भएको धार्मिकग्रन्थको आधारमा देखिन्छ । छठपर्वको अवसरमा गरिने षष्ठी देवीको पूजाको सम्बन्धमा श्रीमद्देवी भागवत पुराणमा वर्णन गरिएको छ । सो पुराणको नवौँ स्कन्धमा भगवती षष्ठीको महिमाको सम्बन्धमा राजा प्रियव्रतको कथामा उल्लेख गरिएको हो । सो धार्मिक ग्रन्थमा उल्लेख गरिएनुसार, राजा प्रियव्रतलाई सन्तान थिएन । ऋषिमुनिको सल्लाहमा राजाले यज्ञ गर्नुभयो । महर्षि कश्यपले यज्ञका लागि पकाइएका खीर महारानी मालिनीलाई प्रसादको रुपमा सो खीर ग्रहण गर्न दिनुभयो । त्यो खीर ग्रहण गरेपछि निर्धारित समयमा रानीले पुत्रलाई जन्म दिइन् । तर, पुत्र मृतावस्थामा जन्म लिए । मृत सन्तानको जन्मको खबरले राजा अति विह्वल भए । सो सन्तानको अन्तिम संस्कारको समयमा राजाले श्मशानघाटमा प्राण त्याग गर्न खोजे ।

सोही समयमा दिव्य रथमा सवार एक देवी प्रकट भइन् । राजालाई प्राण त्याग नगर्न सल्लाह दिँदै देवीले भन्नुभयो, “म ब्रह्माकी मानसपुत्री देवसेना हुँ । सृष्टिको मूल प्रवृत्तिबाट मेरो उत्पत्ति भएको हो । सोही कारणले मलाई षष्ठी भनिन्छ ।” देवीले राजाका मृत सन्तानलाई काँखमा राखेर जीवित पार्नुभयो । उहाँले मेरो पूजा गर्नु र प्रजालाई पनि पूजा गर्न सल्लाह दिनुभयो । मेरो पूजा गरेमा सन्तानको रक्षा, सन्तान कर्मशील हुने, घरबाट दरिद्रताको अन्त्य हुने उपदेश दिनुभयो । कात्तिक शुक्ल षष्ठी तिथिमा सो घटना भएकाले सोही तिथिमा छठपर्व मनाउन थालिएको धार्मिक विश्वास रहिआएको छ । षष्ठी देवीको नामबाट कालान्तरमा शब्द अपभ्रश हुँदै ‘छठी’ र छठ पर्व भन्न थालिएको विश्वास गरिन्छ ।

छठपर्वमा सूर्यको पूजा

छठपर्वको अवसरमा सूर्यदेवको पूजा रामायणसँग जोडिएको छ । त्रेतायुगमा भगवान् राम १४ वर्षको वनवासको अवधिमा रावणको बध गर्नु भएको थियो । १४ वर्षको बनवासको अवधि पूरा गरेर कात्तिक औँशी तिथिमा अयोध्या फर्केपछि अयोध्यामा दीपावली मनाइएको रामायणमा उल्लेख गरिएको छ । दीपावलीको आठौँ दिन छठ पूजा गरिन्छ । भगवान् राम अयोध्या फर्केपछि राज्यारोहण गर्नुभन्दा पहिले ब्राह्मण ९रावण०को हत्याको पापबाट मुक्त हुन ऋषिहरुले सूर्यदेवको पूजा गर्न सल्लाह दिनुभयो । कात्तिक शुक्ल षष्ठी र सप्तमी तिथिमा भगवान् रामले सूर्यदेवको पूजा गर्नु भएकाले सोही दिनदेखि छठपर्वमा सूर्यदेवको पूजा हुन थालेको विश्वास गरिन्छ ।

यी दुई महत्वपूर्ण घटना एउटै तिथिमा भएकाले षष्ठी देवी अर्थात् छठी माता र सूर्यदेवको पूजा एकैसाथ हुन थालेको विश्वास गरिन्छ । यसका साथै, भविष्य पुराणमा उल्लेख गरिएनुसार, शौनकमुनिको जिज्ञासामा मुनि सूतजीले रोगग्रस्त, सन्तानहीन, अल्पायुमा मृत्युलगायतका कष्टबाट मुक्त हुनका लागि कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्यदेवको विधिवत पूजा गर्न सल्लाह दिएको उल्लेख गरिएको छ । सोही अवसरमा पुलस्त्यमुनिबाट प्राप्त जानकारी सुनाउँदै भीष्म पितामहले एक दुष्ट क्षेत्रीय राजा कुष्ठरोगबाट पीडित थियो । सो कष्टबाट मुक्ति पाउनका लागि आत्महत्याको विचार गरे । सोही समयमा एक विद्घान ब्राह्मण दरबारमा आइपुग्नुभयो । राजाले उहाँसमक्ष आफ्नो स्वास्थ्यका साथै कतिपय प्रजा पुत्रविहीन रहेको, कष्टमा रहेको सुनाएपछि सो ब्राह्मणले सूर्यदेवको उपासना गर्न र सो अवसरमा खरनादेखि छठपर्वको पूजा गर्ने विधिबारे विस्तारमा जानकारी गराएपछि छठपर्व मनाउन थालिएको उल्लेख गरिएको छ ।

कृषिमा आधारित पर्व छठ

यस पर्वलाई कृषिमा आधारित पर्वको रुपमा पहिचान गरिन्छ । यस पर्वमा पूजा गर्नका लागि बाँसको नयाँ टोकरी, कोनियाका साथै प्रसादको रुपमा केरा, उखु, फलफूल, पान, सुपारी, भाण्टा, मुला, सुथनी, अँकुरी, अलुवा, जुटा, मिठाइ र पकवानको रुपमा ठेकुवा र भुसुवा अनिवार्यरूपमा चढाउने गरिन्छ । नियम निष्ठा र पवित्रताका साथ मनाउने गरिएको यो पर्व भाकल पूरा भएपछि शुरु गरिन्छ । त्यसपछि, प्रत्येक वर्ष मनाउनुपर्ने नियम रहेको छ । यो पर्वको खास विशेषतामा समाजका सबै वर्ग पूजास्थलमा एकैसाथ रहनु, उँचनीचको भेदभाव नहुनु र जोकोही व्रतालु पूजास्थलमा अघ्र्य अर्पण गरिदिएमा पूजा पूर्णरूपले सम्पन्न हुन्छ । 

पछिल्लो अपडेट