ताजा अपडेट »

प्रेस युनियन सुनसरीले सञ्चारकर्मीको ७ लाखको दुर्घटना बीमा गर्ने

मंगलबार, ०४ माघ २०७८, २१ : ११
10 Shares

इटहरी । नेपाल प्रेस युनियन सुनसरीले परिवर्तित नीति अनुसार जिल्लाका सञ्चारकर्मीहरूको दुर्घटना बीमा गर्ने भएको छ । अघिल्लो वर्ष युनियनले तीन सय १४ जना सञ्चारकर्मीको निःशुल्क दुर्घटना बीमा गरेको थियो । जसमध्ये प्रदेश १ का १३ जना युनियनका जिल्ला अध्यक्ष थिए । तर, यसपटक भने परिवर्तित नीति अनुसार सुनसरीलाई कार्यक्षेत्र बनाएर सञ्चारकर्ममा आवद्वहरूको निःशुल्क दुर्घटना बीमा गरिने युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले बताए ।

अधिकारीका अनुसार युनियन र अजोड इन्स्योरेन्स काठमाडौँबीच भएको सम्झौता अनुसार जिल्लाभर क्रियाशील सञ्चारकर्मीको दुर्घटना बीमा नवीकरणका लागि दुवै संस्थाले आधा–आधा रकम व्यहोर्ने भएको छ । ‘गत वर्ष हामीले सञ्चारगृहमा आवद्व र नागरिकताको प्रतिलिपि मात्रै मागेका थियौँ,’ उनले भने, ‘यस वर्ष भने सञ्चार गृहको नियुक्ति पत्र पनि अनिवार्य गरिएको छ ।’

उनका अनुसार यसपटक दुर्घटना बीमाका लागि सुनसरीमा कार्यरत सञ्चारकर्मीले आफू कार्यरत सञ्चार गृहको परिचयपत्र, आफू कार्यरत सञ्चार गृहको सिफारिस, सञ्चार गृहको नियुक्ति पत्र, नागरिकताको प्रतिलिपि आवश्यक पर्नेछ । यस्तै, दुई प्रति पासपोर्ट साइजको फोटो पनि आवश्यक पर्ने उनले बताए ।

आफैं कार्यरत सञ्चार गृहले दुर्घटना बीमा गरिसकेको अवस्थामा दोहोर्याएर पेस गरे मान्य नहुने बताइएको छ । युनियनमा एक साताभित्र आएको नामावली इन्स्योरेन्समा पठाइने सचिव विवेक भट्टराईले बताए । उनका अनुसार पठाइएको नामावलीमध्ये आधा सञ्चारकर्मीको रकम भने युनियन जिल्लाले व्यहोर्ने छ ।

उनका अनुसार यसअघि बीमा गरिएकामध्ये विराट गौतम (अनुपम), बुलेट खतिवडा, रमेश कुमार राई र चन्दन रौनियार दुर्घटनामा परेका थिए । उनीहरूमध्ये अनुपम र राईको बीमा वापतको रकम हस्तान्तरण गरिसकिएको छ भने दुईजनाको केही दिनमै हस्तान्तरण गरिने बताइएको छ ।
गत वर्ष बीमा गरिएका सञ्चारकर्मीहरू दुर्घटना परेर घाइते भएमा खर्च भएमध्ये ७० हजारसम्म रकम प्राप्त हुन्थ्यो भने अब एक लाखसम्म प्राप्त हुने बताइएको छ । यस्तै, बीमितको मृत्यु भएमा सात लाख सम्मप्राप्त हुने बताइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।