ताजा अपडेट »

अस्पतालमा भर्ना भएका संक्रमित मध्ये अधिकांश कोरोना खोप लगाएका

शुक्रबार, ३० पुस २०७८, १७ : ००
4 Shares

बुटवल । डेढ हप्तायता लुम्बिनी प्रदेशका अस्पतालहरूमा भर्ना भएका कोरोना संक्रमितमध्ये अधिकांश खोप लगाएका रहेको पाइएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, भैरहवा स्थित भिम अस्पताल र राप्ती प्रादेशिक अस्पताल, दाङ लगाएतका अस्पतालमा भर्ना भएका कोरोना संक्रमित मध्ये अधिकांश कोरोना विरुद्धको पूर्ण खोप लगाएका पाइएका हुन्।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना भएका कोरोना संक्रमित मध्ये अधिकांश कोरोना विरुद्धको पूर्ण खोप लगाएका संक्रमितहरु रहेको अस्पतालका सूचना अधिकारी डा. नेत्रप्रसाद रानाले बताए । ‘अहिले अस्पतालमा एक गभर्वतीसहित ८ जना कोरोनाका संक्रमितहरु भर्ना हुुुनु भएको छ ।’ भर्ना भएका संक्रमित मध्ये ६ जनाले कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाउनु भएको छ । २ जना संक्रमितले भने कोरोना विरुद्धको खोप लगाउनु भएको छैन्। संक्रमित मध्ये ६ जना महिला र २ जना पुरुष हुन् ।’ रानाले भने ‘ शुक्रबार मात्रै २ जना संक्रमित अस्पतालमा भर्ना हुनु भएको छ भने आज बिहान २ जना संक्रमित निको भएर डिस्चार्ज हुनु भएको थियो ।’

साथै बुधबार भर्ना भएकी संक्रमित गभर्वती महिलाको नर्मल डेलिभरी भएको उनको स्वास्थ्य अवस्था सामान्य नै रहेको सूचना अधिकारी रानाले बताए । केहि दिन यता अस्पतालमा परीक्षण गराएका मध्ये धेरैमा कोरोना संक्रमण देखिए पनि अस्पतालमा भर्ना गरि हाल्नु पर्ने केस भने निकै कम रहेको रानाले बताए ।

‘१५÷२० दिन अघि अस्पतालमा दैनिक ३०/४० जनाले कोरोना परीक्षण गर्न गराउने गर्नु भएको थियो ।’ ग्लोबल आवाजसँग कुराकानी गर्दै रानाले भने ‘ केही दिन यता भने परीक्षण गराउनेको संख्या बढेर दैनिक १०० भन्दा मागि पुगेको छ । बिहीबार १०१ जनाको परक्षण गर्दा ३९ जना संक्रमण देखियो ।’ अस्पतालमा भर्ना भएका संक्रमित मध्ये कसैको पनि स्वास्थ्य अवस्था भने गम्भीर नरहेको सूचना अधिकारी रानाले बताए ।

भैरहवा स्थित भिम अस्पतालमा अहिले ३ जना कोरोना संक्रमितहरु अस्पतालमा भर्ना भएका छन् । भर्ना भएका मध्ये २ जनाले कोरोना विरुद्धको पूर्णं मात्रा खोप लगाएका संक्रमितहरु रहेको अस्पतालका सूचना अधिकारी डा. सिद्धार्थ पाण्डेले बताए । ‘कोरोना संक्रमण भएर भर्ना हुनु भएका विरामीहरु ३ जना हुनु हुन्छ ।संक्रमित मध्ये एक दम्पत्ती जोडि हो । अर्का संक्रमित २३ वर्षीय हुन् । दम्पत्ती २० गते र युवा बुधबार भर्ना हुनु भएको हो’ ग्लोबल आवाजसँग कुराकानी गर्दै पाण्डेले भने ‘दम्पत्ती जोडीले कोरोना विरुद्धको पूर्ण खोप लगाउनु भएको छ भने संक्रमित युवाले खोप लगाउनु भएको छैन् ।’

तीनै जना संक्रमितहरु मध्ये कसैको पनि स्वास्थ्यमा जटिल समस्या नभए पनि निमोनिया देखिएकाले भर्ना गरिएको सूचना अधिकारी पाण्डेले बताए । केही दिन यता अस्पतालमा परीक्षण गराएकाहरु मध्ये धेरैमा कोरोना संक्रमण देखिए पनि स्वास्थ्य अवस्था भने सामान्य रहेकाले भर्ना गर्नु पर्ने खालका संक्रमितहरु नरहेको सूचना अधिकारी पाण्डेले बताए ।

यस्तै राप्ती प्रादेशिक अस्पतालमा अहिले ९ जना कोरोनाका संक्रमित भर्ना भएका छन् । भर्ना भएका संक्रमित मध्ये ४ जनाले कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाएको राप्ति प्रादेशिक अस्पतालका कोरोना इकाइका व्यवस्थापक द्रोण ओलीले बताए । ‘अस्पतालमा अहिले ९ जना कोरोनाका संक्रमितहरु भर्ना हुने भएको छ ।’ ग्लोबल आवाजसँग कुराकानी गर्दै ओलीले भने ‘भर्ना भएका मध्ये ५ जना कोरोना विरुद्धको खोप नलगाएका संक्रमितहरु रहनु भएको छ । बाँकी ४ जनाले भने कोरोना विरुद्धको पूर्ण मात्राको खोप लगाएका संक्रमितहरु छन्।’

अस्पतालमा भर्ना भएका मध्ये २ जना भने अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रहेको अस्पतालका कोरोना इकाइका व्यवस्थापक ओली बताए । अस्पतालमा भर्ना भएका संक्रमितहरु मध्ये २ जना खोप नलगाएका ६५ वर्ष भन्दा माथिका संक्रमित भएकाले अक्सिजन दिएर राखिएको ओलीले बताए ।

‘अस्पतालमा भर्ना भएका संक्रमितहरु मध्ये अहिले कुनै पनि संक्रमितमा जटिल समस्या छैन् । २ जना संक्रमितहरु ६५ वर्ष भन्दा माथिका रहेकाले अक्सिजन लगाएर राखिएको छ । बाँकी सबै संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य नै रहेको छ ।’–उनले भने ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।