ताजा अपडेट »

चन्द्र-सूर्य अंकित बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अन्तिम चरणमा

सोमबार, १९ पुस २०७८, ०८ : १२
24 Shares

बुटवल । कोरोना महामारी, भूकम्प, नाकाबन्दी लगायत विभिन्न प्राविधिक अवरोधका बावजुद बुटवलमा चन्द्र सूर्य अंकित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणको अन्तिम चरणमा पुगेको छ । उपत्यका बाहिरकाे सबैभन्दा ठूलो सम्मेलन केन्द्र दाबी गरिएको नेपालको झण्डासहितको सम्मेलन केन्द्रको काम अब २३ प्रतिशत मात्रै बाँकी छ ।

दुई चरणमा निर्माण पूरा गर्ने गरी २०७१ सालमा ठेक्का सम्झौता गरिएको बुटवल सम्मेलन केन्द्रको पहिलो चरणको काम सम्पन्न भइसकेको छ भने दोस्रो चरणको काम पनि आगामी चैत्र मसान्त भित्रै सम्पन्न हुने बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाइका इन्जिनियर सुमन दर्लामीले जानकारी दिए ।

सभाहलमा भौतिक संरचना निर्माणको काम सकिएको छ । यसैगरी रङरोगन, सभाहल भित्र जिप्सन, कुर्ची जोड्ने, विद्युत र सिसिटिभी जडानको काम भइरहेका छन् । ग्राउण्डमा दुबो रोप्ने, सडक मर्मत, पार्किङ लगायतका काम तीब्रताका साथ चलिरहेको दर्लामीले बताए । भवनमा स्टाफ रुम, मिटिङ हल, सिलिङ तथा वालको कामका साथै बालकोनिमा कुर्सी जोड्ने काम अन्तिम चरणमा छन् । ‘बीचमा बजेटको बारेमा केही चिन्ता थपिएको थियो उक्त समस्या पनि सम्बन्धित निकायसँगको छलफलपछि कमी हुन नदिने प्रतिवद्धता आएको छ ।’– निर्माण कम्पनी आशिष निर्माण सेवका प्रतिनिधिले भने हाम्रो काम अब अन्तिम चरणमा छ, सम्मेलन केन्द्र अब आकर्षक देखिँदै छ ।

निर्माणको जिम्मा पाएको पहिलो चरणमा रविना समानान्तर चन्द्र सूर्य जेभी कम्पनीले काम गरेको थियो । पहिलो चरणमा ११ सय क्षमताको मुख्य सभा हल रहेको भवन, दुई वटा लेक्चर हल, ६ वटा मिटिङ हल, भिआइपी, भिडिओ अडियो, ट्रान्सलेटर लगायतका कक्षहरुको स्टक्चर तयार पारिएको थियो । कोभिडका कारण केही महिना काम प्रभावित भए पनि चालु आर्थिक वर्षको सुरूदेखि नै तीव्र गतिमा काम हुँदा पहिलो चरणको काम निर्धारित मितिभन्दा पहिले नै सकिएको र दोस्रो चरणको काम पनि सम्पन्न हुने अवस्थामा पुगेको कार्यान्वयन इकाईका इन्जिनियर दर्लामीले बताए ।

सम्मेलन केन्द्रको पहिलो चरणको कामलाई २३ करोड र दोस्रो चरणको कामलाई ८० करोड गरी १ अर्ब ३ करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । पहिलो चरणमा निर्माण गरिएको मुख्य सभा हल झण्डाको माथिल्लो भागको सूर्यअंकित डिजाइनमा निर्माण गरिएको छ भने दोस्रो चरणमा निर्माण गरिएको भवन झण्डाको तल्लो चन्द्रअंकित डिजाइनमा तयार गरिएको छ । यसैगरी सम्मेलन केन्द्रसँगै बन्न लागेको प्रदर्शनी केन्द्रले नेपालको झण्डालाई पूर्णता दिने छ ।

भौतिक संरचनाको काम पूरा भइरहँदा सतहबाट हेर्दा ब्लकअनुसार फरक–फरक संरचना देखिने बुटवल सम्मेलन केन्द्र माथिल्लो तहमा पुगेपछि तीन वटै ब्लकहरू आपसमा जोडिएर नेपालको झण्डा आकारको देखिन्छ । सूर्य आकारमा मुख्य सभा हलमा तल र माथि गरी १ हजार १ सय मानिस बस्न मिल्ने गरी कुर्ची जडान गरिँदै छ ।
दोस्रो चरणमा निर्माण भएको चन्द्र आकारको भवनमा दुई वटा ५०–५० र दुई वटा १–१ सय क्षमताका हल छन् । भौतिक पूर्वाधारको हिसाबले पहिलो चरणमा मुख्य भवन निर्माण गरी रङरोगन, सजावट, कुर्ची टेबल, विद्युत, सिसिटिभी जडान, प्रवेशद्वारलगायत संरचनाले चिटिक्क बन्दै छ । दोस्रो चरणमा सभा हल परिसरको ग्रिनरीसहितको बाटो, फुटपाथ, क्यान्टिन ब्लक, शौचालय, कर्मचारीको लागि तिनतलाको छुट्टै आवास गृह, पार्किङ स्थल, पोखरी, बगैंचालगायतका संरचना निर्माणको अन्तिम चरणमा छन् ।

लुम्बिनी क्षेत्रमा पूर्वाधार विकास गरी पर्यटन प्रवर्द्धन गर्ने भन्दै तत्कालीन सरकारले ग्रेटर लुम्बिनीको अवधारणा अनुरूप देशकै ठूलो सम्मेलन केन्द्र निर्माणको योजना अघि सारेको थियो । योजना निर्माण गर्दा दोस्रो प्राथमिकतामा परेको सम्मेलन केन्द्र निर्माणको योजनालाई योजना आयोगबाट पहिलो प्राथमिकतामा पारी निर्माण प्रक्रियाको काम अघि बढाइएको थियो ।

बुटवल मण्डपमा रहेको साढे १६ विघा जग्गामध्ये ९.६ विघा क्षेत्रफलमा निर्माण भइरहेको सम्मेलन केन्द्र स्थलमा १ सय ३६ वटा विभिन्न प्रजातिका बोटविरूवा कटान गरिएकोले त्यसको पूर्ति गर्ने गरी ग्रिनरी बनाइने छ । आयोजनाले सम्मेलन केन्द्र परिसरमा पर्ने आकाशे पानीलाई समेत त्यही जमिनमा रिचार्ज हुने गरी संरचना बनाइएको जनाएको छ ।

बुटवल उपमहानगरपालिकाले संरक्षण गर्दै आएको बुटवल मण्डपमा पूर्वतर्फ बुटवल सम्मेलन केन्द्र र पश्चिमतर्फ अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण गर्ने गरि २०६५ सालमा सरकारले निर्णय गरेको थियो ।

प्रदर्शनी केन्द्र सम्पन्न गर्न थप एक वर्ष लाग्ने
कोरोना महामारी तथा सुरुमा रुख कटानमा ढिलाई हुँदा सम्मेलन केन्द्रसँग जोडिएको प्रदर्शनी स्थल निर्माणको काम भने पूरा गर्न थप एक वर्ष लाग्ने भएको छ । २०७६ जेठ १३ गते शिलान्यास गरी काम अगाडि बढाइएको अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्रको ४० प्रतिशत मात्रै काम भएको आयोजना केन्द्रले जनाएको छ ।

साढे दुई वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी २०७१ साल माघ १५ गते सम्मेलन केन्द्रको पहिलो चरणको ठेक्का सम्झौता गरिएको थियो । पहिलो चरणमा रूख कटानमा ढिलाइ हुँदा र नाकाबन्दीका कारण निर्माण सामग्री अभाव भएपछि निर्माणको काम पछाडि धकेलिएको हो । बुटवल मण्डपको १६ विघामध्ये पश्चिमतर्फको ६ दशमलव ४ विघा क्षेत्रमा एक अर्ब दुई करोडको लागतमा बुटवल प्रदर्शनी केन्द्र निर्माण भइरहेको छ । शहरी विकास तथा भवन निर्माण विभागमार्फत् निर्माण भइरहेको प्रदर्शनी केन्द्र सरकारी स्तरको नेपालको सबैभन्दा ठूलो प्रदर्शनी केन्द्र रहेको दाबी गरिएको छ ।

हाल प्रदर्शनी केन्द्रको ३ वटा ब्लक मध्ये ए ब्लकको करिब सम्पन्न भएको छ । आयोजनाका अनुसार बी र सी ब्लकमा पनि स्टिलको पिल्लर राख्ने काम तीब्र गतीमा भएका छन् । २७ महिनामा निर्माण सम्पन्न गर्नेगरी क्यापासिट इन्फ्रा प्रोजेक्ट्स (गौरी–पार्वती जेभी कम्पनी)ले ठेक्का सम्झौता गरेकोमा ढिलो गरि रूख कटानको अनुमति पाएकोले निर्माण कार्यमा ढिलाई भएको थियो ।

‘प्रदर्शनी केन्द्र स्थलमा ५ सय २५ वटा रूख कटान गर्नु पर्ने भए पनि रूख कटान र इआइए प्रतिवेदन स्वीकृत गराउन नै ७–८ महिना लाग्यो, त्यसपछि पनि कोरोना महामारीका कारण केही समय काममा ढिलाई भयो, अहिले भने निर्माणको काम तीव्र रूपमा अगाडि बढाइएको छ,’ दर्लामीले भने ।

वर्षौंदेखि बसपार्क, सडक डिभिजन परिसरलगायतका क्षेत्रमा औद्योगिक प्रदर्शनी केन्द्र तथा व्यापार मेला आयोजना गर्दै आएका यहाँका उद्योगी व्यवसायीलाई प्रदर्शनी केन्द्र निर्माणपछि राहत मिल्ने छ । प्रदर्शनी केन्द्र बनेपछि वर्षा, जाडो तथा गर्मीका कारण हरेक महिना वस्तुगत प्रदर्शनी गर्न चाहेर पनि सञ्चालन गर्न नसकेका व्यवसायी तथा संघसंस्थालाई पनि यसले फाइदा पुग्ने विश्वास गरिएको छ ।

निर्माणाधीन प्रदर्शनी केन्द्रको तीन वटा ब्लकमा ८ सय ३८ स्टल सहभागी हुन सक्ने छन् । कवर्ड स्टल रहने भएकाले जुनसुकै मौसम र समयमा पनि प्रदर्शनी आयोजना गर्न सकिने छ । बाहिरबाट हेर्दा तीन वटा भवन देखिने गरी डिजाइन गरिएको प्रदर्शनी केन्द्रलाई आवश्यकता अनुसार अलग–अलग गर्न मिल्ने गरी डिजाइन गरिएको छ ।

प्रदर्शनी केन्द्रमा एक पटकमा १० हजार जनाले अवलोकन गर्न सक्ने छन् भने २० हजार अटाउन सक्ने हल, दुई हजार जनाले एकै पटक खाजा खानसक्ने गरी फुड कोर्ट निर्माण गरिँदै छ। यस्तै एक लाख १० हजार वर्गफिट क्षेत्रफलमा बाल उद्यान, चार सय मोटरसाइकल र चार सय चारपाङ्ग्रे गाडी पार्किङ गर्न मिल्ने गरी सभा हल र सम्मेलन केन्द्रको बीचमा पार्किङ स्थल तयार गरिँदै छ ।

यसबाहेक दुइटा मिटिङ हल, कफी सप, रजिष्ट्रेसन कक्ष, टिकट काउन्टरलगायत गरी १ अर्ब दुई करोड रुपैयाँमा संरचना निर्माण हुने छन् । त्यस्तै नेकपा एमालेले बुटवल महाधिवेशनमा निर्माण गरेको गणतन्त्र स्तम्भलाई पानीको फोहोरा सहितको प्लाजा एरियामा पुनःस्थापित गरिँदै छ ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।