ताजा अपडेट »

जग्गा विवादले पौने अर्बको तिनाउ-दानव करिडोर विकासे योजना रोकिने अवस्थामा

शुक्रबार, १६ पुस २०७८, १७ : ००
6 Shares

बुटवल । तिनाउ र दानव नदी किनारमा भइरहेको करिडोर निर्माणको काम घर–जग्गा व्यवस्थापनको विवादले रोकिने अवस्थामा पुगेको छ । निर्माणको कामले तीब्रता पाइरहेका बेला स्थानीयको अवरोध तथा अदालती उल्झनले करोडौंको विकासे योजना अलपत्र पर्ने अवस्थामा पुगेको छ ।

दानव नदी करोडर अन्तरगत बुटवल–१३ मा सडकले आफ्नो जग्गा मिचेको भन्दै नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडले उच्च अदालत तुलसीपुरमा मुद्दा दर्ता गरेपछि अदालतले स्टे अर्डर जारी गरेको छ । अदालतबाट गत भादौमा भएको फैसलापछि अर्को कुनै पनि आदेश नआएपछि उक्त क्षेत्रमा निर्माणको काम ठप्प छ । लिमिटेडले बुटवल उपमहानगरसहित वडा नम्बर १३ को कार्यालय, सडक डिभिजन र निर्माण कम्पनीलाई विपक्षी बनाई मुद्दा दायर गरेको थियो । यसैगरी वडा नम्बर १४ मा पनि स्थानीय टेकबहादुर श्रेष्ठले सडक निर्माण कम्पनी लामा बानियाँ जेभि, बुटवल–१४ को वडा कार्यालय, बुटवल उपमहानगर तथा सडक डिभिजन कार्यालय बुटवललाई विपक्षी बनाई मुद्दा दायर गरेपछि स्टे अर्डर जारी भएको छ । दुई ठाउँमा काम रोक्नेगरी भएको स्टे अर्डरले त्यस क्षेत्रमा निर्माणको काम ठप्प छ । निर्माणको काम भइरहेका ठाउँहरुमा समेत स्थानीयले विभिन्न संघर्ष समितिको नाममा विरोध जनाएपछि कतिखेर काम स्थगित गर्नुपर्ने हो कुनै टुङ्गो छैन ।

अदालतले स्टे अर्डर जारी गर्नुका साथै स्थानीयहरुले समेत विभिन्न संघर्ष समितिको नाममा अबरोध सिर्जना गर्दा निर्माणको काम नगन्यमात्रामा भइरहेको निर्माण कम्पनी लामा बानियाँ जेभिका प्रोजेक्ट म्यानेजर अनिल गौतमले बताए । ‘ठेक्का सम्झौता भएको ६ महिनासम्म घर जग्गा विवादले काम सुरु गर्न सकिएन ।’–गौतमले भने, ‘ढिला गरी योजना निर्माणको काम भएपनि फेरी अबरोध सिर्जनाहुँदा दैनिक रुपमा आर्थिक क्षेति व्यहोर्नु परेको छ ।’ उनका अनुसार दैनिक कम्तिमा २ लाख आर्थिक क्षति भइरहेको सुनाए । दैनिक ४० जना कामदारबाट हुँदै आएको काम अहिले संख्या घटाएर २५ जनामा आए पनि मेसिनरी सामग्रीहरु साइडमै कामविहिन हुँदा क्षति भएको उनले सुनाए । बस्ती नभएका क्षेत्रहरुबाट निर्माणको काम सुरु गरे पनि करिडोर अन्तरगत रहेका बस्ती व्यवस्थापन नहुँदा थप काम अघि बढाउन समस्या भएको उनको गुनासो छ ।

कम्पनीका अनुसार हालसम्म २५ प्रतिशत मात्रै काम भएको छ । बुटवल–१४ मा तटबन्ध बनाउने, नाली खन्ने, सबवेस तथा ह्यूम पाइप विछ्याउने काम भएको छ भने फुटपाथ र ग्रीनरीको काम बाँकी नै छ । यसैगरी वडा नम्बर १२ र १३ का केही स्थानमा मात्रै काम गर्न पाइएको गौतमले बताए । वडा नम्बर ११ मा काम सुरु नै गर्न नपाई स्थानीयको अबरोध छ ।

तिनाउ–दानव करिडोर निर्माणका लागि २०७७ असोज १२ र १४ गते ठेक्का सम्झौता भएपनि फागुन २८ गतेदेखि मात्रै काम सुरु भएको थियो । तिनाउ करिडोरका लागि ५२ करोड ४६ लाख रुपैयाँ र दानव करिडोरमा १९ करोड ४२ लाख रुपैयाँको ठेक्का सम्झौता भएको छ । तिनाउ नदी किनारमा ३६ महिना र दानव नदी किनारमा २७ महिनामा काम सक्ने गरी सम्झौता भएको छ । सम्झौताअनुसार किराँतेश्वर मैनाचुली अविसा जेवीले तिनाउ क्षेत्रको काम गर्ने छ भने लामा बानियाँ जेवीले दानव नदी क्षेत्रको काम गर्ने छ ।

बुटवल उपमहानगरको महत्वकांक्षी योजनाका रुपमा रहेको तिनाउ र दानव नदी करिडोरको ठेक्का सम्झौता भएको लामो समयपछि कार्यान्वयनको चरणमा गएपनि स्थानीयले अबरोध सिर्जना गर्न थालेपछि रोकिने अवस्थामा पुगेको हो । गत वर्षको मंसिर १० गते तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले करिडोरको शिलान्यास गरी तत्कालै काम अघि बढाउन निर्देशन दिए पनि घर–जग्गा व्यवस्थापनको जिम्मा लिएका बुटवल उपमहानगरसहित तिलोत्तमा र सैनामैना नगरपालिकाले काम पूरा नगर्दा योजना अलपत्र पर्ने अवस्थामा पुगेको हो ।

तिनाउ नदी र दानव नदीको दीर्घकालीन व्यवस्थापन तथा पर्यटनको विकासका लागि नदी किनारमा सडक निर्माणको काम सुरु गर्नुपर्ने भएपनि त्यस क्षेत्रमा पर्ने घर, टहराहरुको व्यवस्थापन नहुँदा यो समस्या सिर्जना भएको हो । करिडोरका लागि काम सुरु हुनुपूर्व नै त्यस क्षेत्रमा पर्ने घर टहराहरु हटाउने प्रतिवद्धता गरेका बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका तथा सैनामैना नगरपालिकाले बाचा पूरा नगर्दा तामझामका साथ शिलान्यास गरिएको योजना झगडाको बीउ बन्न थालेको छ । करिडोरको अंधिकांश भाग पर्ने बुटवल उपमहानगरमा घर जग्गा व्यवस्थापनको समस्या बढी रहेको छ ।

करिडोर क्षेत्रभित्रका सबै घर–टहरा तथा जग्गाका समस्याहरु समाधान गरेर मात्रै निर्माणको काम सुरु गर्नु पर्ने आफूहरुको माग रहेको संघर्ष समितिका संयोजक आत्मबहादुर रानाले बताए । डीपीआरअनुसार तिनाउ नदी व्यवस्थापनका लागि दायाँबायाँ बहाव क्षेत्र निर्धारण गरिनेछ । उक्त क्षेत्र छोडेर नदीको जगदेखि नै पर्खाल लगाइनेछ । पर्खाल क्षेत्रबाहेकको ३ मिटर क्षेत्रफलमा हरियाली क्षेत्र बनाइनेछ । त्यसको छेउमा ७/७ मिटरको दुई लेन सडक हुनेछ । सडकको छेउमा फुटपाथ बनाइनेछ ।

बुटवल उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले करिडोर क्षेत्रमा पर्ने बस्तीलाई व्यवस्थापन गर्नका लागि काम भइरहेको बताए । विकासको काममा कसैले पनि अवरोध गर्न उचित नहुने बताउँदै उनले करिडोर प्रभावित जनताका मागलाई उचित रुपले सम्बोधन गरिने बताउँदै आएका छन् ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।