ताजा अपडेट »

द्वन्द्वका घाउमा अझै मल्हम लागेन

विहीबार, १५ पुस २०७८, १९ : १६
10 Shares


दाङ । ताराबहादुर वलीले अभिभावक गुमाएको २३ वर्ष पुगिसक्यो तर, उनको त्यो अभिभावक वियोगको घाउँको पीडा बीसको उन्नाइस भएको छैन । घरको खम्बाको रुपमा रहेका बुबा तत्कालिन माओवादी पार्टीमा लागेको आरोपमा २०५५ साल चैत्र ६ गते प्रहरीले गोली हानी हत्या गर्यो । त्यसपछि वली र वलीको परिवार विनखम्बाको घर जस्तै भए ।

बुबाको हत्या हुँदा तारा ५ वर्षका मात्र थिए । बालकै भएका कारण ताराले बुबाको मृत्यु भएको खबर सुने पनि विश्वास गरेनन् तर अहिले २३ वर्ष पुग्दा बुबाको सम्झनाले उनको मुटु भक्कानिएर आउँछ । हत्या त भयो नै अहिलेसम्म वली परिवारको घोउँमा मलमसमेत लागेको छैन । राज्यले १० लाख दिएर त्यो पीडाको घाउँलाई टाल्न खोजेको छ भने जसकै कारण स्टिकर लगाएर हत्या भएको हो त्यो पार्टी झन् बेखबर नै छ ।

बुबाको हत्याको खबर सुनाउँदै तुलसीपुर १८ का तारा भन्छन्–‘आमाहरू खेतमा गँहु काट्दै हुनुहुन्थ्यो, त्यसैवेला बुबाको मृत्युको खबर आयो मलाई विश्वास लागेन, अनि खबर ल्याउने मान्छेलाई उल्टै भने पख, मेरो बुवा मरेको भनेका छौँ बुवा आएपछि भनिदिन्छु, तर, उहाँ कहिल्यै फर्कनुभएन ।’ घरको मुली मान्छे नै नरहेपछि परिवारमा दुःख,कष्ट त कति हो कति । यति हुँदैगर्दा आफ्नो बुवा जस्ता हजारौँ शहीदको बलिदानबाट देशमा परिवर्तन आएको भएपनि आफूहरुमा पीडामा बीसको उन्नाइस नभएको ताराको गुनासो छ ।

त्यसो त तुलसीपुर ६ की पर्तीकुमारी चौधरीका पीडा पनि ताराको भन्दा कम छैनन् । चौधरीका आखाँमा हिजोआज आशु आउन छाडिसके । सशस्त्र द्वन्द्वका क्रममा २०५८ सालमा जुम्लामा आफ्नो १९ वर्षिय छोरा गुमाएकी चौधरीका आँशु छोराको यादमा बगेर नै सुकिसके । उनी अहिले पनि छोराको यादमा नै तड्पिएर बाँचिरहेकी छन् । उनका पाँच भाइ छोराहरू हुन् ती मध्ये एक जना शहिद भए त अर्का एक काम गर्ने क्रममा त्रिशूली नदीमा खसेर ज्यान गुमाए । अहिले उनी कान्छा छोरासँग बस्दै आएकी छन् । उनले पनि राज्यको त्यही १० लाखमा आफ्नो सन्तती गुमाएको पीडा बिर्साउन बाध्य छन् ।

तारा र चौधरी मात्रै होइन सशस्त्र द्वन्द्वको समयमा आफ्ना आफन्त गुमाएकाहरु केहीले त्यही १० लाखमा चित्त बुझाउनु परेको छ त कतिले त्यही पनि पाउन सकेका छैनन् । यतिवेला त्यही रकमका भरमा आफ्नो परिवारको गास, वास, कपास, शिक्षा स्वास्थ्यलगायका व्यवहार चलाउन बाध्ये छन् । न रोजगार छ न घर व्यवहार चलाउन अन्य उपाया नै । राज्य तथा जसको निम्ती आफन्त गुमाउनु पुगेको पार्टीले पनि आफ्ना समस्या नहेरेको शहिद परिवारको गुनासो छ । तर तत्कालिन माओवादी र अहिलेको माओवादी केन्द्रका नेताहरु भने शहिद, घाइते अपांगका परिवारहरुलाई पार्टीले हेर्दै आएको बताउँछन् । ‘माओवादी पार्टीले सधै शहीदहरुको सम्मान गर्दै आएको छ’, माओवादी केन्द्रका नेता शेषुराम भण्डारीले भने । शहीदहरुको सम्मान गर्नको लागि राष्ट्रिय शहीद घोषणा गर्न लागेको समयमा आफ्नो सरकार नै ढलेपछि पछि आउने सरकारले व्यवस्था गर्दा समस्या भएको उनको भनाई छ ।

त्यस्तै शहिद तथा घाइते अंपाग परिवारहरूलाई राज्य र पार्टीले हेरेको भएयता पनि जुन रुपमा हेर्ने पर्ने हो ? त्यो नहेरेको जनक्रान्ति महान शहीद परिवार समाज दाङका अध्यक्ष लुमकान्त न्यौपाने बताए । उनले भने, ‘राज्य वा पार्टीले नहेरेको भन्ने कुरा होइन् । तर, जुन प्रकारले दायित्व बोध गर्नु पर्ने हो ? त्यो चाहिँ भएको छैन । तर, राज्यले शुरुमा शहीद परिवारलाई १० लाख राहत दिएको थियो । कतिपयले राम्रो ठाउँमा प्रयोग गर्नुभयो । कतिपयले विभिन्न कारणले प्रयोग गर्न सक्नु भएन ।’

त्यस्तै उनले अब राज्यले शहीद परिवारलाई मासिक ३ हजार र अशक्तहरुलाई मासिक ५ हजार दिने निर्णय गरेको भन्दै हामीले चाहेको जति नभएता पनि केही केही राज्यले गरेको उनले बताए । माओवादीले चलाएको सशस्त्र द्धन्दका समयमा १७ हजारले ज्यान गुमाएका थिए ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी