ताजा अपडेट »

निरन्तरको वर्षाले बुटवलको औद्योगिक व्यापार मेला स्थगित

बुधबार, १४ पुस २०७८, १४ : ४३

बुटवल । वर्षाका कारण बुटवलमा जारी मेला स्थगित भएको छ । गयरातिदेखिको वर्षाका कारण बुधबार हुने सबै कार्यक्रम स्थगित भएको औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलाका संयोजक गोबिन्दप्रसाद गैरेले जानकारी दिए ।

‘वर्षाका कारण आजका सबै कार्यक्रम स्थगित भएको छ ।’ ग्लोबल आवाजसँग कुराकानी गर्दै गैरेले भने ‘वर्षा रोकियो भने भोलिबाट नियमित रुपमा नै कार्यक्रम सञ्चालन हुन्छ ।’ वर्षाका कारणले बुधबार मेला रोकिदा करिब ३ करोड बराबरको घाटा हुने संयोजक गैरेले बताए । साथै बुधबार आउने भनिएका कलाकारहरुको प्रस्तुति अब नहुन पनि सक्ने संयोजक गैरेले बताए ।

‘पहिला नै तयार भइसकेको सेडुल परिवर्तन गर्दा कार्यक्रमलाई व्यवस्थापन गर्न झन समस्या हुन्छ । आज आउने भनिएका कलाकारहरु वर्षाका कारणले बुटवलमा आउनु भएको पनि थिएन् । यसकारण उहाँहरुलाई बोलाउन समस्या हुन सक्छ ।’–उनले भने । साथै संयोजक गैरेले मेला भित्रका स्टलको अवलोकन गरिएको बताउँदै वर्षाका कारण कुनै स्टलमा समस्या पुगेको भए आवश्यक सहयोग गर्ने बताए ।

‘स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण’ नाराका साथ चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेला पुस ८ गतेदेखि शुरु भएको थियो । प्रदर्शनी तथा ब्यापार मेला पुस २० गते चल्ने छ ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।