ताजा अपडेट »

रुपन्देही लगायत तराईका जिल्लामा चिसो एक्कासी बढ्यो, चिसोबाट बच्न डा. नन्दु पाठक के भन्छन् ?

सोमबार, ०५ पुस २०७८, ०७ : ३५
4 Shares

बुटवल । रुपन्देही लगायत तराईका जिल्लामा चिसो एक्कासी बढेपछि जनजीवन प्रभावित भएको छ । आइतबारदेखि नै तराईका जिल्लाहरुमा हुस्सु र चिसो बतास लाग्न थालेपछि जनजीवन प्रभावित बनेको हो ।

चिसो बढेसँगै सडक तथा बजारमा मानिसहरुको साँझ बिहानको समय आवागमनमा कमी आएको छ । पहाडका जिल्लाहरुमा भने साझ बिहानको समयमा चिसो बढे पनि दिउसो घाम लाग्दा राहत मिलेको छ । हरेक दिन विहानको समयमा पैदलयात्रीहरुको भिड हुने बुटवलका सडकहरु आज विहान सुनसान देखिए । सडकमा गुड्ने दुई पाँग्रे सवारीका साधन विहानको समयमा अन्य दिनको तुलनामा कम गुडेका छन् ।

वरिष्ठ फिजिसियन डा. नन्दु पाठकको भनाई

वरिष्ठ फिजिसियन डाक्टर नन्दु पाठकका अनुसार चिसोको समयमा बालबच्चा तथा ४५ वर्षमाथि उमेर समूहका व्यक्तिलाई यो समय जोखिमयूक्त हुन्छ । उनीहरुको शरिरमा बोसोको मात्रा कम हुने भएकोहुँदा शरिरलाई आवश्यक पर्ने न्यानोपन सञ्चय गरेर राख्न सक्ने क्षमता पनि कम हुन्छ ।

विशेषगरी जेष्ठ नागरिकहरु, दम, निमोनिया, प्रेसर, सुगर, मुटुको रोग लगायतका बिरामीहरुका लागि यो समय जोखिमपूर्ण हुन्छ । यो समयमा वायुमण्डलमा धुलो धुँवाको कण बढी मात्रामा हुनेहुँदा दिर्घरोगीहरुलाई जोखिमयूक्त मानिन्छ । यसैगरी चिसोको समयमा अन्य समयभन्दा हाम्रो शरिको रगत २५ प्रतिशत बाक्लो हुने भएकाले यसको सर्कुलेशन समेत ढिलो हुने हुन्छ ।

यो समयमा मर्निङ वाकमा निस्कने मानिसहरुले बाक्लो कपडा, जुत्ता तथा पञ्जाहरु लगायर मात्रै निस्कन डा. पाठकको सुझाब छ । यो समयमा सुगरका बिरामीहरु सकेसम्म विहानको समयभन्दा साझको समय वा घाम लागेपछि मात्रै पैदल यात्रामा जान उनले सुझाउँछन् ।

यो समयमा ब्डल प्रेसरका बिरामीहरुलाई पनि उत्तिकै जोखिम हुन्छ । हर्टअट्याकको समस्या समेत यो समयमा बढी देखिने गर्दछ । यसैगरी दमका रोगीहरुका लागि पनि चिसो मौसम उपयुक्त मानिदैन । यो समयमा बाहिर यात्रा गर्दा वायुमण्डलमा हुने प्रदुसणका कारण थप संक्रमण बढ्न सक्ने हुन्छ ।

डा. पाठकले चिसोबाट बच्नका लागि सकेसम्म अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन सुझाब दिने गरेका छन् । यो समयमा शरिरमा पानीको मात्रा कम हुने भएकाले बेला बेलामा मनतातो पानी तताएर पिउनु पर्ने, न्यानो कपडा लगाउने, निमोनियाको खोप लगाउने तथा समय–समयमा ब्लड प्रेसर तथा सुगरको मात्रा परीक्षण गरिराख्नु पर्ने उनको सुझाब छ ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।