ताजा अपडेट »

‘मृत्यु मार्ग’ बन्दै बुटवलका सडक, ट्राफिक व्यवस्थापन अस्त-व्यस्त

शुक्रबार, २४ मंसिर २०७८, १८ : १७
8 Shares

बुटवल । पश्चिम क्षेत्रकै आर्थिक केन्द्रका रुपमा रहेको बुटवलमा प्रमुख टाउको दुखाईको विषय मध्य भागमा पर्ने ६ लेन सडक भएको छ । पटक–पटक समय थप गर्दा पनि बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडक बिस्तारको काम सम्पन्न हुन नसक्दा यो मार्ग मृत्यु मार्ग बन्ने गरेको छ ।

घाम लाग्दा धुलाम्य तथा हल्का वर्षा हुनासाथ हिलाम्य हुने बुटवल राजमार्ग चौराहदेखि गोलपार्क सम्मको सडक निर्माणको काममा भएको ढिला सुस्ति तथा लापरबाहीले यहाँको ट्राफिक व्यवस्थापन समेत अस्तव्यस्त बन्ने गरेको छ । सडकमा परेका ठूला–ठूला खाल्डा–खुल्डीका कारण यात्रुहरु जोखिम मोल्न बाध्य भएका छन् । खराब सडककै कारण यो सडक हुँदै यात्रा गर्ने यात्रुहरुले निर्धारितभन्दा बढी समय छुट्टयाएर हिँड्नु पर्ने बाध्यता रहेको छ ।
यस क्षेत्रमा हुने अधिकांश दुर्घटनाको कारण समेत सडक हुने गरेको उनले बताउँछन् । ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडक क्षेत्रमा मात्रै पछिल्लो १७ महिनाको अवधिमा ७ जनाले ज्यान गुमाएका छन् । सवारी दुर्घटनामा परी ११ जना घाइते भएका छन् । सो अवधिमा भएको भएका १९ वटा दुर्घटनामा २८ वटा सवारीमा क्षति पुगेको तथ्याङ्कमा उल्लेख छ ।

लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणका अनुसार दिनप्रतिदिन सवारीको चाप बढ्दै जाँदा सडकको अवस्थाले ट्राफिक व्यवस्थापनमा थप समस्या हुने गरेको छ । विशेष गरी कार्यालय समयमा यात्रुहरु घण्टौंसम्म सडकमा उभिनु पर्ने बाध्यता रहेको उनले बताए । बुटवलका ट्राफिक चोक, पुस्पलालपार्क, भुड्किचोक, मिलनचोक तथा राजमार्ग चौराह लगायतका ठाउँहरुमा सवारीको जामले पैदल यात्रीहरुलाई समेत समस्या हुने गरेको छ ।

सडक निर्माणको काम समयमै नहुँदा बुटवलका विभिन्न ठाउँमा राखिएका सिसिटिभी क्यामेरा समेत काम नलाग्ने अवस्थामा पुगेका छन् । सडक तथा शहरको सुरक्षाका लागि राखिका सिसिटिभी क्यामेरा विगत ८ महिला लामो समयदेखि बन्द भएका हुन् । बन्द भएका क्यामेरा सञ्चालन तथा नयाँ जडानका लागि समेत सडक निर्माणको काम नहुँदा ठप्प भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यसैरी बुटवल उपमहानगरपालिका र रोटरी क्लब अफ बुटवलको सहकार्यमा बुटवलमा जडान गर्ने भनिएको सडक बत्तीको काम समेत निर्माणको काम नसकिएको हुँदा रोक्नु परेको छ ।

यहाँका राजनीतिक दल, विभिन्न सामाजिक संघ–संस्था तथा बुटवल उपमहानगरले समेत पटक–पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले टेरपुच्छर नलगाएपछि आजित बनेका छन् । डिभिजन सडक कार्यालय बुटवल, ईलाका प्रशासन र जिल्ला प्रशासन कार्यालयमा पटक–पटक गरेर यहाँका राजनीतिक दल तथा सामाजिक संघ-संस्थाहरुले ज्ञापनपत्र बुझाउने कामहरु भइरहे पनि निर्माण कम्पनीले भने अनेक बहाना बनाउँदे टार्ने गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कार्यालयमै उपस्थीत गराएर निर्माण कार्य तत्काल सुरु गर्ने कागज समेत गरेका निर्माण ब्यवसायीले त्यसको बेवास्ता गरेका छन् ।

बेलहिया बुटवल व्यापारिक मार्ग बिस्तार आयोजना अन्तर्गत राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडकको निर्माणको जिम्मा लिएको द कञ्चनजंगा बिरुवा जेभी काठमाडौंले सडक निर्माणप्रति वेवास्ता गर्दा बुटवल उपमहानगरले गरेका बिकास निर्माणका कामहरु समेत ओझेल पर्ने गरेको छ । बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले विभिन्न कार्यक्रमहरुमा प्रतिक्रिया जनाउँदै बुटवलको मुख्य सडकमै सडक निर्माणको काम सम्पन्न नहुँदा स्थानीय सरकारले अपजस खेप्नु गरेको छ ।

संघीय सरकारको लगानीमा सडक डिभिजन कार्यालय मातहतमा रहेर काम हुनेहुँदा प्रदेश सरकारले समेत आवश्यक दबाब दिन जरुरी रहेको उनले औल्याउने गरेका छन् । बुटवल उपमहानगरका विविभन्न ठाउँमा भए गरेका बिकास निर्माणका कामहरु प्रसंशा गर्न लायक भए पनि बुटवलको सडकमा आएर जनताले मुख खुम्च्याउने गरेका छन् ।

२०७४ साल चैत ३० गते सडक निर्माणको लागि ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले ०७४ साल र ०७७ सालमा गरी दुईपटक मोभिलाईजेसन भन्दै ८ करोड २६ लाख रुपैयाँ लगिसकेको छ । कुल ४७ करोड २७ लाख ८ हजार २ सय ८७ रुपैयाँ लागतमा निर्माणको सम्झौता गरेको ठेकेदार कम्पनीले १८ प्रतिशत बढि रकम लगिसकेको छ । चौतर्फी दवावपछि राजमार्ग चौराहदेखि बसपार्कसम्म नाली खन्ने काम सूरु गरेको उक्त निर्माण कम्पनीले बिचमै काम असरल्ल पारेर छोडेको छ ।

जिल्ला प्रशासन कार्यालयमा निर्माण कम्पनीका तर्फबाट उपस्थित भएका सुवित श्रेष्ठले यथासिघ्र सडक निर्माणको काम अगाडी बढाउने प्रतिवद्धता जनाएका थिए । तर प्रतिवद्धता जनाएको एकमहिना बितिसक्दा पनि निर्माणले गती लिन सकेको छैन ।

डिभिजन सडक कार्यालयका प्रमुख जयलाल मरासिनीले पटकपटक सडक निर्माणको लागि ताकेता गरेपनि निर्माण कम्पनीले अटेर गर्दै आएको बताए । निर्माण कम्पनीले आयोजनाबाट रकम लगिसकेको भएपनि पेटी ठेकेदार, कामदार र सप्लायर्सहरुलाई भने रकम नदिएपछि निर्माण सामग्रीको आपूर्ति र काम रोकिएको छ । रकम नपाएका कामदार र सप्लायर्सहरुले सडक निर्माणमा प्रयोग गरिएका मेसिनका पार्टपूर्जा र निर्माण सामग्री समेत लैजाने अवस्था आएको बताएका छन् ।

पाँच वर्ष अघि ठेक्का सम्झौता गरिएको सडकको तेश्रो पटक थप गरिएको सम्झौता मिति आगामी असार मसान्तसम्म मात्रै रहेको छ । मरासिनीका अनुसार ठेकेदार कम्पनीसंगै केहि स्थानीयवाशीको अवरोध र सुरुमा गरिएको गलत डिजाईनका कारण सडकको अहिलेको अवस्था निम्तिएको हो । उनका अनुसार २०७३ सालमा सडकको डिजाईन गर्दा नाली नसमेटिएको र अहिले बल्ल नाली थप गरिएको थियो ।

तर मन्त्रालयले नाली थप गरि भेरिफिकेसन अर्डर स्वीकृत नगर्दा निर्माण कम्पनीले आलटाल गर्ने अवसर पाएको छ । मरासिनीका अनुसार भेरिफिकेसन अर्डर सडक विभागले स्वीकृत गरि मन्त्रालयमा पठाए पनि त्यहाँबाट अगाडी बढ्न सकेको छैन । कम्पनीले नेताहरुको आडमा मन्त्रालयका अधिकारीहरुलाई नटेरेको भन्दै रुष्ट भएपछि फाईल अड्काएको मन्त्रालयका कर्मचारीहरु नै बताउछन् । उक्त कम्पनीले बुटवलमा मात्र होईन बेलहिया बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाको अन्य दुई खण्डको सडक निर्माण समेत अलपत्र पारेको छ ।

बुटवल तर्फको सडक सँगै ठेक्का सम्झौता गरिएको भैरहवातर्फ बेलहियादेखि बाईपास सम्मको ७ सय ५० मिटर सडकको निर्माण पनि अलपत्र छ । निर्माण व्यवसायी सुमित श्रेष्ठकै स्वामित्वमा रहेको विरुवा कन्ट्रक्सन प्रालिले १७ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको उक्त खण्डमा सुरुदेखि नै कुनै अवरोध नभएपनि अहिलेसम्म निर्माण पूरा भएको छैन ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।