ताजा अपडेट »

पत्रकारहरुनै विधानविपरित राजनीतिक दलको नेतृत्वमा, कसले गर्ने कारवाही ?

सोमबार, १३ मंसिर २०७८, १८ : ३०
18 Shares

बुटवल । नेपाल पत्रकार महासंघको विधानलाई महासंघ पदाधिकारीहरुले नै उल्लंघन गरेका छन् । महासंघको विधान विपरित पत्रकारहरु नै विभिन्न राजनीतिक दलको नेतृत्वमा निर्वाचित हुने क्रम बढेपछि स्वतन्त्र प्रेसमाथि नै प्रश्न उठेको छ ।

पत्रकार महासंघ लुम्बिनीका अध्यक्षले विधानको खिल्लि उडाउँदै नेकपा माओवादी केन्द्रको गाउँपालिका अध्यक्ष भए । उनी एकीकृत माओवादी बुद्धभूमि नगरपालिका कपिलवस्तुको अध्यक्ष भएका हुन् । यद्यपी सामाजिक सञ्जाल लगायतमा आलोचना बढ्न थालेपछि अध्यक्ष भएको समाचार आएको दिननै फेसबुकमार्फत पार्टीको उक्त पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् । कपिलबस्तुबाट महासंघ प्रदेश सदस्य रहेका चिन्ता परियार नेकपा माओवादी केन्द्र शिवनगर कमिटीको उपाध्यक्ष भएका छन् । यसैगरी महासंघका सदस्य चन्द्रकान्त न्यौपाने माधव नेपाल नेतृत्वको नेकपा एकीकृत (समाजवादी) निकट युवा संगठनको लुम्बिनी प्रदेश संयोजक रहेका छन्।

नेपाल पत्रकार महासंघको विधान २०६० को (पाँचौ संसोधन २०७६) अनुसार ‘महासंघका केन्द्रीय समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न पाउने छैन ।’–भन्ने व्यवस्था गरिएको छ । लामो समय महासंघमा आवद्ध भई काम गरेका अग्रजहरुले नै नियम विपरित राजनीतिक दलको नेतृत्वमा पुगेका छन् । यसैगरी नियमन र सचेत गराउने महासंघका पदाधिकारीहरु नै खुलेरै राजनीतिक दलको नेतृत्व तहमा काम गर्ने प्रवृत्तिले बेला–बेलामा उठ्ने गरेको शुद्धिकरण अभियान पनि सेलाउने गरेका छन् ।

रुपन्देहीका पूर्व सभापतिहरु दलका नेतै–नेता
नेपाल पत्रकार महासंघ रुपन्देहीका संस्थापक अध्यक्ष बालकृष्ण चापागाईं महासंघको विधान विपरित राजनीतिक दलको नेतृत्व गरिरहेका छन्। उनी नेकपा एकीकृत (समाजवादी) को केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज हुन् । राजनीतिक दलमा खुलेर नेतृत्व गरिरहे पनि महासंघको सदस्यता कायम नै रहेको छ । यसैगरी पूर्व अध्यक्ष हरी लम्साल नेपाली काँग्रेस रुपन्देही–२ को क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन् । महासंघ रुपन्देही शाखाका पूर्व अध्यक्ष मोहन चापागाई नेकपा एमालेका जिल्ला कमिटि सदस्य हुन् । चितवनमा जारी एमाले १० औं महाधिवेशनको प्रतिनिधि भएर त्यहाँ पुगेका छन् । पूर्व अध्यक्ष विनोद पहाडी नेकपा माओवादी केन्द्रका केन्द्रीय अनुशासन आयोगको सदस्य हुन् ।

यसैगरी पत्रकार खिमानन्द भट्टराई नेपाली काँग्रेस प्रदेशसभा प्रतिनिधिमा निर्वाचित भएका छन् । पत्रकार महासंघका सदस्य सिद्धिचरण भट्टराई पनि नेकपा एकीकृत (समाजवादी)को केन्द्रीय सदस्य तथा रुपन्देही सह– इन्चार्ज हुन् । पुराना पुुस्ता मात्रै होइन महासंघका नयाँ पुस्ता समेत राजनीतिक दलको नेतृत्वमा पुगेका छन् । पत्रकार महासंघ रुपन्देहीको जिल्ला कार्यसमितिमा रहेकी हरिकला पाण्डे (कमला) नेपाली काँग्रेस रुपन्देहीको जिल्ला सदस्य भएकी छन् । विधान विपरित कार्यसमिति सदस्यमा रहेको व्यक्तिनै राजनीतिक दलको नेतृत्व गर्न पुग्दा महासंघ रुपन्देही शाखा भने मौन छ । यसैगरी रुपन्देहीबाट महासंघको सदस्य रहेका अमृत पाण्डे नेपाली काँग्रेस स्याङ्जाबाट क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका छन् । महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डे, महासंघका साधारण सदस्य महेन्द्र थापा लगाएतका पत्रकारहरु समेत काँग्रेसको प्रतिनिधि चयन भएका छन् । यसैगरी महासंघको सदस्यता लिएका मनिकर कार्की जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य हुन् ।

यो समस्या रुपन्देहीमा मात्र होइन अन्य जिल्लाहरुमा पनि उस्तै छ । महासंघ अर्घाखाँचीका पूर्व सचिव सूर्यप्रसाद भुसाल काँग्रेस जिल्ला कार्यसमिति सदस्य भएका छन् । यसैगरी अर्घाखाँचीबाटै पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य भएका प्रेमनारायण आचार्य काँग्रेस लुम्बिनी प्रदेश प्रतिनिधि चयन भएका छन् । उनी काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अर्घाखाँची प्रदेशसभा क्षेत्र ‘क’बाट प्रतिनिधि निर्वाचित भएका हुन् । पत्रकार लक्षमण घिमिरे नेपाली काँग्रेस भूमिकास्थान नगरपालिका–९ को वडा सचिव भएका छन् । त्यसैगरी महासंघ अर्घाखँचीको सहसचिव हृदय भुसाल नेकपा एकिकृत समाजवादी दलका जिल्ला सदस्य रहेका छन् । रुपन्देही कार्यक्षेत्र भए पनि अर्घाखाँचीबाट महासंघ सदस्य रहेका पत्रकार विष्णु भुसाल नेपाली काँग्रेसको महाधिवेशन अन्तरगत प्रदेश प्रतिनिधिको चुनावमा पराजित भएका छन्।

पाल्पामा पनि पत्रकारिताको खोल ओढेर राजनीति
पाल्पामा पत्रकार महासंघका पूर्व सभापति झपेन्द्र गैरे नेपाली काँग्रेस पाल्पाको उपसभापति हुन् । महासंघको सदस्यता नत्यागे पनि उनी सक्रिय रुपमै राजनीतिमा लागेका छन् । यसैगरी पत्रकार जगदिश भट्टराई गुल्मीमा नेपाली काँग्रेसको अधिवेशन प्रतिनिधिमा चुनाव लडेर पराजित व्यहोरेका थिए । उनी पनि खुलेर राजनीतिमा लागेका व्यक्ति हुन् । महासंघ पाल्पाका निर्वतमान अध्यक्ष राजेशकुमार अर्याल नेकपा एमालेको १०औं महाधिवेशनमा प्रतिनिधि छनोट भएर सहभागि भएका छन् । यस्तै पत्रकार महासंघ पाल्पाका पूर्व कोषाध्यक्ष माधव अर्याल नेपाली कांग्रेसको रामपुर नगरपालिका वडा नम्बर ९ जबगादीबाट क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । पत्रकार महासंघ पाल्पाका निर्वातमान कोषाध्यक्ष मिलन विश्वकर्मा नेकपा एमाले पाल्पाको सचिवालय सदस्य रहेका छन् ।

पत्रकार सिता डोटेल काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत महाविधेशन प्रतिनिधिका लागि उम्मेद्वार बनेकी थिइन् । पत्रकार शंकर भण्डारी पाल्पा क्षेत्र नम्बर २ को ‘ख’ मा प्रदेशसभा सचिवमा निर्वाचित भएका छन् । उनी महासंघको पूर्व कोषाध्यक्ष समेत हुन् । यसैगरी पत्रकार गुँरास आत्रेय तानसेन नगरकमितिको अध्यक्ष भएका छन् । पत्रकार पदम गैरे एकीकृत समाजवादीको जिल्ला कमिटिको सदस्य भएका छन् । महासंघकै सदस्य बन्धना पोखरेल एमाले जिल्ला कमिटी सदस्य हुन् ।

बाँकेमा महासंघका अध्यक्षनै काँग्रेसको क्षेत्रीय प्रतिनिधि
लुम्बिनीको बाँकेमा गाउँपालिका अध्यक्ष नै पत्रकार छन् । स्थानीय निकाय निर्वाचनमा नेकपा एमालेको तर्फबाट डुडुवा गाउँपालिका अध्यक्ष भएका सकिल अहमद अहिले पनि महासंघको सदस्य छन् । उनले महासंघबाट राजीनामा दिएको भएपनि हालसम्म स्वीकृत भने भएको छैन। पत्रकार महासंघका अध्यक्ष नै खुलेर राजनीतिमा लागेका छन् । अध्यक्ष दामोदर भण्डारी नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि चयन भएका छन्।
बाँकेबाट नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत विभिन्न तहको प्रतिनिधिमा पत्रकारहरु विजयी भएका छन् । महासंघका पूर्व केन्द्रीय महासचिव पोषण केसी कांग्रेसको क्षेत्रीय सभापति छन्। यसैगरी कांग्रे्रसको महाधिवेशन अन्तरगत निर्वाचित हुने पत्रकारहरुमा कमला हमाल महाधिवेशन प्रतिनिधि, नरेन्द्र थापा क्षेत्रीय प्रतिनिधि, मेघराज वली महाधिवेशन प्रतिनिधि, कमल खत्री प्रदेशको क्षेत्रीय अधिवेशन प्रतिनिधि, सुशिल सापकोटा कोहलपुर नगरको उपसभापति चयन भएका छन् । यसैगरी महासंघका केन्द्रीय सदस्य तथा बाँकेका पूर्व जिल्ला सभापति प्रेम केसी काँग्रेसकै प्रदेश अधिवेशन प्रतिनिधि भएका छन् । यस्तै नेकपा माओवादी केन्द्रमा महासंका सदस्य राजेश आचार्य नेपालगञ्ज वडा नम्बर ६ को अध्यक्ष निर्वाचित भएका छन् ।

लुम्बिनी प्रदेशकै दाङमा नेपाल पत्रकार महासंघ दाङ शाखाका सचिव आरके शितल नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर २ बाट क्षेत्रीय सचिव भएका छन् । पत्रकार महासंघ दाङका कोषाध्यक्ष सरद रेग्मी नेपाली कांग्रेस क्षेत्र नम्बर ३ को क्षेत्रीय प्रतिनिधि भएका छन् । पत्रकार सुरेश श्रेष्ठ काँग्रेसकै जिल्ला सदस्य भएका छन् । पत्रकार देविराम खुसारी काँग्रेसको क्षेत्रीय प्रतिनिधिमा उम्मेदवार उठे पनि हार व्यहोरेका थिए । महासंघका सदस्य रहेका पत्रकार शरद रेग्मी पनि काँग्रेसको क्षेत्रीय प्रतिनिधि भएका छन्।

यसैगरी गुल्मीमा महासंघ कोषाध्यक्ष कौरव खत्री नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । यस्तै पत्रकार रेशम कुँवर काँग्रेसको जिल्ला सहसचिवमा उम्मेद्वार भई उठेका थिए । उनि निर्वाचनमा पराजित भएका छन् । जिल्लामा अन्य पत्रकारहरु पनि खुलेरै राजनीतिमा लाग्ने गरेको त्यहाँका एक पत्रकारले बताए । आफ्ना नाम खुलाउन नचाहने उनले अधिकांश पत्रकारहरु पत्रकारिता कम पार्टीको नेतृत्व र गतिविधि बढी गर्ने गरेको गुनासो गरे । यहाँ उल्लेख गरिएका केही प्रतिनिधि पात्रहरु मात्रै हुन् । यसरी स्वतन्त्र प्रेसमाथि नै प्रश्न उठ्नेगरी विभिन्न दलको नेतृत्मा लागेर खुला राजनीति गर्नेहरुले महासंघको गरिमालाई नै कमोजर बनाएको छ ।

२०७८ भदौ ९ गते मकवानपुरको दामन बैठकबाट पारित महासंघको तीन वर्षे कार्ययोजनाको बुँदा ३.५ मा ‘राजनीतिक दलको प्रचार विभाग वा प्रेस हेर्नेगरी बनेका समितिहरुमा रहेका महासंघका सदस्यको हकमा बाहेक राजनीतिक दलको कार्यकारी भूमिकामा काम गरिरहेकाहरुको सदस्यता महासंघको विधानअनुसार मान्य नहुने भएकाले खारेज गरिने छ ।’ भनि उल्लेख गरिएको छ । उक्त बुँदालाई आधार मान्दै महासंघले मंसिर ५ गते एक विज्ञप्ति जारी गरी विधान विपरित जाने सदस्यहरुलाई कारबाही गरिने उल्लेख गरे पनि कार्यान्वयन भने हुन सकेको छैन । महासंघका महासचिव रोशन पुरीद्वारा हस्ताक्षरीत उक्त विज्ञप्तिमा विधान विपरित गर्ने सदस्यहरुको सदस्यतानै खारेज गर्न सकिने उल्लेख गरिए पनि कार्यान्वयन तहमा भने मुकदर्शक बन्न पुगेको छ ।

पत्रकार महासंघ लुम्बिनीका महासचिव विक्रम खड्काले संगठनको नियम मान्ने सबैको कर्तव्य र दायित्व भएको बताउँछन् । पत्रकारहरुले आफ्नो नैतिकता देखाएर नियमको पालना गर्नुपर्ने उनको धारणा छ । महासंघको विधान विपरित जानेहरुलाई यसअघि नै विभिन्न माध्यमबाट सचेत गराइएको बताउँदै उनले विधान विपरित जानेहरुको बारेमा छलफल भइरहेको बताए । महासंघ विरुद्ध जानेहरुको तथ्यांक संकलन गर्ने काम भइरहेको बताउँदै उनले आवश्यक कारबाही प्रक्रियामा जाने प्रतिवद्धता जनाए ।

यसैगरी पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले नैतिकताको प्रश्न सबैभन्दा बढी र गम्भीर रुपले उठेको बताउँछन् । महासंघको प्रदेश तथा केन्द्रसँग आवश्यक समन्वय गरी अघि बढ्ने बताउँदै उनले केन्द्रदेखि नै शुद्धिकरणको कदम चाल्न आवश्यक रहेको उल्लेख गरे । समय–समयमा शुद्धिकरणको प्रश्न उठे पनि यसका लागि स्वयम् पत्रकारहरुले नै नैतिकता प्रस्तुत गर्न सक्नुपर्ने उनले बताए ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।