ताजा अपडेट »

छल्ने भूत !

मंगलबार, १४ मंसिर २०७८, ०७ : ४६
8 Shares

भसम्झिन्छु बच्चाबेला हजुरबुबाले भन्नुहुन्थ्यो–‘राति–राति हिड्ने मान्छेलाई भूतले छल्छ ।’ मैले सोध्ने गर्थे–‘यो भूत भन्ने कस्तो हुन्छ वुबा ?’ साच्चिकै भएझै, हुनेझै उहाँले भन्नुहुन्थ्यो ‘उहिले हामी पारीगाउँ पुजामा जाँदा पूजा, विवाह रातिमा हुन्थे । फर्किदा बाटोमा सेतो न सेतो अल्को भूत हिडेको देखिम एकैछिनमा बिलायो !’ विचरा मेरो बाल मस्तिष्कले त्यो दृश्य परिकल्पना गर्न भ्याइसकेको थियो । अनि अरूबेला कहाँ देख्नुुभो भन्दा, ‘देखिन तर भूतले छलेका मान्छे धेरै देखेको छु ।’ भन्नुभयो । खै पुराना मान्छे पुराना कुरा ।

सङ्गैकि एउटी साथी एकदिन एक्कासि बिरामी भइन् । साझको बेला हेराउन फुकाउन भनि उनलाई लिएर हिँडेको देखे । उनी एकदमै डराएकी थिइन् । आफ्नो दिदीसङ्गै थिइन उनि । दिदीले भन्दै हुनुहुन्थ्यो ‘चार बजेतिर बजार गाको फर्किएपछि हल्का टाउको दुख्यो भनिन् अनि रुने डराउने गर्न थालिन ।’ उनी (मेरी साथी) साच्चिकै, बेस्सरी डराएकी थिइन् । लाग्थ्यो उनको अगाडि बडो डरलाग्दो दृश्य या मान्छे छ जस्तो । आफ्नी दिदीलाई अठ्याएर छोपेकी उनले डराउँदै ‘मलाई लगे’ भन्दै चिच्याउथिन् । धामि कहाँ हेराउँदा भूतले छलेको भन्ने भयो । धामिको तन्त्र–मन्त्रपछि भने खै के–केबाट उनी ठिक भइन् ।

स्कूलमा सरहरुले भन्नुहुन्थ्यो ‘भूूत–सुत’ केही हुँदैन, सब भनाई हो । अनि हजुरबुबा पछिका पुस्ता बाबा–आमाले पनि धेरै विश्वास गरेजस्तो लाग्थेन । कहिलेकाही टेलिभिजनमा सिनेमा हेर्दा कालाकारहरु मरेर भूत बनेको देखियो त्यहिँ हो ।

स्कूलमै नेपाली ब्याकरण पढ्दै गर्दा फेरि भुत आयो त्यो भुत हजुरबुबा र शाथिले देखेको जस्तो थिएन । उहाँले समयका (कालका पक्षहरू) भुत भन्नुभएको थियोे । ब्याख्या गर्दै बितेको समयलाई भुत भनिन्छ र अहिले चलिरहेको समयलाई वर्तमान… म सरले पढाएको भुतलाई वर्तमानमा सम्झिरहेकी छु ।

समय निरन्तर छ, चलिरहने । बगिरहेने खोला पानीबाट बनेको हिउँ, हिउँबाट पग्लेर झरेको पानी समुन्द्रमा पुगेर पुनः वाफ, बादल, हिउँ बनि खोलामा फर्किन सक्छ तर समय फर्किदैन फर्किन्छ त केवल याद र सम्झना बनेर । केही मीठा केही तीता बनेर ।

हिँडिरहेको समयले प्रत्येक वर्तमानलाई भुत बनाइरहेको छ । भुतलाई सम्झेर वर्तमान बिगार्नु वुद्धिमानी नहुँदा-नहुँदै पनि विवेकशील प्राणी बनाई सम्झिने मस्तिष्कले बनेको मानव जिवनलाई, राम्रा भुतलाई सम्झिन समय लागे पनि नराम्रा भुत कहिल्यै कुनै वर्तमानमा मेटिदैनन् । सायद नसम्झिन पाए हुन्थ्यो भन्ने कुरा झन सम्झिन्छ मनले । त्यसैले होला मनलाई पापी उपसर्ग राखि पापी मन भनेको ।

त्यसैले प्रत्येक मानिसले आफूमा यो ज्ञान राख्न आवश्यक छ कि हाम्रा हरेक नराम्रा क्रियाकलाप सबैले भुत बनी आउने भविष्यमा कहिले रुवाउछन्, कहिले डराउन दिन्छन्, कहिले दुःखित बनाउछन् । भविष्य राम्रो बनाउन, खुशी बनाउन भुत पनि राम्रो हुनुपर्छ । प्रत्येक वर्तमान भुतमा परिणत भैरहेको छ । सायद बच्चैदेखि यति सोच्न सक्ने सबै भैदिएको भए विगत सबैका सुन्दर हुन्थे होला र विगत सम्झेर कोहि नराम्रो मान्ने थिएनन् होला ।

सबैका वर्तमानमका क्रियाकलाप साचो हुन्, सत्य हुन् र दिर्घकालीन हुन् । त्यसपछि स्वतः विगत पनि साचो सुन्दर र निरन्तर बग्दै अघि बढ्छ, अनि मुस्कुराउँछ हृदय सत्य बनेर, नफेरिएको देखेर । कसैको नराम्रो भुतले कसैलाई नछलोस । विगतमा बनेका सबै यात्रा सम्बन्ध चोखा हुन, दिर्घकालीन हुन सक्ने हुन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।