ताजा अपडेट »

टेलिफोन सेवा नपुगेको नाका क्षेत्रमा इन्टरनेट जडान

शुक्रबार, ०३ मंसिर २०७८, १९ : ५५
16 Shares

दाङ । दाङको भारतसंँग सिमा जोडिएको नाका क्षेत्रमा अझै पनि टेलिफोन सेवा पुग्न नसकेपनि इन्टरनेट सेवासंँग भने जोडिएको छ । जिल्लाको विकट क्षेत्र मानिने राजपुर गाउँपालिकाको वडा नं. ७ को शिवसक्ति मावि भौवानाकामा बिहिवार इन्टरनेट जोडिएसँगै उक्त क्षेत्र इन्टरनेट संजालमा जोडिएको हो ।

सूचना तथा संचार क्षेत्रबाट पूर्ण रुपमा टाढा रहेको यस क्षेत्रमा बिद्यालयमा इन्टरनेट पुग्दा स्थानीयसंगै शिक्षक विद्यार्थीहरु हर्षित भएका छन् । इन्टरनेट जडानसंगै बिद्यालयको सिकाइ प्रक्रियामा अब प्रविधिमैत्री बन्ने विद्यालयका प्रधानाध्यापक लिलाधर विकले बताए ।

‘विश्व इन्टरनेट संजालमा छन् फोर जी/फाईभ जीको चरणमा रहेपनि हामी इन्टरनेटको दुनियाँ त पर दैनिक समाचारसम्म सुन्न सक्दैनौ । कार्यालयको काम या आफन्त जनसँग सम्पर्क गर्न पनि की भारतीय सीमा या १/२ घण्टा उकालो चढ्नु हाम्रो बाध्यता अब भने हराएको छ । हामी पनि सूचना र प्रविधिसंग जोडिन पाएका छौँ हाम्रो बिद्यालय पनि अब प्रबिधिमा आधारित भएर पठनपाठन गर्न सम्भव भएको छ ।’ उनले भने ।

नेपाल दुरसंचार प्राधिकरणको योजना अनुसार दाङको सबै माध्यमिक बिद्यालयमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने कार्यक्रम अन्तर्गत यो सम्भव भएको बिद्यालयका अध्यक्ष श्यामबहादुर झाक्रीले बताए । उनका अनुसार प्राधिकरणको यस कार्यका लागि ठेक्का लिएको इन्टरनेट सेवा प्रदायक संस्था टेकमाइन्डस नेटवर्क नारायणगढले बाँकेको राप्ती सोनारी गाउँपालिकाको कुसुम हुँदै दाङको राजपुर गाउँपालिकाको भौवानाकासम्म इन्टरनेट र्पुयएको हो । तर बिद्यालयमा इन्टरनेट पुगे पनि दिगो नहुन सक्ने कुरामा चिन्तित भएको अध्यक्षले बताए ।

बाँकेको राप्ती सिनारी गाउँपालिका देखि राजपुरको नाकासम्म पुग्न १६ किलोमिटर जंगलको बाटो पर्ने र त्यस क्षेत्रमा पोल नहुँदा रुखको सहारामा १६ किमि फाइबर तार लगिएकोले गर्मीमा डढेलोले बर्षामा पहिरो र रुख ढल्ने समस्याले फाइबर चुडिने जल्ने समस्याले इन्टरनेट निरन्तर हुन नसक्नेमा आफू चिन्तित भएको अध्यक्षको भनाइ छ । ‘यस समस्याको समाधानको लागि सम्बन्धित निकायले ले बेलैमा ध्यान दिनु पर्नछ ।’ उनले सुझाव दिए । बिद्यालयमा इन्टरनेट पुगे पनि स्थानीयवासीले भने घरघरमा इन्टरनेट जोड्न अझै समय लाग्ने टेकमाइन्डस नेटवर्कले बताएको छ । पहिलो चरणमा बिद्यालय, स्वास्थ्य संस्था र वडामा बिस्तार गर्ने आफूहरुको जिम्मा पाएकोले यी क्षेत्रमा बिस्तारपछि मात्रै स्थानीय ग्राहकलाई इन्टरनेट प्रदान गरिने टेकमाइन्डसले जनाएको छ ।

नाका क्षेत्रफलकै पहिलो मावि भौवानाकामा २०६९ सालदेखि कक्षा ६ देखि ८ सम्म कम्प्युटर शिक्षा पढाउँदै आए पनि इन्टरनेट नहुँदा सूचना र प्रविधि तथा सामाजिक संजाल बारे अनविज्ञ रहेका छन् ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी