ताजा अपडेट »

रोल्पा बस दुर्घटना : मृतक ४ मध्ये १ जनाको सनाखत, १९ घाइते

विहीबार, ०२ मंसिर २०७८, २२ : ४१
14 Shares

दाङ । दाङको घोराहीबाट रोल्पाको थवाङ जाँदै गरेको बस दुर्घटनामा मृत्यु भएका ४ जना मध्ये एकको सनाखत भएको छ । सनाखत हुनेमा चालक परिवर्तन गाउँपालिका ४ का ४० वर्षिय बिरमान बुढामगरको रहेका छ भने अन्य ३ जनाको नभएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

ना ३ ख ५५१८ नम्बरको बस आज (बिहीबार) बेलुका साढे ६ बजे रोल्पाको माडी गाउँपालिका २ तार्केवाङमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो । बस सडकबाट माडी नदीमा खसेको थियो । इलाका प्रहरी कार्यालय घर्ती गाउँका अनुसार मृत्यु हुनेमा ३ जना पुरुष र एक जना महिला छन् । घाइते १९ जना मध्ये ११ जनाको मात्र परिचय खुलेको छ । अझै ८ जनाका परिचय खुलेको छैन ।

परिचय खुलेका मध्ये रोल्पाको परिवर्तन गाउँपालिका वडा नं. ६ का १६ वर्षीय सजन पुन, सोही ठाउँकै २१ वर्षीया भिम कुमारी पुन, ३७ वर्षीय तेज बहादुर पुन र वडा नंं २ का २१ वर्षीया अनिता बुढा रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीकाअनुसार परिवर्तन गाउँपालिका वडा नं. २ कै २६ वर्षीया विमा बुढा मगर, वडा नं. ५ का ३४ वर्षीय कर्मराज रोका, वर्ष २१ का हर्कमान रोका र रोल्पा थवाङ गाउँपालिका ३ की १२ वर्षीया कविता बुढा मगर रहेका छन् ।

दुर्घटनामा दाङका पनि घाइते भएका छन् । घाइते हुनेहरुमा घोराही उपमहानगरपालिका डम्बर गाउँ बस्ने वर्ष १० का एनबस रोका मगर, घोराही १३ बस्ने वर्ष २५ की आशा बोहोरा र वर्ष १६ का किरन घर्ती मगर रहेका छन् । घटनापश्चात बसमा तत्काल बसमा यात्रुको संख्या कम रहेको आशंका रहेको थियो । यद्यपी प्रहरी घटना स्थलमै भएतापनि पूरा विवरण र तथ्यांक भने आउन सकेको छैन ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी