ताजा अपडेट »

‘खुल्ला दिसामुक्त’ भएको २ वर्षमा पनि उस्तै : खुलादिसाकै कारण कपिलबस्तुमा हैजा !

सोमबार, २९ कार्तिक २०७८, १४ : २४
38 Shares
सोमबार, २९ कार्तिक २०७८
38 Shares

बुटवल । खुल्ला दिसामुक्त जिल्ला घोषणा भएको कपिलवस्तुमा विगत २ महिनादेखि फैलिएको हैजाको प्रमुख कारण ‘खुल्ला दिसायुक्त’ हुनु देखिएको छ । २ वर्षअघि मुलुकलाई नै खुला दिसामुक्त घोषणा गरिएको भएपनि कपिलबस्तुमा फैलिएको झाडापखाला तथा हैजाको प्रमुख कारण चर्पिको प्रयोग नगर्ने समस्याले गम्भीर प्रश्न उठाएको छ ।

२०७६ साल भदौ ३१ गते तामझामका साथ खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको कपिलबस्तुका ५ पालिकामा हैजा फैलिनुको प्रमुख कारण नै खुला दिसायुक्त भएको लुम्बिनी प्रदेश जनस्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । त्यस ठाउँमा खुला चौरमा सौच गर्ने बानीले हैजा फैलिन सहयोग पुगेको निर्देशनालयका प्रवक्ता डा. रोशनलाल चौधरीले बताए । जिल्लाको कृष्णनगर नगरपालिकामा गत असोज १८ गतेदेखि फैलिएको झाडापखालाबाट छिमेकी पालिकाहरु महाराजगञ्ज नगरपालिका, शिवराज नगरपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिका प्रभावित बनेको छ ।

जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्नुभन्दा २ दिनअघि खुल्ला दिसामुक्त नगर घोषणा भएको कृष्णनगरको वडा नम्बर ७, ८ र ९ बाट हैजा फैलिएको हो । पूर्व कृषि राज्यमन्त्री सुरेन्द्रराज आचार्य र नगरप्रमुख रजतप्रताप शाहले भब्य कार्यक्रमको आयोजना गरी २०७६ भदौ २९ गते खुल्ला दिसामुक्त नगर घोषण गरेका थिए । गैर सरकारी संस्थाहरु यूनिसेफ, सु-आहारा लगायतका संस्थाहरुले समेत नगरलाई खुल्ला दिसामुक्त घोषण गर्न कार्यक्रमहरु गरेका थिए ।

नगरमा हैजा फैलिनुमा चर्पिको प्रयोग नगर्नु नै प्रमुख कारण भएको नगर प्रमुख शाहले बताए । ९५ प्रतिशत जनताको घरमा शौचालय भए पनि त्यसको प्रयोग नगर्दा समस्या हुने गरेको उनले गुनासो गरे । मधेशी समुदायको बाहुल्यता रहेको उक्त नगरमा विशेषगरी महिलाहरुले सौचालयको प्रयोग गर्न संकोच मान्ने गरेको उनले बताए । थप सचेतनाको अभाव भएको स्वीकार गर्दै नगर प्रमुख शाहले कार्यक्रम सञ्चालन गरिने बताए ।

६ नगरपालिका र ४ गाउँपालिका गरी १० वटा स्थानीय तहहरु रहेको कपिलबस्तुमा ९१ हजार ३ सय २१ घर धुरीमा शौचालय निर्माण भएपछि ‘खुल्ला दिसामुक्त’ घोषणा गरिएको थियो । जिल्लामा २०६७ सालदेखि सरसफाई तथा स्वच्छता अभियान सञ्चालन भएको ११ वर्षपछि ७६ सालमा खुल्ला दिसामुक्त घोषणा गरिएको थियो । तत्कालिन लुम्बिनी प्रदेशप्रमुख उमाकान्त झाले साबुनपानीले हात धोएर तामझामसहित ‘खुला दिसामुक्त’ घोषणा गरिएको जिल्लामा प्रतिवद्धता अनुसार काम नहुँदा हैजा फैलिएको छ ।

ग्लोबल आवाजसँग कुरा गर्दै लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता चौधरीले भने ‘हामीले गरेको प्रारम्भिक अध्ययन तथा ल्याप परीक्षणको रिपोर्ट अनुसार हैजा फैलिनुको प्रमुख कारण नै चर्पिको प्रयोग नगर्ने देखिएका छ ।’ मानिसहरुले खुला ठाउँमा जथाभाबि सौच गर्दा हैजा रोग फैलिएको पाइएपछि त्यस क्षेत्रमा सचेतनाका कार्यक्रमहरु भइरहेको उनले बताए । मानिसहरुले सौचालय भएर पनि प्रयोग नगर्ने बानीले रोग फैलिन सक्ने खतरा बढिरहेको उनले बताए ।

दुई महिनादेखि फैलिएको हैजाको कारण हालसम्म १ हजार ३६४ जना प्रभावित भएका छन्, जसमध्ये १ हजार ३६२ जना निको भएको र २ जना उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

‘दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त देश’
नेपाल दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त देश बनेको २ वर्ष पूरा भएको छ । खुला दिसामुक्तको मानक पूरा गर्ने नेपाललाई २०७६ असोज १३ गते सोमबारका दिन ‘खुला दिसामुक्त देश’ देश घोषणा गरिएको थियो ।

खुला दिसामुक्त देश घोषणासँगै नेपालको पूर्ण सरसफाइसम्बन्धी पहिलो र महत्वपूर्ण राष्ट्रिय लक्ष्य तथा अन्तर्राष्ट्रिय प्रतिबद्धतासमेत पूरा गरेको मानिए पनि व्यवहारिक प्रयोगमा भने समस्या देखिने गरेका छन् । सरकारले खुला दिसामुक्त हुनका लागि २०६८ सालमा तयार पारेको सरसफाइ गुरुयोजनाअनुसार ‘खुल्ला दिसामुक्त भन्नाले खुल्ला रुपमा दिसा नगर्ने अवस्थालाई बुझिन्छ । दिसामा झिँगा बस्न नसक्ने गरी खाल्डोमा ढक्कन लगाइएको अवस्थाले (चर्पीमा) खुल्ला दिसामुक्त जनाउँदछ । तर ढक्कन नभएको खाल्डोमा दिसा संकलन गरेपछि त्यस अवस्थाले चाहिँ खुल्ला दिसायुक्त अवस्था नै जनाउँदछ ।’

राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका अनुसार २०७६ असोज १३ गतेसम्म देशभर ५६ लाख ६० हजार २१४ घरधुरीमा शौचालय बनेका थिए । प्रदेश १ मा ९ लाख ६५ हजार २७२, प्रदेश २ मा ९ लाख ३३ हजार ६४९ र बागमती प्रदेशमा १६ लाख २२ हजार १९३ घरधुरीमा शौचालय बनेको तथ्याङ्क सार्वजनिक गरिएको थियो ।

यसैगरी, गण्डकी प्रदेशमा पाँच लाख ४८ हजार २१०, लुम्बिनी सात लाख ९३ हजार ९९०, कर्णाली प्रदेशमा तीन लाख सात हजार ९६५ र सुदूरपश्चिम प्रदेशमा चार लाख ८९ हजार १२ घरधुरीमा शौचालय बनेको तथ्याङक सार्वजनिक गरिएको थियो ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।