ताजा अपडेट »

बुटवलमा एक महिनामै तरकारीको मूल्य दोब्बरले वृद्धि, उपभोक्ता मर्कामा

आइतबार, २८ कार्तिक २०७८, १८ : ३०
16 Shares

बुटवल । ग्यास र पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सबैको ध्यानाकर्षण भएको छ । मूल्यवृद्धिको विरोध तथा आन्दोलन भइरहेका छन्। चौतफी रुपमा मूल्यवृद्धि फिर्ता लिन माग गरिएको छ । अझै यसै विषयमा नेपाल बन्दकै घोषणा भएको छ । यता दैनिक उपभोग्य तरकारीको महङ्गाइले ‘ आकाशनै छोएको छ।’ दैनिक जीवनमा अत्यावश्यक तरकारी महङ्गीदा उपभोक्ता मर्कामा परेका छन् । तर,यस विषयमा सरोकारवाला भने मौन छन् ।

बुटवलको हाट बजारमा तरकारी लगाएत दैनिक उपभोग्य साम्रगी किन्न गएका राजेश पाण्डे बजारको मूल्य सुन्दा अब कसरी भान्सा चलाउने भन्ने चिन्ता भएको बताउँछन् । उनी भन्छन् ‘हामी जस्ता निम्न आय र कमाई गर्ने नागरिकले यस्तै हो भने त कसरी जीवन निर्वाह गर्ने ।’

यस्तै हाटबजरमा नै भान्साका लागि आवश्यक सामान किन्न गएकी सिता घिमिरेले पनि उस्तै व्यथा सुनाउँन्छिन् । यी त केवल प्रतिनिधिमूलक पात्र मात्रै हुन्। बुटवलको हाटबजारमा दैनिक उपभोग्य सामग्री खरिद गर्न गएका निम्न आय भएका धेरै नागरिकको समस्या र व्यथा त उस्तै छ ।

धेरै आम्दानी भएकालाई बजारको महङ्गीले असार नगरे पनि निम्न आम्दानीको स्रोत भएका नागरिकलाई महङ्गीले नराम्रोसँग ढाड सेकेको छ। गत वर्षको तुलनामा शतप्रतिशत नै मूल्य बृद्धि हुँदा उही आम्दानीले घर धान्नु परेको छ ।

दशंै तिहारपछि महङ्गी कम हुने आश गरेका निम्न आय भएका नागरिकलाई झन मूल्य बढेपछि समस्या परेका छन् । तरकारीको मूल्य १ महिनामै दोब्बरले बढेको छ । कात्तिकको पहिलो हप्ताको तुलनामा अहिले तरकारीको मूल्य दोब्बरले बढेको हो।

सिमी, भिन्डी, घिरौंला लगायतको मूल्य दोब्बर रुपमा नै वृद्धि भएको छ । बुटवल कृषि उपज तथा कृषि बजारका अनुसार कात्तिक १ गते प्रतिकिलो ७० रुपियाँमा बिक्रि भएको सिमीको मूल्य आइतबार बढेर १३५ रुपियाँ भएको छ भने कात्तिकको सुरुमा ३७ रुपियाँ पर्ने लोकाको मूल्य बढेर अहिले ७३ रुपियाँ पुगेको छ ।

यस्तै कात्तिक १ गते प्रतिकिलो ४२ रुपियाँमा कारोबार भएको भिन्डीको मूल्य बढेर १०० रुपियाँ पुगेको छ । कृषि उपज तथा कृषि बजारको तथ्याङ्क अनुसार कात्तिकको पहिलो दिन वोडि प्रतिकिलो ८०, रातो आलु ३३, सेतो आलु ३२, प्याज ६८, लसुन १६६, अदुवा ५०, घिरौला ८५, भान्टा ३२, खुसार्नी ८०, टमाटर ९०, फर्सी २०, बन्दा गोपि २५, फुल गोपि ८०, मुला ६५, गाजर, ११०, पिडालु ३०, करेला ५५ रुपियाँमा कारोबार भएको थियो ।

आइतबार भने वोडि प्रतिकिलो १४०, रातो आलु ४०, सेतो आलु ४३, प्याज ५६, लसुन १६९, अदुवा ५०, घिरौला ८५, भान्टा ४५, खुसार्नी ५२, टमाटर ९५, फर्सी ३०, बन्दा गोपि १८, फुल गोपि९०, मुला ३५, गाजर, १४०, पिडालु ३३, करेला ८० रुपियाँमा कारोबार भएको कृषि उपज तथा कृषि बजारका अध्यक्ष गोपाल भुसालले बताए ।

साथै खुर्सानी, बन्दा गोपि र मुलाको मूल्य भने कात्तिक पहिलो हप्ताको तुलनामा सामन्य रुपमा घटेको छ । कृषि उपज तथा कृषि बजारका अध्यक्ष गोपाल भुसालका अनुसार यो मूल्य होल्सेल भएकाले बाहिर लगेर अन्य व्यापारिले १० देखि १५ प्रतिशत बढीमा बेच्न पाउने बताए । ‘यो मूल्य होल्सेलको हो ।’ ग्लोबल आवाजसँग कुराकानी गर्दै भुसालले भने ‘यहाँबाट किन्नेर लगेर व्यापारिले फुडकरमा बिक्री गर्दा १० देखि १५ प्रतिशतसम्म बढीमा बिक्री गर्न पाइने व्यवस्था छ ।’

तरकारीको मूल्य मूल्य मात्रै होइन खाद्यन्यदेखि निर्माण साम्रगीको मूल्यमा भारी रुपमा बृद्धि भएको छ । निर्माणका लागि आवश्यक पर्ने छड, सिमेण्ट, ईटा, बालुवा, ढुङ्गा लगायतका साम्रगीमा पनि मूल्य बृद्धि भएको छ ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।