ताजा अपडेट »

रुपन्देहीमा सूचारु भएका सिनेमा हलमा दर्शकको घुइँचो, सञ्चालकमा आशा

शुक्रबार, २६ कार्तिक २०७८, १३ : ४१
54 Shares

बुटवल । २ वर्षसम्म पूर्ण बन्द भएका सिनेमा हलमा दर्शक फर्किन लागेका छन् । २०७६ चैत्र ११ गतेदेखि विश्वव्यापी कोरोना महामारीले बन्द भएका सिनेमा हलहरु खुल्ने क्रम सुरु भएका छन् । लामोसमय गतिविधि शुन्य भएपछि अन्यौलमा रहेका कलाकार, निर्माता तथा सिनेमा हलका सञ्चालकहरुमा पछिल्लो समय हिन्दी फिल्म सूर्यवंशी’ ले पाएको हाउसफूल दर्शकले आशा पलाएको छ । रुपन्देहीको बुटवलमा रहेको क्यूएफएक्स तथा भैरहवामा रहेको काशी सिने प्लेक्सले सिङ्गल स्क्रिनमा पाइरहेको हाउसफूल दर्शकले फिल्मी क्षेत्रमा फेरी आशा जगाएको हो ।
२ वर्षमा फिल्म हल खुलेपछि फिल्म हेर्नका लागि दर्शकमा पनि उत्साह जागेको छ । बिहीबार बुटवल भाटभटेनीमा रहेको क्यूएफएक्समा हिन्दी चलचित्र सूर्यवंशी हेर्न पुगेका रतन कंडेल हर्षित थिए । त्यसैगरी उनीसँगै गएका दिपक अधिकारी पनि खुशी देखिन्थे । उनीहरुले हलमा दर्शकको भीड भएको बताउँदै धेरै समयपछि चलचित्र हेर्न पाएकोमा खुशी व्यक्त गरे ।

बुटवलको क्यूएफएक्सले २ वटा स्क्रिन भएपनि हाल भने एउटा मात्रै स्क्रिन सञ्चालनमा ल्याएको छ । गत शुक्रबारदेखि प्रदर्शनमा आएको ‘सूर्यवंशी’ हेर्नका लागि १९६ सिट क्षमताको स्क्रिन हाउसफूल भइरहेको म्यानेजर महेश्वर गिरीले जानकारी दिए । लामो समयपछि हलमा फर्किएका दर्शकहरु अत्यन्तै खुशी देखिएको बताउँदै उनले राम्रा र स्तरीय फिल्म निर्माण तथा सोही अनुसारको विज्ञापन गर्न सकेमा नेपाली फिल्मकर्मीहरुका लागि पनि सम्भावना फर्केर आएको उनले बताए ।

नेपाल चलचित्र संघ पश्चिमाञ्चलका अध्यक्ष ओम जैशीले फिल्मकर्मी तथा सिनेघरहरुले दर्शक नपाउने त्रास अन्त्य भएको बताएका छन् । प्रदर्शनमा रहेको हिन्दी फिल्म‘सूर्यवंशी’ ले पाएको दर्शक तथा दर्शकहरुको अनुभवलाई समेत हेर्ने हो भने नेपाली फिल्मकर्मीहरुका लागि पनि यो राम्रो सन्देश भएको उनले बताए । भैरहवामा सञ्चालन भइरहेको काशी सिनेप्लेक्सका सञ्चालक समेत रहेका जैसीले स्तरीय र राम्रा फिल्महरु बनाउन सके नेपाली निर्माता तथा फिल्मकर्मीहरुले दर्शक नपाउने शंका गर्नै नपर्ने उल्लेख गरे ।

कलाकार शोभित बस्नेत निर्देशित नेपाली फिल्म ‘डाँडाको वरपिपल’ ले हलमा दर्शक नपाउँदा झस्किएका फिल्मकर्मीहरुलाई हिन्दी फिल्मको प्रदर्शनले भने आशा जगाएको छ । ‘महानायक’ काण्डले विवादीत बनेका शोभित बस्नेतको फिल्मलाई दर्शकले माया नगरेपछि अन्य फिल्मकर्मीहरुले पनि दर्शक नपाउने हो कि भन्ने चिन्ता गरेका थिए । राम्रो प्रस्तुती, कथावस्तु तथा फिल्म निर्माण भएमा दर्शकले अझै पनि सिनेहल भुलेका छैनन् भन्ने कुरालाई ‘सूर्यवंशी’ले प्रमाणित गरेको छ ।

चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष सुमन श्रेष्ठले पछिल्लो समय प्रदर्शनमा रहेका चलचित्रले हाउसफूल दर्शक पाउनुलाई ‘सिनेमा हलको कमब्याक’को रुपमा लिन सकिने बताए । ‘हिन्दी फिल्मले मात्र होइन राम्रा र स्तरीय बन्न सनाउने हो भने नेपाली फिल्मले पनि दर्शक पाउँछ ।’-श्रेष्ठले भने, ‘राम्रो चलचित्र सबैले हेर्छन, नेपाली चलचित्रको पनि सम्भावना छ ।’ दर्शक पुनः हलमा फर्किनुले सम्पूर्ण फिल्मकर्मीमा उत्साह छाएको उनले बताए ।

यसैगरी बुटवलको भ्यू सिनेमा पनि एक सताभित्रै खुल्ने तयारी गरेको छ । हलका सञ्चालक प्रेमप्रकाश श्रेष्ठले लामोसयदेखि बन्द भएकोहुँदा हल व्यवस्थापन तथा मर्मतका कामहरु भइरहेको बताए । ‘एक साता भित्रै हल सञ्चालनमा ल्याउन लागेका छौं ।’-ग्लोबल आवाजसँग कुरा गर्दै उनले भने ‘सञ्चालनमा आएका हलहरुले हाउसफूल दर्शक पाइराखेका छन्, हाम्रो पनि सोही अपेक्षा हो ।’ हिन्दी फिल्म ‘सूर्यवंशी’ र नोभेम्बर २६ मा रिजिल हुने ‘अन्तिम’प्रदर्शनमा ल्याउने तयारी गरेको भ्यूसिनेमामा २०८ सीट क्षमताको सिङ्गल स्क्रिन रहेको छ ।

बुटवलकै द्वारीका उदय सिने कम्प्लेक्स पनि एक सतामापछि सञ्चालनमा आउने तयारीमा छ । केही प्राविधि कुराहरु मिलाउन बाँकी रहेकाले सबै व्यवस्थापन गरी सञ्चालनमा ल्याउन लागिएको सञ्चालक प्रदिप उदयले जानकारी दिए । सञ्चालनमा आएका हलहरुले आवश्यक स्वास्थ्य सुरक्षा सावधानी अपनाउँदै भौतिक दुरी कायम गर्ने कुरालाई समेत मध्ययनजर गरेको सञ्चालकहरुले बताउँदै आएका छन् ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।