ताजा अपडेट »

भैरहवा मेडिकलमा अप्रेशन गरेका बिरामीको आरोप - 'शरीर चिरेर ४ लाख सकिएपछि काठमाण्डौं जान भन्यो'

सोमबार, १५ कार्तिक २०७८, १४ : ४२
6 Shares

गुल्मी । भैरहवा मेडिकल कलेजमा ढाडको अप्रेशन गरेकी गुल्मीकी एक महिला यतिबेला दर्दनाक अवस्थामा पुगेकी छन्। जिल्लाको मालिका गाउँपालिका–८ मरभुङ्ग पौवा गाउँकी ४१ वर्षीया कमला सुनार दर्दनाक अवस्थामा पुगेकी हुन् ।

उनका श्रीमान मिनबहादुर सुनार विपन्न परिवारका हुन् । उनले आरनको काम गरेर जिविका चलाउँदै आएका थिए । त्यही क्रममा श्रीमती ढाड दुख्ने बिमारी भइन् । उनले जिल्ला अस्पतालसम्म बेलैमा ल्याउन नसक्दा उनी थला परिन् । थातै दिशा–पिसाव भए पछि गाउँबासीमा करुणा जागेर चन्दा उठाएर जिल्ला अस्पताल पठाइयो ।

त्यहाँ निको नहुने भनेपछि सुनारको घरको ब्याउने भैँसी ७५ हजारमा बेचियो’–दलित साझा मञ्च मरभुङ्गका अध्यक्ष खड्का नेपालीले भने–‘ हामीले ५०/६० हजार चन्दा उठाएर पठायौं , पाल्पा लुम्बिनी मेडिकल कलेज प्रभासले दिनको ५ हजार खर्च लाग्छ भनेर पठायो । घर ल्याए पछि थप थला परिन् ।’

केहिदिन अघि उनको अवस्था थप नाजुक बनेपछि भैरहवा मेडिकल कलेजमा पठाइएको र त्यस अस्पतालको चरम लार्पावाहीका कारण ति महिलाको अवस्था थप नाजुक बनेको अध्यक्ष नेपालीको भनाई छ । उनका श्रीमानले असोज ३० गते त्यस अस्पतालमा श्रीमतीको ढाडको अप्रेशन गरेको र १५/१६ दिन राखेपछि यहाँ हुँदैन किर्तिपुर अस्पतालमा लैजाउ भनेर चिरिएको घाउसँगै पठाएको बताए ।

‘हामीसँग तीन–चार लाख खर्च हुने बेलासम्म त्यस अस्पतालले राख्यो , त्यस पछि हामीसंग पैसा सकिएको बुझेर पठाएको महशुस गरेका छौं, सुनारले भने–‘ त्यहाँ निको गराउन सकिँदैनथ्यो भने किन अप्रेशन गरियो ?

चिरिएको घाउ हेर्न सकिने खालको छैन। हेर्दै शरीर सिरिङ्ग गर्छ । उनलाई त्यस्तो अवस्थामा अस्पतालले पठाउनु मानवीयता गुमाउनु हो भनेर स्थानीयवासीले भनेका छन् ।

सुनारले फेरी गाउँमा आई छिमेकीसँग रोइ–कराई गरि कतै चन्दा त कतै ऋण काढेर दुई दिन अघि किर्तिपुर अस्पतालमा लगेर गएका छन् । भैरहवा मेडिकल कलेजका प्रशासन प्रमुख तेज केसीको ध्यानकृष्ट गराउँदा उनले के भएको रहेछ भनेर आफुले बुझ्ने प्रतिकृया दिए । मेडिकल कलेजमा बुझ्ने प्रयास गर्दा मेडिकल कलेज प्रशासनका तेज केसी र प्रवक्ता सुशिल गुरुङले घटनाबारे अनविज्ञता प्रकट गर्दै डाक्टरसँग बुझेर यथार्थ बारे जानकारी दिने बताए।

सख्त श्रीमतीलाई किर्तिपुर अस्पतालमा लैजाने क्रमममा सुनार हामीलाई फोन गरेर डाको छाडेर रुँदै सहयोग संकलनका लागि सञ्चार माध्यमसंग गुहार माग्दै थिए । मरभुङ्गका दलित अगुवा खड्का नेपालीले समेत सबैसंग सहयोगको अपिल गरेका छन् । सहयोग गर्न चाहने महानुभावले नेपालीको ९८५७०७२०८६ वा बिरामीका श्रीमानको ९८४५०२१३७० मा फोन गर्न अनुरोध गरिएको छ ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार