ताजा अपडेट »

मोबाइल इन्टरनेट : फोरजीमा थपिए, थ्रीजीमा घटे

सोमबार, १५ कार्तिक २०७८, १० : ५६
2 Shares

काठमाण्डौं । चौथो पुस्ताको प्रविधि फोरजी विस्तारमा दूरसञ्चार सेवा प्रदायकहरूले जोड दिँदा मोबाइल इन्टरनेटको पहुँच पनि व्यापक बढ्न थालेको छ । एक महिनाकै अन्तरमा ११ लाखभन्दा बढीले फोरजी प्रयोगकर्ता बढ्नु यसको पछिल्लो उदाहरण हो । दूरसञ्चार प्राधिकरणले आइतबार सार्वजनिक गरेको नेपालको दूरसञ्चारसँग सम्बन्धित तथ्याङ्कअनुसार भदौसम्म नेपालमा फोरजी प्रयोगकर्ताको सङ्ख्या एक करोड २१ लाख ७० हजार नाघेको छ । जब कि साउनसम्म फोरजी प्रयोग गर्नेको सङ्ख्या एक करोड १० लाख थियो ।

फोरजी प्रयोगकर्ताको सङ्ख्याको हिसाबले नेपाल टेलिकम सबैभन्दा अगाडि छ । तथ्याङ्कअनुसार टेलिकमका ६२ लाख ६८ हजार फोरजी प्रयोगकर्ता छन् । टेलिकम एक महिनाकै अन्तरमा करिब १० लाख फोरजी प्रयोगकर्ता थप्न सफल भएको छ । चाडबाड तथा कोभिड सङ्क्रमण न्यून भएपछि बढेको आवतजावतले ग्रामीण क्षेत्रसम्म फोरजी प्रयोग गर्नेको सङ्ख्या बढ्दा कुल प्रयोगकर्ता एकै पटक बढेको कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए। टेलिकमले २० अर्ब रुपियाँभन्दा बढी लगानीमा देशैभर फोरजी विस्तार गर्ने परियोजना कार्यान्वयन गरेको थियो ।

दोस्रो स्थानमा एनसेल रहेको छ । जसका ५७ लाख २५ हजार फोरजी प्रयोगकर्ता छन् । फोरजी प्रयोगकर्ताको सङ्ख्याको हिसाबले एनसेल लामो समयसम्म अग्रस्थानमा थियो । भदौमा एकै पटक करिब १० लाख प्रयोगकर्ता थपिएपछि टेलिकम पहिलो पटक धेरै फोरजी प्रयोगकर्ता हुनेको सूचीमा पहिलो स्थानमा उक्लिएको हो । सीमित क्षेत्रमा मात्र सेवा उपलब्ध गराइरहेको स्मार्ट टेलिकमका सबैभन्दा कम फोरजी प्रयोगकर्ता छन् । प्राधिकरणको तथ्याङ्कअनुसार एक लाख ७६ हजारले स्मार्ट टेलिकमको फोरजी प्रयोग गर्छन् ।

फोरजी प्रयोगकर्ताको सङ्ख्यामा निरन्तर वृद्धि भइरहँदा तेस्रो पुस्ताको थ्रीजी प्रविधिका प्रयोगकर्ता भने घटेका छन् । फोरजीका तुलनामा निकै कम गतिको इन्टरनेट सुविधा उपलब्ध हुने थ्रीजी देशभर एक करोड २६ लाख ४८ हजार प्रयोग गर्छन् । जब कि साउनसम्म एक करोड २६ लाख ७२ हजारले थ्रीजी प्रयोग गर्ने प्राधिकरणको तथ्याङ्क छ । त्यसअघि असारसम्म करिब एक करोड २९ लाखले थ्रीजी प्रयोग गरेको देखिन्छ । असारयता थ्रीजी प्रयोगकर्ता घटिरहेको प्राधिकरणको तथ्याङ्कले पुष्टि गर्छ ।

थ्रीजी प्रयोगकर्तामा पनि टेलिकम निकै अगाडि देखिन्छ । टेलिकमका मात्रै एक करोड दुई लाखभन्दा बढी थ्रीजी प्रयोगकर्ता छन् । त्यसपछि एनसेलका २४ लाख ४३ हजार थ्रीजी प्रयोगकर्ता रहेको तथ्याङ्कले देखाउँछ । स्मार्ट टेलिकमका भने थ्रीजी प्रयोगकर्ता छैनन् । इन्टरनेट पहुँचको हिसाबले कुल जनसङ्ख्यामध्ये ८२.५५ प्रतिशतले मोबाइलबाट इन्टरनेट प्रयोग गर्ने देखिन्छ । त्यसपछि २७.४४ प्रतिशतले फिक्स्ड ब्रोडब्यान्ड प्रयोग गर्ने पाइएको छ ।

यस हिसाबले कुल जनसङ्ख्याभन्दा १० प्रतिशत अझ बढीले नेपालमा इन्टरनेट प्रयोग गर्ने देखिन्छ तर एकै व्यक्तिले एकभन्दा बढी सिमबाट इन्टरनेट प्रयोग गर्ने र मोबाइल इन्टरनेट प्रयोगकर्ता पनि फिक्स्ड इन्टरनेट प्रयोगकर्ता हुन सक्ने भएकाले तथ्याङ्क समायोजन गर्दा जनसङ्ख्याको अनुपातमा इन्टरनेटको पहुँच पछिल्लो तथ्याङ्कभन्दा कम हुने प्राधिकरणले जनाएको छ ।-सुवास रेग्मी/गोरखापत्र अनलाइन

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।