ताजा अपडेट »

आउने निर्वाचनपछि देश स्थिरता र विकासमा अघि बढ्छ : एमाले नेता पौडेल

मंगलबार, ०९ कार्तिक २०७८, १६ : ०८
6 Shares

बुटवल । नेकपा एमालेका उपमहासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले आउने निर्वाचन नेपालको लागि अस्थिरताको खेल मैदान नबन्ने दाबी गरेका छन् । निर्वाचनबाट तीन तहमा एमालेका एकल बहुमतको सरकार बनेर देश पूर्ण स्थिरता र विकासको गतिमा अगाडि बढ्ने नेता पौडेलले बताए ।

बिभाजनले एमालेको हैसियत कमजोर नभएको दावी गर्दै पौडेलले त्यसको पुष्टी निर्वाचनले गर्ने बताए । नेकपा एमाले बुटवल उपमहानगर कमिटीको प्रथम अधिवेशनको मंगलबार बुटवलमा उद्घाटन गर्दै नेता पौडेलले अबको निर्वाचनमा एमाले विगतमा भन्दा गुणात्मक मतका साथ सबै तहमा जित हाँसिल गर्ने दावी समेत गरे । ‘एमालेसँग अरू सबै दल मिलेर आउन वा एक्ला एक्लै लडुन । एमालेले एकल बहुमतको सरकार बनाउने गरी चुनाव जितेर सिंहदरबार छिर्नेछ । त्यो लेखेर राखे हुन्छ’ पौडेलले दावीका साथ भने ।

एमालेको शक्ति र जन संगठन देखेर सत्तारूढ गठबन्धन अत्तालिएको पौडेलले दावी गरे । ‘विभाजनपछि पनि एमालेको शक्ति नघटेको सत्तारूढ दलका नेताहरूले समेत भन्न थालेका छन’ रूपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य समेत रहेका पौडेलले भने, ‘एमाले कमजोर भएको छैन । एमालेलाई जित्न सकिँदैन भन्ने कुरा कांग्रेसका रामचन्द्र पौडेलले समेत भनिसकेका छन् । एमालेको शक्ति देखेर सत्तारूढ गठबन्धन नैं अत्तालिएको छ ।’ एमाले विचार, संगठन र भूमिकामा सग्लो रहेको उनको भनाई छ ।

गोदावरीमा भएको विधान महाधिवेशनले एमालेभित्र रहेका दक्षिणपन्थी र विर्सजनबादी तत्व परास्त भएको नेता पौडेलको भनाइ छ । उनले एमाले कमजोर भयो भनेर कसैले पत्याउनेवाला नरहेको बताए । एमालेबाट फुटेर गाएकाहरूलाई पानीको फोका जस्तै भएको बताए । ‘एमाले छाडेकाहरुलाई कसैले पत्याउनेवाला छैनन । उनीहरू कांग्रेसको पुच्छर समातेर नदी तारिदिन्छ भन्ने ठानेका छन । उनीहरू कसैले पत्याउनेवाला छैनन’ पौडेलले भने । वडा र पालिका अधिवेशनले एमालेको फाउन्डेसन बलियो बनेको पौडेलले बताए ।

नेकपा एमालेको पालिका महाधिवेशन अन्तरगत बुटवल उपमहानगरको अधिवेशनलाई सम्बोधन गर्दै उनले सहमतिमा नेतृत्व चयनका लागि जोड दिएका छन् । नेकपा एमाले एक भएको सन्देश दिन पनि सर्वसहमतिबाट नेतृत्व चयन गर्नका लागि उनले सुझाब दिएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।