ताजा अपडेट »

तीनै तहको चुनावमा एमालेकाे ६० प्रतिशत नतिजा आउने पौडेलको दाबी

मंगलबार, ०९ कार्तिक २०७८, १२ : ३३
2 Shares

बुटवल । एमाले उपमहासचिव विष्णु पौडेलले अबको तीनै तहको चुनावमा आफ्नो पार्टीले ६० प्रतिशतभन्दा बढी नतिजा ल्याउने दाबी गरेका छन् । रुपन्देहीमा पार्टीको तिलोत्तमा नगर कमिटीको प्रथम नगर अधिवेशनको मंगलबार उदघाटन गर्दै पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले एमाले एक्लै चुनाव लडेर ६० प्रतिशत स्थानीय तह एवं प्रदेश र संघीय संसदमा ६० प्रतिशत सिटमा विजयी हासिल गर्ने दाबी गरेका हुन् ।

‘सत्तारुढ पाँचदलीय गठबन्धनका विरुद्ध एमाले एक्लै चुनाव लड्छ र अघिल्लो चुनावभन्दा बढी नतिजा हासिल गर्छ,’ उनले भने, ‘तीनै तहको निर्वाचनमा ६० प्रतिशतभन्दा बढी नतिजा ल्याउँछौं ।’ पार्टी कब्जा गर्ने र समाप्त गर्ने षडयन्त्रलाई कार्यकर्ताले असफल तुल्याएको भन्दै उपमहासचिव पौडेलले केही नेता चोइटिएर गए पनि एमाले एकढिक्का रहेको दाबी गरे । ‘एमाले विभाजित भएको छैन, एकतावद्ध छ, यसको पुष्टि आगामी निर्वाचनले गर्ने छ,’ उनले भने ।

एमाले केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष लीला गिरीले वडा अधिवेशनले देशव्यापी रूपमा पार्टी एकताको सन्देश दिएको र स्थानीय तहको अधिवेशनले यसलाई अझ फराकिलो पार्ने बताए । रुपन्देही एमाले इन्चार्ज दधिराम न्यौपानेले पार्टीलाई अझ संगठित, चुस्त दुरुस्त र बलियो बनाएर लैजाने जिम्मेवारी कार्यकर्ता पंक्तिमा आएको भन्दै यो जिम्मेवारीलाई पार्टीका सबै कमिटीले पूरा गर्ने विश्वास व्यक्त गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।