ताजा अपडेट »

एमाले पालिका अधिवेशन : रुपन्देहीमा सर्वसहमतिको प्रयास

मंगलबार, ०९ कार्तिक २०७८, ११ : ३५
6 Shares

बुटवल । वडा तहमा सर्वसम्मत नेतृत्व निर्माण गरी एकताको सन्देश दिएको नेकपा एमालेले पालिका तहको नेतृत्वलाई समेत सर्वसहमतिमा लैजाने प्रयास गरेको छ । पार्टी उपमहासचिवद्वय विष्णु पौडेल तथा घनश्याम भुसालको गृह जिल्ला रुपन्देहीका १६ वटै स्थानीय निकायहरुमा सहमतिमा नेतृत्व चयन गर्नेगरी प्रयास भएको हो ।

उपमहासचिव विष्णु पौडेलले तिलोत्तमा नगरपालिकाको एमाले नगर अधिवेशनलाई सम्बोधन गर्दै सकेसम्म सर्वसहमतिकै बाटो अपनाउन सुझाब दिएका छन् । उनले पार्टीलाई एक ढिक्का बनाउनका लागि सहमतिको विकल्प नै उत्तम भएको उल्लेख गरे । आज विहान रुपन्देही आइपुगेका पौडेलले पार्टीका नेतृत्व चयनका लागि सहमति गराउन आन्तरिक रुपमा छलफल गरिरहेको एक नेताले जानकारी दिए । सकेसम्म रुपन्देहीका सबै पालिकाहरुमा सहमतिबाट नेतृत्व चयनको प्रयास अन्तिम अवस्थासम्म जारी राख्ने माथिल्लो तहको रणनीति रहेको छ ।

सर्बसहमति नै उत्कृष्ट लोकतन्त्रको अभ्यास भएको बताउँदै एमाले रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीले सहमतिमा नेतृत्व चयन हुने विश्वास व्यक्त गरे । ग्लोबल आवाजसँगको कुराकानीमा उनले सहमतिमै नेतृत्व चयन गर्ने प्रयास भइरहेको बताउँदै त्यस अनुरुप हुन नसके अन्तिम विकल्पको रुपमा लोकतान्त्रिक प्रक्रिया अनुसार निर्वाचनमा जाने उल्लेख गरे । सम्बन्धित पालिकाहरुले नै नेतृत्व चयन गर्ने भएकाले जिल्ला तथा केन्द्र तहबाट कुनै पनि हस्तक्षप नहुने उनले बताए ।

एक उपमहानगरपालिका, पाँच नगरपालिकासहित १६ स्थानीय तह भएको रुपन्देहीमा आकांक्षीहरू धेरै भएपछि आन्तरिक रुपमा पार्टी नेतृत्वले नै उनीहरुलाई छलफलमा राखेर मिलाउन प्रयास भइरहेको एक प्रतिनिधिले बताए । नगर अध्यक्षका लागि बुटवल उपमहानगरपालिकामा ६ जना आकांक्षी छन् । वर्तमान नगर अध्यक्ष बाबुराम पन्थीले फेरि सोही पदमा दोहोरिने इच्छा देखाएका छन् । यस्तै पूर्वनगर अध्यक्ष ज्ञानप्रसाद अर्याल, अनेरास्ववियूका केन्द्रीय उपाध्यक्षसमेत रहेका पार्टी उपमहासचिव विष्णु पौडेलका स्वकीय सचिव यम पाण्डे, हालका नगरसचिव किसन ज्ञवाली, नगरसदस्य केशव पन्थी र राजेन्द्र ढकाल पनि आकांक्षी रहेका छन् ।

तिलोत्तमा नगरपालिकामा नगर अध्यक्षका लागि मिनप्रसाद पोखरेल, नेत्र बन, सुरेन्द्रश्री बिश्वकर्मा, तामनाथ पाण्डेले लबिङ गरिरहेका छन् । हालका नगर कमिटी अध्यक्ष मोहन चापागाईले भने सोही पदमा दोहोरिने इच्छा देखाएका छैनन् । उनी जिल्ला सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख समेत हुन् । सिद्धार्थनगर नगर कमिटीको अध्यक्षका लागि ध्रुव अधिकारी, थानेश्वर पौडेल र चक्रबहादुर थापाले दावी प्रस्तुत गरेका छन् । वर्तमान नगर अध्यक्ष रहेका चोपलाल आचार्य फेरि दोहोरिने मनस्थितिमा छैनन् ।

देवदह नगरपालिकामा नगर कमिटी अध्यक्षका लागि चार जना आकांक्षी देखिएका छन् । हालका अध्यक्ष प्रकाश अर्यालले फेरि दोहोरिन खोजेका छन् भने टीकाराम चापागाईले पनि दावी प्रस्तुत गरेका छन् । उनी यसअघिको स्थानीय निर्वाचनमा नगर प्रमुखमा थोरै मतले पराजित भएका थिए । यस्तै विष्णु पौडेल र गुमानसिंह कुँवरले पनि देवदह नगर कमिटी अध्यक्ष बन्न लविङ गरिरहेका छन् ।

सैनामैना नगर कमिटी अध्यक्षका लागि बाहालवाला नगर अध्यक्ष नारायण न्यौपानेसँगै शालिकराम भण्डारी र जीवनाथ पाण्डेले दावी पेश गर्ने मनस्थिति बनाएका छन् । लुम्बिनी साँस्कृतिक नगरपालिकामा नगर अध्यक्षमा वर्तमान अध्यक्ष रामचन्द्र यादवले नदोहोरिने सोच बनाएका छन् भने प्रेस चौतारीका पूर्वकेन्द्रीय सदस्य समेत रहेका वीरेन्द्रकुमार मिश्र, निसाहर अहमद खाँ, जगदीश यादव, विनोद कहार अध्यक्ष पदका दावेदार छन् ।

कन्चन गाउँपालिकामा वर्तमान अध्यक्ष भरतमणि सापकोटा नै अध्यक्ष हुने निश्चित भइसकेको छ । अन्यले हालसम्म आकांक्षा देखाएका छैनन् । गैडहवा गाउँकमिटी अध्यक्षमा विद्यार्थी नेता सन्दिप गुप्तासँगै भुवन राना, नगेन्द्रप्रताप कुर्मी अध्यक्षका आकांक्षी देखिएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।