ताजा अपडेट »

कोरोना भन्दा उधारोको मार : ६ करोड बढी रकम खातामा, व्यवसाय नै चौपट

सोमबार, ०८ कार्तिक २०७८, १७ : ०९
12 Shares

परासी । कोरोना कहरले थला परेका पश्चिम नवलपरासीका होटल व्यवसायीहरु पनि विस्तारै केही राहतको सास फेरे पनि ६ करोड भन्दा धेरै रकम उधारो खातामा हुँदा व्यवसाय नै जोखिममा परेको बताएका छन् । जिल्लामा झण्डै ६ सयको हाराहारीमा साना ठुला होटल तथा रेष्टुरेन्ट संचालनमा रहेको होटल तथा रेष्टुरेन्ट संघ नवलपरासी बर्दघाट सुस्ता पश्चिमको आँकलन रहेको छ । जसमध्ये ३ सय ८० वटा होटल तथा रेष्टुरेन्ट संघमा आबद्ध रहेका छन् भने २ सय २० को हाराहारीमा रहेका होटल तथा रेष्टुरेन्ट संघमा आबद्ध भएका छैनन् ।

कोरोना कहरका कारण जति असर परेको छ त्यसको कयौं गुना बढी उधारोको मारमा होटल तथा रेष्टुरेन्टहरु परेको संघका जिल्ला अध्यक्ष ध्रुव भण्डारीले बताए । संघमा आवद्ध ३ सय ८० होटल तथा रेष्टुरेन्ट मध्येबाट हाल सम्म ६ करोड भन्दा बढी उधारो रकम उठ्न बाँकी रहेको पत्रकार सम्मेलन आयोजना गरेर जानकारी गराईएको छ ।

बर्दघाटमा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ नवलपरासी बर्दघाट सुस्ता पश्चिमले पत्रकार सम्मेलन आयोजना गरी आफुहरु कोरोनाका कारण भन्दा बढी उधारोका कारण पिडित भएको जानकारी दिएको हो । सो अवसरमा बोल्दै जिल्ला अध्यक्ष ध्रुव भण्डारीले होटल तथा रेष्टुरेन्ट व्यवसाय पहिला सेवा दिने र पछि भुक्तानी लिने व्यवसाय भएका कारण कतिपय व्यक्तिहरु पहिला खाने र पछि पैसा नतिर्ने गरेका कारण जिल्ला भरका होटल व्यवसायीको पाउनुपर्ने उधारो रकम जोड्दा ६ करोड भन्दा बढि पुगेको बताए । भण्डारीले यो रकम विगत ५ वर्ष देखीको भएको समेत बताए । उनले व्यवसायीहरुले राज्यलाई कर बुझाउने गरेको तर व्यवसायिक सुरक्षाका लागि राज्यको तर्फबाट ठोस पहल हुन नसकेको दुखेसो समेत पोखे ।

होटल तथा रेष्टुरेन्ट व्यवसायीसंघको पहिलो प्राथमिकता उधारो रकम उठाउनका लागि पहल गर्ने रहेको संघका जिल्ला सहसचिव जितेन्द्र श्रेष्ठले बताए । पहिलो चरणमा उधारो बाँकी रहेका ब्यक्तिहरुलाई यथाशिघ्र भुक्तानी गर्नका लागि आग्रह गरिने र भुक्तानी गर्न अटेरी गर्ने ब्यक्तिहरुको नाम ठेगाना जिल्ला संघ मार्फत सार्वजनिक गरिने श्रेष्ठको भनाई छ । आवश्यक परे प्रशासनको समन्वयमा अगाडि बढ्ने उनले बताए ।

हाल सम्म उधारो रहेको रकम व्यक्तिगत रुपमा मात्र रहेको र संघ संस्था र सरकारी निकायको भने त्यस्तो कुनै उधारो नरहेको जिल्ला संघले जनाएको छ । उधारोकै कारण झण्डै २० देखी २५ जना व्यवसायी होटल तथा रेष्टुरेन्ट व्यवसाय क्षेत्रबाट पलायन भएको संघले जनाएको छ ।

जिल्लामा ७ वटा पालिकामा सबैभन्दा बढि होटल व्यवसाय बर्दघाट नगरपालिकामा रहेको छ । बर्दघाट नगरपालिकामा १ सय १२, सुनवल नगरपालिकामा ७१, रामग्राम नगरपालिकामा ५१, सरावल गाउँपालिकामा २३, पाल्हीनन्दन गाउँपालिकामा ३९, सुस्तामा ५४ र प्रतापपुर गाउँपालिकामा ३० संघमा आवद्ध रहेका छन् ।

भैरहवामा अन्तराष्ट्रिय विमानस्थल संचालनको लागि अन्तिम तयारी भैरहँदा त्यसलाई मध्यनजर गरेर पश्चिम नवलपरासीमा पनि ठुलो लगानीका सुविधा सम्पन्न होटलहरु निर्माण हुन थालेका छन् । जिल्लामा होटल व्यवसायमा जति लगानी भैरहेको छ त्यस अनुसार व्यवसायीहरु भने सन्तुष्ट हुन सकेका छैनन् ।

बेनी माधव बस्याल
लेखकको बारेमा
बेनी माधव बस्याल