ताजा अपडेट »

तिलोत्तमा स्कूटी दुर्घटना: गुल्मीकी प्रतिभाशाली चेली थिइन् सुस्मिता

सोमबार, ०८ कार्तिक २०७८, ११ : ५६
8 Shares

गुल्मी । पछिल्लो समय ‘स्कूटी’ युवा–युवतीहरु बीच लोकप्रिय सवारी साधन हो । विशेषगरी किशोरी तथा युवतीहरु स्कूटीप्रति निकै आकर्षित हुने गर्दछन् । र,यसको प्रयोग निकै बढ्दो छ । विभिन्न आकर्षक मोडल र रङ्गका स्कूटी चढ्ने क्रेज दिनानुदिन बढ्दो छ । तर, यात्राको यो साधन दुर्घटनाले कैंयौं कलिला किशोर/किशोरी तथा युवाहरुको ज्यान पनि लिएको छ । यस्तै ज्यान गुमाउनेहरुमा रुपन्देहीलाई कार्यक्षेत्र बनाउँदै आएका २३ वर्षीया सुस्मिता एक हुन् ।

गत शुक्रबार राति रुपन्देहीको तिलोत्तमा–२ सिताराम राइस मिल नजिकै स्कुटी दुर्घटनामा परेर ज्यान गुमाएकी २३ वर्षीया सुस्मिता क्षेत्री (पाण्डे ) गुल्मीकी होनाहार चेली थिइन् । उनले गुल्मीकी मात्र नभई साविक लुम्बिनी अञ्चलकै बहुप्रतिभाशाली युवतीको पहिचान बनाएकी थिइन्। सुस्मिताले सन्–२०१७ को मिस लुम्बिनी सौन्दर्य प्रतियोगितामा उत्कृष्ट बनेको उनका दाजु अशोक पाण्डेले बताए । उनका अनुसार त्यसदिन साँझ ९ बजेर ४५ मिनेट जाँदा बुटवलबाट घरतर्फ आउँदै गरेको अवस्थामा स्कुटी दुर्घटना भएको थियो।

दुर्घटनामा परी गम्भीर घाइते उनलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्याइएको र उपचारकै क्रममा उनको ज्यान गएको थियो। अध्ययन ,जागिरसँगै सौन्दर्य क्षेत्रमा अग्रसर सुस्मिताले छोटो समय र युवा अवस्थामै प्रतिष्ठित कम्पनीमा काम गर्दै आएकी थिइन् । उनले इन्टरनेट सेवाप्रदायक कम्पनी ब्रोडलिंकको बुटवलशाखा, फाइभ स्टार होटल,टाइगर प्यालेसमा काम गरेकी थिइन् । पछिल्लो समय बुटवल मिलनचोकको फुड सप्लायर्स गर्ने ‘लुम्बिनी भोज’ को इन्चार्जका रुपमा काम गर्दै आएको दाजु पाण्डले सुनाए।

उनका एक दाजु भारतिय सेनामा छन्। उनकी दिदी डेनमार्कमा रहेकी छन् । उनीहरु नआएसम्म शव लुम्बिनी अस्पतालमै राखिएको दाजु पाण्डेले बताए । उनकी आमाले गला अवरुद्ध पार्दै त्यसदिन छोरीले बुटवल काम गर्ने स्थानमा आफूलाई पनि साथीहरुले प्रोग्राममा बोलाएका छन्,खासै सञ्चो छैन तैपनि एक छिन गएर आउँछु है भन्दै हिँडेको बताइन् ।

उनका बाबु खुमबहादुर पाण्डे सहितको परिवार गत १२ वर्षदेखि तिलोत्तमा–१ को शंकर नगरमा डेरा गरी बस्दै आएका छन् । उनीहरुको घर गुल्मीदरबार गाउँपालिका–४, साविक बिरवास गाविसको भट्टेचौर देउरालीमा हो । परिवारका सदस्य यता घरमा आवत–जावत गर्ने गरेका छन् । तिलोत्तमा–१ का वडाका सदस्य नेत्र खनालले उनीहरु आफ्ना छिमेकी भएको र एउटी होनाहर चेली गुमाएकोप्रति दुःख ब्यक्त गरे। यतिबेला शोकाकुल परिवार डेरामा नबसी फुपु लक्ष्मी थापाको घरमा गएर बसेका छन् । सुस्मिता अविवाहित थिइन्।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार