ताजा अपडेट »

आज एमालेका वडा अधिवेशन हुँदै

शनिबार, ०६ कार्तिक २०७८, ०६ : ४८
4 Shares

काठमाडाैं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनअन्तर्गत शनिवार मुलुकभर वडास्तरका अधिवेशन हुँदैछन् ।वडा अधिवेशनलाई पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने र इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिने तय गरिएको छ ।

एमाले केन्द्रीय कार्यालयले त्यसका लागि तयारी पूरा गरिसकेकामा हालैको बाढीपहिरोबाट प्रभावित जिल्लामा भने केही समयपछि अधिवेशन हुने जनाइएको छ । कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन हुनेछ ।

एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न पार्टीले कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

आगामी मंसिर १० देखि १२ गतेसम्म एमालेको दशौं महाधिवेशन बागमती प्रदेशको चितवनमा हुनेछ । विक्रम संवत् २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य बनाइएको छ ।

चितवनमा हुने एमालेको महाधिवेशनमा निर्वाचन प्रयोजनका लागि विद्युतीय भोटिङ मशिन प्रयोग गरिने छ । एमालेको स्थायी कमिटीको शुक्रवारको बैठकले महाधिवेशनका लागि नेता रामबहादुर थापाको संयोजकत्वमा गठित २१ सदस्यीय मूल व्यवस्थापन समितिको सहसंयोजकमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र सचिवमा विष्णु रिमाललाई तोक्नुका साथै समितिका केही सदस्य थप गरेको छ ।रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।