ताजा अपडेट »

दूरसञ्चार उपकरण र पूर्वाधार विकासमै बाहिरियो १६ अर्ब

शनिबार, ०६ कार्तिक २०७८, ०६ : ४३
2 Shares

काठमाडौँ । पछिल्लो समय मुलुकमा भित्रिएको सूचनाप्रविधिको तीव्र विकाससँगै दूरसञ्चार उपकरण आयात र पूर्वाधार विकास विस्तारमा झन्डै १६ अर्ब रुपैयाँ बाहिरिएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा दूरसञ्चार उपकरण आयात तथा पूर्वाधार विकास विस्तारको नाममा यति धेरै नेपाली रुपैयाँ बिदेसिएको हो ।


गत आर्थिक वर्षमा सूचना प्रविधिको सहज पहुँच विस्तारका लागि आवश्यक उपकरण खरिद तथा आयातमा मात्र विभिन्न सेवाप्रदायक कम्पनीले कुल १५ अर्ब ७१ करोड ४६ लाख रुपैयाँ विभिन्न मुलुकमा पठाएका हुन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले तथ्यांक औंल्याएको हो । सो अवधिमा विभिन्न दूरसञ्चार उपकरण, ब्यान्डविथ, प्राविधिक परामर्शलगायतका विविध शीर्षकमा नेपाल दूरसञ्चार प्राधिकरणले सो रकम विदेशी मुद्रा भुक्तानीका लागि वाणिज्य बैंक तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत सिफारिस गरेको छ ।

जसअन्तर्गत सो अवधिमा ३ अर्ब ३३ करोड ५९ लाख २८ हजार रुपैयाँको उपकरण भित्रिएको छ । त्यसमा सेवा प्रदायक कम्पनी नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सबैभन्दा धेरै ५२.८३ प्रतिशत, एनसेल अजियटाको ४७.०१ प्रतिशत, कन्स्टेलेसन प्रालिको ०.०९ प्रतिशत र क्लासिक टेकको ०.०७ प्रतिशत रहेको छ ।

यसैगरी, कुल विदेशी मुद्रामा एनसेलले सबैभन्दा धेरै ३ अर्ब ४१ करोड ४२ लाख ५१ हजार रुपैयाँ खर्च गरेको छ । यो कुल खर्च भएको रकमको ४८.११ प्रतिशत हो । त्यसैगरी, दोस्रोमा वल्र्डलिंक कम्युनिकेसनले १ अर्ब ६६ करोड ५ लाख ५ हजार रुपैयाँको उपकरण, प्रविधि भिœयाएको छ । नेपाल टेलिकमले भने समग्रमा २.३४ प्रतिशत रकम मात्र बाहिर पठाएको देखिएको प्राधिकरणले जनाएको छ । जसअनुसार १६ करोड, ६३ लाख ५ हजार रुपैयाँ बाहिरिएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।