ताजा अपडेट »

मन

शुक्रबार, ०५ कार्तिक २०७८, १५ : ३२
12 Shares

पोखिने मन छ आजकल, पानी जस्तै ।
अनि परिधिबिना खुलेआम बत्तिने खहरे जस्तै
अन्धा–धुन्द बग्ने मन छ ।
फिक्का दिन गाढा मसीले कोरेर
निख्खर गाढा बनाउने मन छ ।

गणितका गुरुले रटाएका सुत्रहरु
जीवनको बिज गणितमा निकम्मा ठहरिएपछि
सुन–सान शहरको कुनै कुनामा ठिङ्ग उभिएको
आफैले पुज्ने झम्पट तस्वीरलाई,
आगोको रङ्गले पोत्ने मन छ ।
खाली निधार तरबारले कोरेर
केहि पल नै सही, भाग्यचम्काउने मन छ ।

खोई किन,यो समय आजकल घडिको टिक–टिक भन्दापनि बेतोडले कुदिरन्छ
रोकिने आदेश पनि नमानी
म भन्दा धेरै पर क्षितिजभन्दापनि पर पुगे जस्तै लाग्छ ।
अनि हेर्छु,
ढुङ्गे घरको मक्किएको दलिनबाट चियाएर
समयको वायूपंखी वेगले घोक्रयाए जस्तै लाग्छ
त्यसैले त घर छेवैको म्यालको रुख झै जुरुक्क उभिएर
त्यही समयलाई खेद्ने मन छ
केहि पल विश्राम लिएर आँफैलाई भेट्ने मन छ
भरिएका प्याला जस्तै एकै घुटमा केहि थान बोझहरु रित्याउने मन छ
फिक्का दिन गाढा मसीले कोरेर
निख्खर गाढा बनाउने मन छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।