ताजा अपडेट »

श्रीमान विदेशबाट फर्केको अर्कोदिन श्रीमतीको मृत्यु

शुक्रबार, ०५ कार्तिक २०७८, ११ : ५५
6 Shares

गुल्मी । दशैंको बेला भारतमा रहेका श्रीमान टुप्लुक्क घर आएपछि अर्घाखाँचीको जुकेना कल्लेरी गाउँकी २४ वर्षीया लक्ष्मी नेपालीमा खुशीको सिमा रहेन । तर , खै किन हो उनको त्यो खुशी १२ घण्टा पनि टिक्न सकेन ।

सितगंगा नगरपालिका–६ म पर्दछ त्यो टोल । असोज २६ गते राति करिब ११ बजेको समयमा उनका श्रीमान गणेश नेपाली भारतको चण्डीगढबाट घर आउँछन् । उनकै शब्दमा राति डेढ दुई बजेसम्म खानपिन , हाँसो–ठट्टा गरेर बस्छन् । त्यस पछि सबै मिठो निद्रामा पर्छन् । विहान करिब ४ बजेको समयमा उनकी श्रीमती लक्ष्मी सदा झै गाई भैसीलाई कुँडो–फाँडो गर्न बाहिर निस्किन्छिन् । बिहान अबेरसम्म नआए पछि उनकी आमाले बुहारी खोज्छन थाल्छिन् । उनी निद्रामा हुन्छन् । आमाले नभेटा पछि खबर गर्छिन र उनी उठ्छन् र आफ्नी बहिनी सहित उनलाई खोज्दै हिड्छन् ।

अलिपर जाँदा रुखमा नाम्लाको पासो लगाएर मृत फेला परेको नेपाली बताउँछन् । उनी भन्छिन्–‘ जिवितै भएकोले पासो काटेर सुरुमा भैरहवा लगियो , त्यहाँ डाक्टर नभएपछि बुटवल ल्याइयो । २७ गते राति करिव सवा १२ बजेको समयमा उनको बुटवलको त्यही अस्पतालमा मृत्यु भएको हो । ’ उनले त्यस अस्पतालको नाम झट्ट जान्न नसकेको बताए । उनको त्यो भनाइलाई माईती पक्षले एकरत्ती पत्याउन सकेका छैनन् । जिल्ला कै भूमिकास्थान नगरपालिका–९, ठूला डेवा बुडिचौर निवासी मृतक लक्ष्मीका बाबु ओमबहादुर नेपाली छोरीको हत्या नै भएको आशंका गर्छन् । २७ गतेका दिन ज्वाँईले रुखो वचन बोल्दै पैसा पठाउन भनेको उनले बताए ।

‘म भारतमा थिएँ, ज्वाँईले म भैरहवमा छु तपाइँकी छोरीको नाक र मुखबाट रगत बगेको छ, छोरी बचाउने भए २५ हजार आइसी पठाई दिनुस् भनेर भने । मैले अहिले रातीका कसरी पठाउँ भोली पठाउँला भने । त्यसको अर्को दिन विहान तपाईकी छोरीको मृत्यु भयो भनेर सुनाए । ’ उनका अनुसार ज्वाँईकी भाञ्जीको विवाह गराई दिएको आरोपमा श्रीमति संग ज्वाँई रुष्ट थिए । उनकी भान्जी फकाएर विवाह गराई दिएको उनकी आमाले कुरा लगाई दिए छन्, त्यस पछि ज्वाँईले उता आमाको फोन काटेर मलाई फोन गर्दै तपाईकी छोरीले मेरी भाञ्जीलाई पैला लगाई दिएछ, अब म घर गए पछि तपाईकी छाृेरीलाई मार्दिन्छु भनेर धम्काएका थिए ’ उनले भने –मेरी छोरीलाई मारेकै हुनु पर्छ ।’

ज्वाँईबाट छोरीको मृत्युको खबर पत्याउन नसकेका ओमबहादुर ठाडा प्रहरी चैकीले खबर गरे पछि मात्र उनी भारतबाट हिडे र आफु नआएसम्म छोरीको शव नउठाउन आग्रह गरे । जिल्ला अस्पताल सन्धिखर्कमा ३ दिनसम्म लक्ष्मीको शव राखियो र गत आईतवार दाहसंस्कार गरिएको छ । प्रहरीले भिसरा परिक्षण संगै निष्पक्ष छानविन गर्दछौं भने पछि शव उठाउन दिएका हौं ,बाबु ओमबहादुरले भने निष्पक्ष छानविन होस् । अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी अम्मरबहादुर थापा क्षेत्रीसंग घटनाको तेश्रो दिन सम्पर्क राख्दा पोष्टमार्टम रिर्पोट आएपछि सत्य–तथ्य पत्ता लाग्ने र घटनाको सुक्षम अनुसन्धान हुने बताउँदै थिए ।

२४ वर्षको उमेरमा तीन विवाह तर, बनेन कतै घर
लक्ष्मीको पहिलो मागी विवाह १५–१६ वर्षकै उमेरमा अर्घाखाँची मै भएको थियो । पहिलो श्रीमान जाँड रक्सी सेवन गर्ने गरेपछि ६ महिना मै घर छाडेर माइती कै शरणमा बस्न बाध्य भएकी थिइन् । त्यस पछि दोश्रो विवाह गरिन् । भारत मै रहेका दोश्रो श्रीमान पनि उस्तै परि दिए । उनीबाट एक छोरा र एक छोरी जन्माइन् ।

श्रीमानले काम नगर्ने भौतारिदै हिड्ने गरेपछि बाबु ओमबहादुरले खान बस्नको ब्यवस्था गरिरहे । त्यसपछि छोरी अर्घाखाँचीस्थित माईती मै फर्किन बाध्य भइन्। यहि क्रममा डेढ बर्ष अघि सामाजिक सञ्जाल मार्फत हालका श्रीमान गणेश नेपालीसँग सम्वन्ध नजिक हुन थाल्यो । उनी भारतमा थिए–‘ बाबु ओमबहादुरले भने–‘ फेशवुकमा कुरा गर्दा गर्दै उनले कृष्ण नगरसम्म बोलाए छन् र मेरी छोरीलाई लिएर आए छन् । ६ महिना पछि विवाह गरें बाब भनेर फोन गरेर थाह दिएकी हुन् । ’

यी पछिल्ला तेश्रो श्रीमानबाट जन्मेका ८ महिनाका छोरा छन् । संगै पूर्व पति तर्फकी अन्दाजी ८ वर्षकी छोरी र ४ बर्षका छोरा रहेको बाबु नेपालीले बताए । बिहीबार उनका ज्वाई गणेश नेपाली संग फोनमा कुराकानी गर्दा आमा विहिन बनेका ति नाबालकहरुले ड्याडी.. ड्याडी भन्दै रुन्चे स्वर लगाउँदै थिए । लक्ष्मीको मृत्युले बिशेष गरि ति ८ महिने दुधे बालकको बिचल्ली भएको छ ।

श्रीमती र आफू बीच निकै राम्रो सम्वन्ध रहेको र आउनका दिन कुनै किसिमको विवाद नरहेको गणेश नेपालीको भनाई छ । लक्ष्मीका बाबु ओमबहादुर भन्छन्–‘ अस्पतालमा गएर छोरीको शव हेर्दा टाउको पछाडि चोट थियो । आध जिव्र काटिएको थियो । उनको मृत्यु घटना निकै रहश्यम छ । ’ उनले दशैंको बेला ज्वाँई घर जाने भए पछि छोरी सहित सबैलाई गनि–गनि दशैंको दक्षिणा , कपडा लत्ता पठाएको तर, छोरी त्यो दक्षिणा र सर–समानहरु लिन नपाएकोप्रति विलौना पोखे ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार