ताजा अपडेट »

दसैंँ सकिएलगत्तै पाल्पामा कोरोना संक्रमण बढ्यो

मंगलबार, ०२ कार्तिक २०७८, १३ : २२
6 Shares

पाल्पा । पाल्पामा दसैँलगत्तै कोरोना संक्रमणको ग्राफ उकालो लागेको छ । केही साताअघिसम्म दैनिक दुई-चारजनामा संक्रमण देखिने गरेकोमा पछिल्लो समय संक्रमण ह्वातै बढेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

दसैंँ मनाएसँगै जिल्लामा संक्रमणको दर बढेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । चाडपर्वमा एक ठाउँबाट अर्को ठाउँमा आउने जाने क्रम बढेको र चाडपर्व मनाउने बेला स्वास्थ्य मापदण्ड नअपनाउँदा संक्रमण बढेको उनकाे भनाइ छ ।  

पाल्पामा पछिल्लो २४ घन्टामा २९ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा संक्रमण देखिएको हो । जिल्लामा २० जनाको पीसीआर परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको छ । जसमा तानसेन नगरपालिकाका-२ र तिनाउ गाउँपालिकाका-१ जना छन् । जसमा दुई महिला र एक पुरुष रहेको स्वास्थ्यको तथ्यांकमा उल्लेख छ ।

योसँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ६ हजार तीन सय ५१ पुगेको छ । जसमा दुई हजार चार सय ९६ महिला र तीन हजार आठ सय ५५ जना पुरुष छन् ।

यस्तै, पछिल्लो २४ घन्टामा एक सय ९१ जनामा एन्टिजेन परीक्षण गरिएकोमा २६ जनामा संक्रमण देखिएको हो । तानसेन नगरपालिकाका १३, रैनादेवी छहरा गाउँपालिकाका पाँच, रामपुर नगरपालिका, रम्भा गाउँपालिका र बगनासकाली गाउँपालिकाका दुई-दुई, माथागढी गाउँपालिका र रिब्दीकोट गाउँपालिकाका एक-एकजनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या चार हजार ६१ पुगेको छ । दुई हजार एक सय सात महिला र एक हजार नाै सय ५४ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।

जिल्लामा अहिलेसम्म एक सय चारजना सक्रिय संक्रमित छन्। जसमध्ये ८२ जना होम आइसोलेसनमा र २२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । -सुनिल कार्की/न्युज कारखाना

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।