ताजा अपडेट »

तीन महिनापछि एक दिनका लागि गृह जिल्ला आएका गृहमन्त्री खाँण फर्केपछि पनि आलोचित

मंगलबार, ०२ कार्तिक २०७८, १२ : २४
6 Shares

बुटवल । गृहमन्त्री भएको ३ महिनासम्म पनि जिल्ला नफर्केको भन्दै चर्को आलोचनापछि रुपन्देही आएका गृहमन्त्री बालकृष्ण खाँण फर्किने बेला पनि आलोचित बनेका छन् । गृह जिल्लामा आफ्नो ८ घण्टे भ्रमण सकेर काठमाण्डौं जाँदै गर्दा फेरी अर्को आलोचना थपेर फर्किएका हुन् ।

गृहमन्त्री खाँणले सोमबार रुपन्देही भ्रमणको अन्तिम कार्यसूचिमा रहेको आफ्नै निवासमा बधाई तथा स्वागत कार्यक्रममा सरिक हुने क्रममा १५ किलोको माला पहिरिएसँगै आलोचना थपिएको हो । नेपाली काँग्रेस तिलोत्तमा नगर समितिले स्वागत गर्दै उनलाई १५ किलोको माला पहिराएको थियो । गृहमन्त्री खाँणले माला पहिरिएको तस्विर आलोचित बन्दै सामाजिक सञ्चालहरुमा फैलिएका छन् ।

भैरहवा विमानस्थलमा ओर्लिएसँगै आलोचित हुन पुगेका खाँण रुपन्देही छाडेर जाने बेलामा समेत आलोचित बने । रुपन्देही आउने क्रममा आफ्नो स्वागतका लागि विमानस्थलमा भिड लगाएर विमानस्थलको सुरक्षा व्यवस्थाको धज्जी उडाएको भन्दै आलोचना भएको थियो । यसैगरी सरकारले आफै जारी गरेको कोरोना संक्रमणबाट बच्न कायम गर्नु पर्ने भौतिक दुरीको समेत बेवास्ता गरेको भन्दै उनको आलोचना भएको थियो ।

गृहमन्त्री भएपछि पहिलो पटक रुपन्देही आएका खाँणलाई स्वागत गर्न रुपन्देहीका काँग्रेस कार्यकर्ताहरु विमानस्थलको सबै सुरक्षा घेरा पार गर्दै रन–वेमा नै पुगेका थिए । सर्वसाधारणलाई मेटल डिक्टेक्टर र छामछुम गर्ने सुरक्षाकर्मीहरु गृहमन्त्रीका कार्यकर्ताका अगाडि लाचार जस्तै बनेका थिए । गृहमन्त्री खाँणलाई स्वागत गर्ने नाममा विमानस्थलको सुरक्षा व्यवस्थामाथि ठूलो खेलवाड भएको भन्दै त्यहाँ उपस्थित यात्रुहरुले टिप्पणी गरिरहेका थिए ।

सोमबार विहान पौने १० बजे भैरहवा विमानस्थल आइपुग्ने कार्यसूचि भएपनि वर्षासँगै मौसममा आएको खराबीका कारण दिउसो साढे १ बजे गृहमन्त्री खाँण भैरहवा ओर्लिएका थिए । उनलाई स्वागत गर्न बसेको ठूलो भिडसँगै विमानस्थलबाट बाहिरिएका उनले नेपाली काँग्रेस रुपन्देहीले आयोजना गरेको कार्यक्रममा सहभागी भए ।

काँग्रेस नेता स्व. प्रेम खरेलको शोकसभामा सहभागी हुन रुपन्देही आएका उनले बुटवलको ज्योतिनगर पहिरोको समेत अवलोकन गरेका थिए । साँझपख साढे ६ बजे ज्योतिनगर पहिरो हेर्न पुगेका उनले करिब १ घण्टा सोही ठाउँमा विभिन्न पक्षसँग छलफल गरे । अध्यारोमै पहिरो अबलोकन गरेर फर्किएका खाँणलाई काँग्रेस तिलोत्तमा नगरसमितिले आफ्नै निवासमा माला लगाएर स्वागत गरेको थियो । उनलाई गरिएको त्यो स्वागतमा प्रयोग भएको माला नै आलोचनाको थप कारण बन्न पुगेको छ ।

तिलोत्तमाको कार्यक्रमपछि गृहमन्त्री खाँण रातको साढे ८ बजे काठमाण्डौंतर्फ लागेको एक काँग्रेस नेताले जानकारी दिए ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।