ताजा अपडेट »

दुई दिनको वर्षाले धानबाली नष्ट, काटेर राखेका धान पनि खेतमै डुब्यो

सोमबार, ०१ कार्तिक २०७८, १४ : ३३
6 Shares

बुटवल । आइतबार र सोमबार दुई दिनको वर्षाले रुपन्देही लगायतका जिल्लामा धानबाली नष्ट भएका छन् । काटेर खेलमै सुकाउँदै गरेका तथा भर्खर काट्ने बेला भएका धान बाली वर्षाले डुवानमा परेपछि कृषकको लाखौं मूल्यका धान बाली नष्ट भएका हुन् ।

दशैं लगत्तै धान काट्न सुरु गरेका कृषकहरुले वर्षाका कारण क्षति व्यहोर्नु परेको छ । धान उत्पादनको पकेट क्षेत्र मानिको रुपन्देहीका ओमसतिया, सियारी, शुद्धोदन, मर्चवारी, सम्मरीमाई, कोटइमाई लगाएका स्थानमा धानबाली वर्षाले नष्ट भएका छन् । यसैगरी तिलोत्तमा, सैनामैना, कञ्चन गाउँपालिका, देवदह लगायतका कृषकहरुले पनि वर्षाका कारण क्षति व्यहोर्नु परेको छ । रुपन्देहीमा ८२ हजार हेक्टर जमिनमध्ये रुपन्देहीमा यो वर्ष ६५ हजार भन्दा बढी हेक्टरमा धान खेती गरिएको छ ।

अहिले अधिकांशका खेतमा लगाइएको राधा–४, सर्जु–५२ लगायतका धान पाकिसकेको हुँदा बढी क्षति भएका छन् । जिल्लाभित्र अगौते अन्तर्गत राधा ४, सुख्खा ३, हर्दिनाथ १ र केही भारतीय उन्नत जातका धान किसानहरुले लगाएका छन् । त्यस बाहेक मध्यम जातमा गोरखनाथ, लोकनाथ, मकवानपुर १, रामधाम, सावित्री, लोकतन्त्र, मिथिला, मनीषा, पृथ्वी, सुरज, चाँदनी जस्ता धानको खेती गरिएको छ ।

लुम्बिनी प्रदेश सरकार कृषि विकास निर्देशनालयले भने हालसम्म कुनै पनि क्षतिको विवरण नआएको जनाएको छ । जिल्लाहरुबाट क्षति भएको नभएको विवरण आउँन बाँकी रहेको बताउँदै निर्देशनालयका सहायक सुचना अधिकारी अनिल कुमार कानु बानियाले सोही अनुसार आवश्यक कदम चालिने उल्लेख गरे । यो समयमो वर्षाले धान बाहेक अन्य खेती बालिहरुलाई समेत कुनै पनि फाइदा नगर्ने बताउँदै उनले कृषकहरुलाई समेत मौसमको ख्याल गर्न आग्रह गरे ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।