ताजा अपडेट »

मोतीपुर झडप: घाइते प्रहरीलाई हेलिकप्टरमार्फत काठमाण्डौं लगियो

सोमबार, २५ असोज २०७८, १२ : १०
8 Shares

बुटवल । मोतिपुरमा आइतबार भएको झडपमा परी घाइते भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका ४ जना जवानलाई उपचारका लागि काठमाडौँ लगिएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी मनोज केसीका अनुसार मोतिपुरको झडपमा परी गम्भीर घाइते भएका नेपाल प्रहरीका २ जना र सशस्त्रका प्रहरीका २ जना गरी ४ थप उपचारका लागि काठमाडौँ लगिएको हो । इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत २८ वर्षका प्रहरी जवान जयप्रकाश थारु र दंगा प्रहरी नियन्त्रण सुनवलमा कार्यरत प्रहरी जवान यज्ञराज पुन मगरलाई उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी प्रमुख केसीले बताए ।

यस्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलबस्तुमा कार्यरत ३६ वर्षीय हवल्दार तिलकबहादुर धामी र ३६ वर्षका जवान खुसीराम चौधरीलाई काठमाडौँ पठाइएको सशस्त्र प्रहरी का प्रवक्ता निराकरनाथ शुक्लाले बताए । मोतिपुरमा जग्गा कब्जा गर्न खोज्ने प्रहरीबीच भएको झडपमा परी नेपाल प्रहरी र शस्त्र प्रहरीका गरी ५६ जना सुरक्षाकर्मी घाइते भएको रुपन्देहीका प्रहरी प्रवक्ता मनोज केसीले बताए । प्रहरी प्रमुख केसीका अनुसार आइतबारको झडपमा नेपाल प्रहरीका ३३ जना घाइते भएका थिए ।

घाइते मध्ये २ जनालाई काठमाडौँ पठाइएको र ७ जना भैरहवा मेडिकल कलेजमा उपचाररत रहेको उनले बताए । घाइते भएका अन्य प्रहरी भने उपचार पछि डिस्चार्ज भएको प्रहरी प्रमुख केसीले बताए । यस्तै शस्त्र प्रहरीका प्रवक्ता निराकरनाथ शुक्लाले आइतबारको झडपमा २३ जना सशस्त्र प्रहरी घाइते भएको बताए । घाइतेमध्ये काठमाडौँ रिफर गरिएका २ जना बाहेक अरु सबै उपचार पछि डिस्चार्ज भएको शुक्लाले बताए ।

काठमाडौँ रिफर गरिएका ४ जनाको नेपाल एपिएफ अस्पताल बलम्बु काठमाडौँमा उपचार हुने शुक्लाले बताए । यस्तै सो झडपमा परी १८ स्थानीय घाइते भएको प्रहरीले जनाएको छ भने ४ जना स्थानीयको मृत्यु भएको थियो । अहिले मोतिपुर क्षेत्रको अवस्था सामान्य रहेको प्रहरी प्रमुख केसीले बताए । अवस्था सामान्य भए पनि सुरक्षा व्यवस्था कडा पारिएको उनले बताए ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।