ताजा अपडेट »

सैनामैनास्थित रेडियो मलमलाको दशौं वार्षिक साधारण सभा

शनिबार, २३ असोज २०७८, १९ : २४
34 Shares

सैनामैना । रुपन्देहीको सैनामैनास्थित रेडियो मलमला ८८.६ मेगाहर्जको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । श्री मलमला मिडिया प्रालिद्धारा सञ्चालित रेडियो मलमलाको शनिवार एक कार्यक्रमका बिच साधारण सभा सम्पन्न भएको हो । साधारण सभालाई सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले उद्घाटन गरेका हुन् ।

साधारण सभाको उद्घाटन गर्दै सैनामैना नगरपालिका प्रमुख चित्र बहादुर कार्कीले रेडियो मलमला यस क्षेत्रको एक लोकप्रिय रेडियो रहेकोले थप परिस्कृत हुँदै अगाडि बढनुपर्नेमा जोड दिए । राज्य सञ्चालनका तीन अंग व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका पछि सञ्चार क्षेत्रलाई चौथो अंगका रुपमा लिइएकाले यस क्षेत्रले समाजको विकासका लागि महत्वपूर्ण काम गरिरहेको बताए । समाजमा भएका विकृति र विंसगती हटाउने काम मिडियाको रहेको बताउँदै आफ्ना कमीकमजोरीलाई सुधार गर्दै अघि बढ्नुपर्ने प्रमुख कार्कीको जोड छ ।

उनले जनतालाई सुसिचित गराउनुमा सञ्चार माध्यको निर्णयक भूमिका रहने उल्लेख गरे । विस्तारै शहरीकरण हुँदै गरेका ठाउँहरुलाई समृद्धि छ कि छैन र विकासका थपमा कुन हिसाबले अगाडि बढेको छ सो को मापन गर्ने काम मिडियाले गर्ने भएकोले सोही अुनसार काम गर्नुपर्नेमा जोड दिए ।

साधारण सभामा अध्यक्षको प्रतिवदेन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष मिन प्रसाद पौडेलले कोभिड – १९ को महामारीबाट सम्पूर्ण सञ्चार क्षेत्रमा प्रत्यक्ष रुपमा असर परेको बताए । रेडियोको स्रोत पेशा व्यवसाय भएकोले पेशा व्यवसाय नै लकडाउनको समयमा सञ्चालन नभएपछि रेडियो सञ्चालनमा कठिनाई भएको उल्लेख गरे ।

रेडियोको छविलाई उच्च बनाई राख्न यसमा रहेका सञ्चालक समिति, लेखा समिति, सल्लाहकार समिति र शेयर सदस्य सबैको साझा दायित्व रहेको अध्यक्ष पौडेलको भनाई छ । लेखा प्रतिवेदन प्रस्तुत गर्दै लेखा समितिका संयोजक हरि प्रसाद पोखरेलले संस्थामा लेखा शाखालाई व्यवस्थित गराउनुपर्नेमा जोड दिदैँ आगामी योजनाबारे जानकारी गराए ।

त्यसैगरी संस्थाको सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै कार्यालय प्रमुख टिकाराम खरालले कोभिड महामारीबाट अन्य पेशा व्यवसाय जस्तै रेडियो सञ्चालनमा पनि कठिनाईको अवस्था सिर्जना भएको बताए । यद्यपि, उनले रेडियो सञ्चालक समिति र कर्मचारीहरुको समन्वयका कारण निरन्तर रुपमा सञ्चालन भइरहेको बताए ।

आगामी दिनमा गहन छलफलका साथ अगाडि बढ्नुपर्नेमा जोड दिदैँ उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित हुने प्राविधिक सहायक प्रेम बुढाथोकी र सम्माति हुनुहुने सबै कमचारीहरु प्रति बधाई तथा शुभकामना व्यक्त गरे । उनले सम्पूर्ण स्रोता, विज्ञापनदाता, स्थानीय संघ संस्था, सामजिक संघ संस्था लगायत सम्पूर्णमा धन्यवाद समेत व्यक्त गरे ।

उत्कृष्ट कर्मचारीको रुपमा प्रेम बुढाथोकी सम्मानित
रेडियो मलमला ८८.६ मेगाहर्जमा विगत ६ वर्षदेखि कार्यरत प्रेम बुढाथोकी सम्मानित भएका हुन् । रेडियोको भौतिक एवम् सर्वाङ्गीण विकासका लागि पु¥याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्दै प्राविधिक सहायक पदमा कार्यरत बुढाथोकीलाई नगद, दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको हो ।सैनामैना नगर प्रमुख चित्र बहादुर कार्की र संस्थाका अध्यक्ष मिनप्रसाद पौडेलले संयुक्त रुपमा सम्मान गरेका हुन्।
त्यस्तै रेडियोमा कार्यरत सम्पूर्ण पूर्णकालिन तथा आंशिक कर्मचारीहरुलाई सम्मान पत्रले सम्मान समेत गरिएको छ ।

कार्यक्रम रेडियो मलमलाका अध्यक्ष मिन प्रसाद पौडेलको अध्यक्षता तथा सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा सञ्चालक समिति सदस्य खुसीराम चौधरीको स्वागत तथा कार्यालय प्रमुख टिकाराम खरालको सञ्चालनमा रेडियोको सभाहलमा सम्पन्न भएको हो ।

यसैबिच रेडियो मलमला ८८.६ मेगाहर्जको चौथो अधिवेशन कार्तिक १० गते गर्ने सभाले निर्णय गरेको छ । रेडियो मलमलाले २०६८ साल असार २८ गते साविकको पर्रोहा गाविस वडा नं. १ मुर्गियाबाट रेडियो सेवा प्रशारण गरेको थियो । हाल सैनामैना २ कालिकाचोकस्थित आफ्नै भवनबाट सञ्चालन गरिरहेको छ । रेडियोमा अहिले ४३ जना शेयर सदस्यहरु रहेका छन् । कार्यक्रममा रेडियोका सञ्चालक समिति, लेखा समिति, सल्लाहकार समिति, शेयर सदस्य एवम् कर्मचारीको उपस्थिति थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।