ताजा अपडेट »

लुम्बिनी प्रदेशको डेढ करोड बढी लगानीकाे खुला नाचघरका संरचना भत्किए

मंगलबार, १९ असोज २०७८, १० : ३४
8 Shares

दाङ । दाङको घोराही उपमहानगरपालिका १८ घोरदौरामा लुम्बिनी प्रदेश सरकारको डेढ करोड बढी खर्चिएर बनाएको खुला नाँच घरका केही संरचना भत्किएका छन । निर्माण गरेको ६ महिना नपुग्दै नाँच घरको वरिपरिका भाग भत्किएका हुन् । यता नाच घर केका लागि र किन बनाइयो भन्ने स्थानीयले पत्तो पाएका छैनन् । स्थानीय बाबुला पुनले यो भवन केका लागि बनेको हो ? भन्ने बारेमा आफूहरूले नबुझेको बताए ।

उनले निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्दा यहाँ देशभरका मानिसहरू नाच्न आउने ठाउँ बनाएको भनिएता पनि अहिलेसम्म कुनै त्यस्तो कार्यक्रम नभएको बताए । ‘उद्घाटन गर्दा तत्कालीन मुख्यमन्त्रीले भन्नुभएको थियो, ‘यो डबली अर्थात् नाच घर हो, ‘उनले भने, ‘अब यहाँ देशभरबाट कलाकारहरू आउन छन् । यहाँका धेरै नागरिकहरूले रोजगारी पाउने छन् । तर, यो निर्माण सम्पन्न भएको करिब ६ महिना मै भत्किन थालेको छ । खै कहिले आउँछन् होला देशभरबाट कलाकार यहाँ नाच्न । हामीले कहिले पाउँछौ रोजगारी ?’ अझै निर्माण सम्पन्न नभएको भन्दै उनले दर्शकहरू बने ठाउँ भत्किएको छ । पुरै घाँस उम्रिएको छ ।

त्यस्तै अर्का स्थानीय इन्द्रबहादुर बिकले पनि यहाँ बनेको नाच घर पर्यटन प्रर्वद्धनको लागि बनाएको भन्ने गरेको भएयता पनि यो निर्माण भएको छोटो समयमा भत्किन थाल्दा राज्यको पैसामा मात्र सकिने काम भएको बताए । उनले आफ्नो ठाउँमा यो बन्नु राम्रो भएयता पनि निर्माण भएको छोटो समयमा भत्किनुमा राज्यको पैसा मात्र सकिएको धारणा व्यक्त गरे । उनले भने, ‘यदि यो ठाउँमा कार्यक्रमहरू भएपछि हामीले पनि रोजगारी पाउँछ की भन्ने आस थियो । तर, यो भत्किन थालेपछि कसरी यहाँ कार्यक्रम होला जस्तो लाग्छ ।’

स्थानीय कला संस्कृति देखाउने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तत्कालीन मुख्यमन्त्री पोखरेले यो योजना अगाडि सारेका थिए । २ तलाको घर बनाइएको छ । माथिल्लो तलामा कलाकारहरूले कला प्रस्तुत गर्ने मञ्च बनाइएको छ । भने, बाहिर खुलाचौरमा सय जना दर्शक बस्न मिल्ने प्यारा फिट बनाइएको छ । अन्य कोठाहरूमा कलाकारले पोशाक परिवर्तन गर्ने, पोशाक, लागायतका अन्य सामानहरू राख्नेको लागि बनाइएको छ । २ तलाका शौचालय पनि बनाइएको छ । यो नाचघर घोराही बजारदेखि करिब १० किलोमिटर पूर्वमा पर्दछ । यसको निर्माण २ वर्ष अघिबाट सुरु भएको थियो ।

२०७६/७७ मा ९७ लाख र २०७७/७८ मा ४१ लाख र वन डिभिजनको ३० लाख गरी १ करोड ६८ लाख रुपैयाँ खर्च भइसकेको छ, भने चालु आर्थिक वर्षमा ५० लाख बजेट प्रदेश सरकारले राखेको छ । संरचना एकातिर निर्माण भइरहेको छ, भने अर्कातिर भत्किन पनि सुरु गरेको छ । नाच घर वरपर लगाइएका मेसिनरी भित्ता सबै भत्किएका छन् । संरचना बनाउने ठेक्का सत्यम् कन्ट्रक्सनले लिएको थियो ।

संरचनाको निर्माण पूरा गर्नको लागि अझै करिब डेढ करोड लाग्ने डिभिजन वन कार्यालय दाङले जनाएको छ । कार्यालयका प्रमुख विजय राज सुवेदीले सांस्कृति किसीमका नाचहरु देखाउने र त्यसको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न नाच घर बनाइएको हो । घोरदौराको ठाउँबाट घोराहीको पुरै ठाउँ देखिने घोराहीको भन्दा राम्रो हावा पानी र सुन्दर भएकाले त्यहाँ नाच घर बनाइएको उनको भनाइ थियो ।

‘घोराहीको बजारबाट पनि धेरै टाढा छैन्,’ उनले भने, ‘आधा घण्टामा सवारी साधनबाट पुगिन्छ । घोराही बजारको भिडभाड छ । त्यहाँको जस्तो खुल्ला ठाउँ छैन् । जिल्लाको मात्र नभइ प्रदेश कै सांस्कृति नाचहरु देखाउने र अन्य सुविधाहरु त्यहाँ राख्दा मानिसहरुको चहल पहल बढ्छ । जसले गर्दा त्यहाँको विकास हुन सक्छ । ’

त्यस्तै निर्माण सम्पन्न भएपछि उक्त नाच घरलाई टेन्डर मार्फत निजी क्षेत्रलाई करिब १० वर्ष सम्मको लागि जिम्मा दिने सोच बनाएको उनको भनाइ छ । ‘हामीले अहिले सोचेका छौँ,’ उनले भपे, ‘कुनैपनि निजी क्षेत्रलाई जिम्मामा दिने । प्रत्येक दिन स्थानीय तथा बाहिरको सांस्कृति कार्यक्रम गर्न दिने । त्यसले गर्दा मानिसहरुको चहल पहल बढ्ने र त्यहाँ उत्पादन भएका बस्तुहरुले स्थान पाउँछन् । यदि कुनै पनि कार्यक्रम नभएमा त्या गाई बस्तु चराउने ठाउँ हुन सक्छ ।’

त्यस्तै उनले बाहिर प्रचारमा आएको जस्तो संरचनाहरु नभत्किएको बताए । उनका अनुसार ७ मिटर जति पर्खाल भत्किएको र दर्शकहरू बस्नको लागि सिटहरु केही दबेको छ । त्यो ठेक्दारले बनाउने काम भइरहेको छ । यता नागरिकहरु भने अहिलेको अवस्थामा त्यति धेरै लगानी गरेर यस्ता संरचना बनाउन नहुने धारणा व्यक्त गर्छन । ‘अहिले राज्यले विकास निर्माण भन्दा पनि कोरोना महामारीबाट नागरिकलाई कसरी बताउने त्यता ध्यान दिनु पर्ने हो,‘ उनले भने, ‘पहिलो, दोस्रो कोरोना लहरबाट धेरै नागरिकले ज्यान गुमाएका छन् ।

त्यसैले राज्यले यस्ता संरचनामा करोडौँ खर्च गर्नुभन्दा पनि नागरिकको स्वास्थ्यतर्फ ध्यान दिनुपर्छ ।’ यसैगरी उनले पछिल्लो समय बेरोजगारीका कारण देशको जनशक्ति विदेश पलायन भइरहेको अवस्थामा उनीहरुको लागि राज्यले लगानी गर्नु पर्ने समेत बताए । त्यस्तै उनले यस्ता धार्मिक, पर्यटकीय र सांस्कृतिक क्षेत्रको समाजमा धेरै महत्व भएयता पनि अहिलेको अवस्थामा सबै भन्दा बढि नागरिकको जीवन रक्षा गर्नु पर्ने भएकाले राज्यलाई यतातिर ध्यान दिन आग्रह गरे ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी