ताजा अपडेट »

एमालेमा ओलीलाई सहज हुनेगरी विधान संशोधन, कस्तो हुने भयो संगठनात्मक संरचना ?

सोमबार, १८ असोज २०७८, ०८ : ४५
8 Shares

काठमाडौँ । नेकपा एमालेको पहिलो विधान महाधिवेशन सम्पन्न भएको छ । देशभरका ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी रहेको यस महाधिवेशनले पार्टीको विधानमा विभिन्न व्यवस्था गर्दै अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले पेश गरेका राजनीतिक, संगठनात्मक र विधान संशोधन प्रस्ताव पारित गरेको को हो ।  

तर मुख्यरुपमा विधानमा गरिएका व्यवस्थाको विश्लेषण गर्दा भने धेरै विषय अध्यक्ष ओलीलाई सहज र उनका अनुसार नै व्यवस्था गरिएको देखिएको छ । जसमा उमेर हद, पदाधिकारीको व्यवस्था जस्ता विषयले ओलीलाई अब एमालेमा चुनौती दिने सम्भावना वैधानिक रुपमा नै समाप्त पारिएको छ ।

उमेर हदबन्दी : 

एमालेले नवौँ महाधिवेशनबाट ७० वर्षे उमेर हदलाई कायमै राखेको थियो । त्यसलाई अहिलेपनि एमालेले कायम त राखेको छ तर यसको ब्याख्या ओलीलाई फेरी अध्यक्ष हुन कुनै बाधा नपर्ने गरि गरिएको छ । अध्यक्ष ओली आगामी फागुन ११ गते ७० वर्ष लाग्दै छन् । त्यसैले उनलाई मङ्सिरमा हुने महाधिवेशनमा अध्यक्ष बन्न अब बाटो खुलेको छ । आइतबार विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै उपमहासचिव विष्णु पौडेलले कुनै पनि व्यक्ति पार्टी कमिटीमा ७० वर्ष पूरा नहुँदै निर्वाचित भएमा कार्यकालको बीचमै ७० वर्ष पूरा गरे पनि उक्त कार्यकाल पूरा काम गर्न पाउने व्यवस्था गरिएको जानकारी गराए ।

उनले भने- ‘७० वर्ष छोएपछि हो कि ७० वर्ष पूरा नहुँदासम्म उम्मेदवार हुन पाउने भन्ने कुरा यसले टुंगो लाग्यो । कार्यकालको बीचमा ७० वर्ष पूरा भएमा पनि कार्यकालको जिम्मेवारी पूरा गर्न पाउने व्यवस्था हो ।’अब ओली ७० बर्षमा नलाग्दै मंसिरमा अध्यक्ष बन्ने छन् भने पाँच बर्ष पार्टी चलाउने छन् ।

एमालेको विधानको नयाँ व्यवस्था अनुसार मंसिर ९ गतेअघि ७० वर्ष उमेर भएका भने उम्मेद्वार बन्न पाउने छैनन् । एमालेको महाधिवेशन मंसिर १०, ११ र १२ गते बुटवलमा हुने गरि तोकिएको छ । त्यस्तै विधानमा एउटै व्यक्ति उही तहको कार्यकारी पदमा दुई पटकभन्दा बढी उम्मेदवार बन्न नपाउने व्यवस्था गरिएको छ ।

संगठनात्मक संरचना  

त्यस्तै एमालेको अब एक अध्यक्ष, एक वरिष्ठसहित पाँच उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिवसहित १५ सदस्यीय पदाधिकारी हुने भएको छ । यसअघि वरिष्ठ उपाध्यक्ष र उपमहासचिव प्रस्ताव नगरिएकोमा प्राप्त सुझावका आधारमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव थपिएको छ । यसले अध्यक्ष ओलीलाई नेताहरुको व्यवस्थापन गर्न सजिलो बनाउने एमाले नेताहरु बताउछन् ।

एक केन्द्रीय सदस्यले कुरा गर्दै विधानमा गरिएको व्यवस्थाले नयाँ व्यक्ति आउने भन्दा पनि अहिले पदमा रहेकाहरुकै व्यवस्थापन गर्न सजिलो बनाएको देखियो । अब एमालेमा ओली फेरी अध्यक्ष बन्ने निश्चित भएपछि ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष तथा रामबहादुर थापा, सुबास नेम्वाङ, भीम रावल लगायतलाई उपाध्यक्ष बनाउन सहज भएको छ ।

एमालेले यस अघि नेकपाको जस्तो संगठनात्मक संरचनालाई अपनाउने भएको छ । जस अन्तर्गत नेकपामा जस्तै सचिवालयको व्यवस्था गरिएको छ भने ४५ सदस्यीय स्थायी कमिटिलाई विधानले निरन्तरता दिएको छ ।

पार्टीका १५ जना पदाधिकारी स्वतः सचिवालयमा रहने भएका छन् भने २२५ सदस्यीय केन्द्रीय कमिटी रहने छ । त्यस्तै पोलिट्ब्यूरोको संरचना हटाइएको छ । यस अघि नेकपामा पनि पालिटब्यूरो थिएन । त्यस्तै एमालेले प्रदेश, जिल्ला र पालिका तहको कमिटिमा ५० लाई आधार बनाएर बाँकी जिल्ला, निर्वाचन क्षेत्र र वडाका आधारमा संख्या थपिने व्यवस्था गरेको छ ।

लोगो परिवर्तन :

नेकपा एमालेले आफ्नो आधिकारिक लोगो परिवर्तन गरेको छ । गोदावरीको सनराइज सम्मेलन केन्द्रमा जारी प्रथम विधान महाधिवेशनले पार्टीको नयाँ लोगो पारित गरेको हो ।उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान संसोधन प्रस्तावमाथि जवाफ दिने क्रममा एमालेको नयाँ लोगो प्रस्ताव गरेका हुन् । अब एमालेको लोगो सूर्यभित्र रातो पृष्ठभूमिमा सुनौलो हँसिया हथौडा रहने भएको छ । महाधिवेशनका प्रतिनिधिले सो लोगो पारित गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।